फेशन विकको तयारीमा साइकल र्याली

नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय फेशन विक नेपाल पोखराको तयारी तीव्र पारिएको छ । पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएशनको संयुक्त आयोजनामा फेशन सप्ताह हुन लागेको हो ।

फेशन विकको प्रचार–प्रसारका लागि शनिबार पोखरामा साइकल र्यालीको आयोजना गरियो । पोखरा सभागृहबाट शुरु भएको र्याली हेम्जासम्म पुगेको थियो । साइकल सिटी पोखरा र विष्णुपादुका क्लब हेम्जासँगको सहकार्यमा साइकल र्याली गरिएको हो ।

दी काठमाडौं पोष्टको प्रस्तुतिमा फेशन विक यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म न्युरोड भाटभटेनीमा रहेको पोखरा स्काई स्पोटर्समा आयोजना हुनेछ । फेशन विकमा नेपाल भरका २० जना महिला र ५ जना पुरुष गरी कुल २५ जना मोडलहरू र्याम्प वाल्कमा उत्रिनेछन् । यसका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभूषा स्थानीय मोडलबाट प्रर्दशन गरिनेछ ।

गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल आदीले कार्यक्रमको रौनतका थप्नेछन् । कल्चरल नृत्य समेत तहाँ हेर्न पाइनेछ । ३ दिनसम्म हरेक साँझ ६ बजेबाट राति ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क ५ सय तिनुपर्नेछ । डिनर सहितका लागि २ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

फेशन विकका लागि चैत्र २० गते कोरियोग्राफर र मोडल पोखरा आइपुग्ने छन् । २१ गतेबाट ट्रेनिङ हुनेछ । फोटो सुट समेत पोखरामा गरिने तयारी गरिएको आयोजक डिजाइनर एशोसिएशनका अध्यक्ष दिपक न्यौपानेले बताए । ‘यो अन्तर्राष्ट्रिय स्तरको फेशन सो हो, हलिउडका ज्वलरी डिजाइनर मोना श्राफसहित हङकङ, मलेसिया, भारतबाट समेत डिजाइनर सहभागी हुनेछन्’ उनले भने ।

फेशन विकमा नेपाली संस्कृति झल्कने खालका भेषभूषालाई महत्व दिदै प्रर्दशन गरिनेछ । यसले अन्तराष्ट्रिय फेशन विकमा जान नेपालीलाई अवसर सिर्जना गर्ने अपेक्षा आयोजकको छ । कलात्मक डिजाइनमा सजिंदै मोडलहरूले देखिनेछन् ।

हरेक दिन ६ वटा सिक्वेन्समा ६० वटा पहिरनमा डिजाइनरले सजाएर मोडललाई उतार्ने आयोजकको तयारी छ । कार्यक्रमले गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउ पुर्याउने आयोजकको विश्वास छ ।