स्टार्स स्टुडियोको व्यानरमा निर्माण भएको तमु भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) आगामी वैशाख ७ गते शनिबार पोखरामा प्रदर्शन हुने भएको छ ।
जसु गुरुङको निर्देशनमा निर्मित चलचित्रले तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ । चलचित्रमा रोशन गुरुङको कथा, माओत्से गुरुङको पटकथा र मुख्य अभिनय छ ।
यस्तै रीया गुरुङ, डिबी गुरुङ, रोनीत गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतका कलाकारको अभिनय छ । वैशाख ७ गते पोखरास्थित विन्दवासिनी चलचित्र मन्दिरमा २ शो हुने निर्देशक जसु गुरुङले जानकारी दिइन् ।
यसअघि चलचित्रको पहिलो प्रिमियर शो प्रवासी भूमि हङकङमा गत मार्च ३ तारिखमा सम्पन्न भैसकेको छ । हङकङ नेप्लिज तेक्वान्दो फ्रेडेशनको आयोजनामा भएको प्रदर्शनी शोको तमु ट्हो ह्युल हङकङका अध्यक्ष विजय गुरुङ, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङजाली कान्छा), तमु प्येल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङ, गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष टीका गुरुङ (राधिका), गुरुङ फिल्म एसोसिएसन हङकङका अध्यक्ष रोशन गुरुङ लगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
चलचित्र प्रदर्शनका लागि निर्देशक जसु गुरुङ, नायिकाद्वय रिया गुरुङ र धनमाया गुरुङ र आर्थिक व्यवस्थापक रोशनी गुरुङ हङकङ पुगेका थिए । चलचित्रको टोलीलाई त्यहाँस्थित विभिन्न संघसंस्थाले सम्मान गर्नुका साथै चलचित्रलाई सहयोग समेत गरेका थिए ।
हङकङ नेप्लिज तेक्वान्दो फ्रेडेशनका अध्यक्ष सिनियर मास्टर गणेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आर्थिक व्यवस्थापक रोशनी गुरुङले गरेकी थिइन् भने निर्देशक जसु गुरुङ लगायतले बोलेका थिए ।
यसैबीच चलचित्र यहि चैत्र महिनाको अन्तिम साताको शुक्रबार नवलपरासीको सुनुवलमा र अन्तिम शनिबार रुपन्देहीको खैरनीमा प्रदर्शन हुने भएको छ । त्यसपछि पोखरा हुँदै क्रमशः दमौली काठमाडौं लगायत नेपालका विभिन्न भाग तथा विदेशमा पनि प्रदर्शन गरिने निर्देशक जसु गुरुङले जानकारी दिइन् ।




