गढीदरबारका भग्नाबशेष सपना

एउटा डरलाग्दो दम्भ 
ढलेको छ
भग्नाबशेष बनेर

पुरानो दरबारमा
चाँग लागेर बसेका
हरेक ढुँगाहरू
मौन साक्षी उभिइरहेछन्
र ,थाकेका छन्
मौन घोषणामा

बदलिने संसारसंगै
अनुहार बदल्न नसके
ढल्दोरहेछ पुरै शरीर

चराको एउटा सुन्दर गुँडलाई
च्यातचुत पारेको छ समयले
कहाँ गएहोलान् चराहरू
कहाँ गएहोलान् बचेराहरू
हिजोको रगजग सँझेर
एउटा चिल्थरो गुँड टोलाइरहेछ

रोक जिन्दगीलाई
भग्नाबशेष स्मारक बन्नबाट रोक
जिन्दगी भग्नाबशेष बन्यो भने
के पो बाँकि रहन्छ र 
पश्चाताप बाहेक

हामीलेनै सुनेका हौँ
महाराजको सिँहनाद
हामीलेनै देखेका हौ
अरूको जिन्दगी ढालेर
आफ्नो जिन्दगी बिस्तार गर्ने
षढयन्त्रका गोप्य बैठक
हाम्रै सामु लुटिएको हो
कयौँ बेगवान घोडाहरूको 
कलकलाउँदो जवानी
उ त्यो भित्ता र भुइँमा सुकेको दाग छ नि
त्यो राम्ररी स्वस्ती गर्न नजान्दा
छ्याप् छ्याप् छप्काइएका 
बबुराहरूको रगतको टाटो हो

पन्छाऊ, म माथि उम्रेको सिस्नुघारी पन्छाऊ
यहीँ कतै पुरिएको भेट्नेछौ तिमीले
महाराजको अधिकार पत्र
यहीँ कतै जीर्ण अक्षरमा भेट्नेछौ
महारानी र नानीहरूको 
प्रेमका रोचक अभिलेख
यिनै कोठाका कुनै कुनाहरूमा भेटिनेछन्
कसैको मागमाथि तोक आदेशको पर्खाई

जिन्दगी भनेको पनि 
लहरनै त हो रहेछ नि
काम नै कामको

गर्दा गर्दैका काम 
लथालिँग छोडिएपछि
अनुबाद हुनेरहेछ भग्नाबशेषमा
डँगरँग ढलेको आफ्नै शरीर हेरेर
म सुदुर सपना देखिरहेछु

म नै हुँ
समयको चहकिलो कोलाज
म नै हुँ 
समयको सुन्दर बकपत्र

मलाई बाँच्नदेऊ
मैले भन्न बाँकि छ
मेरो जवानीका कुरा
मेरो साँझ र मेरो बिहानीका कुरा
मैले केही भनिरहँदा 
तिमीले भेटनेछौ तिम्रा पूर्वजहरूलाई
र तिमी आफैलाई

तिम्रो र मेरो पनि
भर्खरै शुरू भएकोछ नवीन सुस्केरा
त्यो नथाकोस् र नवनोस् कहिल्यै भग्नाबशेष

सबैबाट परित्यक्त बनेर
भग्नाबशेष बन्नुजस्तो पीडा 
अरू के नै छ र जिन्दगीमा

प्रिय !
यतै कतैबाट त हो
प्रेम गर्न थालेको तिमीले र मैले
भग्नाबशेषको दुर्घटना
नउठोस् कतै बादल बनेर

प्रेमको भग्नाबशेष होइन
प्रेमको इतिहाँस बनाउँनुपर्छ तिमीले र मैले
शिखरका प्रत्येक परिबर्तनहरूमा

-२०७५ फागुन २१ गते
मकवानपुरगढी दरबार,गढी गाउँपालिका ,मकवानपुर

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।