आलु गाउँका रुपमा परिचित हेमजामा दशौं राष्ट्रिय हेमजा आलु महोत्सव २०७५ सुरु भएको छ । शुक्रबार महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले माटो र हावापानी सुहाउँदो खेती प्रणालीमा जोड दिए ।
उनले खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्नेमा जोड दिँदै कृषिमार्फत मात्रै नेपालमा आर्थिक क्रान्ति सम्भव हुने औंल्याए । सांसद दुर्गा विकले आलु खेतीसँग हेमजावासीको पहिचान जोडिएको बताइन् । उनले हेमजावासीले आलुका अवाला अन्य कृषि उपजलाई पनि ध्यान दिनुपर्ने सुझाइन् । प्रदेशसभा सदस्य रामजी बरालले नेपाली सुखी बन्न उत्पादनसँग जोडिनुपर्ने विचार राखे ।
कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापा र प्रभा कोइराला, वडाध्यक्ष शोभाकर तिम्सिना, आलु महोत्सवका संस्थापक धर्मराज बास्तोला, क्लब अध्यक्ष कृष्णबहादुर खड्का लगायतले बोलेका थिए । महोत्सवमा शुक्रबार कलाकार जीवन दाहाल, शंकरविरही गुरुङ, काजल गुरुङ लगायतले प्रस्तुति राखे ।
कार्यक्रममा राष्ट्रिय कृषकबाट बर्दियाका कमल गिरीलाई २५ हजार, प्रदेश कृषकबाट तनहुँका चन्द्रकान्त डुम्रे र कास्कीका अनन्तराज जैसीलाई जनही १५ हजार, स्थानीय कृषकबाट हेमजाका जीवन केसीलाई १० हजार साथमा कृषि वैज्ञानिक डा. भीम खत्री जुम्लालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरियो ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव गरिएको हो । महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, टर्की बिक्री तथा प्रदर्शनी छन् ।
मूल आयोजक समिति संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले स्वागत तथा समितिका महासचिव वसन्तकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।






