गाउँपालिकाका अध्यक्षमाथि हातपात

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात भएको छ। स्थानीय बलबहादुर भण्डारी लगायत ५/६ जनाको समूहले अध्यक्ष चन्दमाथि आक्रमण गरेको हो।

रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका बिषयमा छलफल गरेर फर्किँदै गर्दा बलबहादुर भण्डारी लगायत ५/६ जनाको समूहले आक्रमण गरेको अध्यक्ष चन्दले बताए। सडकको विषयमा छलफल गरेर वडा ४ का अध्यक्षसँगै फर्किरहेको थिए।

अध्यक्ष चन्दमाथि हातपात गर्ने समूह भागेको छ भने अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको र हातपात गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना के कति कारणले भयो भन्ने विषयमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए। उनले भने, ‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। सडकका विषयमा पनि विवाद थियो भन्ने खालको कुरा सुनिएको छ। के भएको रहेछ हामी बुझ्ने प्रक्रियामा छौं।’