बाम्दीका १३ महिलालाई ९ लाख ऋण

महिलालाई आर्यआर्जन मार्फत आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रमले महिलामा उत्साह थपेको छ । पोखरा–२३, चापाकोटको बाम्दीका महिलाले उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत सस्तो ब्याँजमा ऋण प्राप्त गरेपछि उनीहरूमा उत्साह थपिएको हो ।

उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत सहकारीसंग सहकार्य शीर्षक मार्फत २३ बाम्दीको सगरमाथा महिला विकास बचत तथा ऋण सहकारीले प्राप्त गरेको ९ लाख रुपैयाँ आर्थिक रुपमा विपन्न, एकल महिलालाई ऋण प्रदान गरिएको छ ।

उक्त रकम महानगरका कार्यबाहक प्रमुख एवं कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङले वितरण गरिन् । उक्त रकम १३ जना महिलाहरुलाई भैसी, बाख्रा, मौरी, व्यवासय गर्नका लागि प्रदान गरिएको सगरमाथा महिला सहकारीका अध्यक्ष आशा नेपालीले बताइन् ।

सहकारीले महानगरबाट ३ प्रतिशत ब्याजमा लिएर छ प्रतिशतमा लगानी गरेको हो । रकम वितरण गर्दै कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महिलालाई आर्यआर्जनमा जोडेर आर्थिक रुपमा सबल बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको बताइन् ।

उनले महानगरको धेरै रकम तालिमका लागि खर्च भएको बताउदै अव तालिम भन्दा उत्पादनलाई प्राथमिकता दिदै महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमको उद्देश्य रहेको बताइन् । उनले भनिन्, ‘महिला अव आर्थिक रुपमा सवल र सक्षम बन्नुपर्छ ।’ उनले ऋण लिएको पैशा जे कामका लागि लिएको हो त्यसैमा लगानी गर्न आग्रह समेत गरिन् ।

नेकपाका स्थानीय नेता दामबहादुर विश्वकर्माले विपन्न महिलाको जीवनस्तर माथि उठाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले महानगरको विकट वडामा पर्ने भएपनि दुई सहकारी मार्फत उपप्रमुखसंग महिला कार्यक्रमको १८ लाख रुपैयाँ यहाँ आउनु खुशीको कुरा भएको बताउदै रकमको सदुयोग गर्न आग्रह गरे ।

चेतबहाुदर क्षेत्रीले सस्तो व्याजमा महिलालाई ऋण उपलब्ध गराएर आत्मनिर्भर बनाउने कार्यक्रम रामो भएको बताए । कार्यक्रममा इन्दीरा लामिछाने, प्रेमराज भण्डारी लगायतले उप्रमुखसंग महिला कार्यक्रम सफल बनाउन जिम्मेवारी र दायित्व दिदिबहिनीहरुको भएको बताए ।

यसअघि घाँटीछिनाको प्रभावकारी महिला सहकारी संस्थाले प्राप्त गरेको ९ लाख रुपैयाँ प्राप्त ११ जनालाई वितरण गरेको थियो भने उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत शुक्रबार पोखरा १५ शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको छ ।