रोटरी र युथ लिडरसीप अवार्ड

रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । जसले सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी, सन् १९०५ फ्रेबु्रअरी २३ मा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा पावल पर्सिनल हेरिससहितको नेतृत्वमा ‘आफूभन्दा माथि उठेर सेवा गरौं’ भन्ने मूल मन्त्र र आदर्शलाई आत्मसाथ गर्दै स्थापना भएको थियो । यसको शुरुको स्थापनाकालीन उद्देश्य साथी–साथीबीच नियमित भेटघाट गरी आपसी सम्बन्ध प्रगाढ गर्ने तथा सुख दुःखका कुरा गर्ने माध्यमको रूपमा सीमित थियो । सदस्यको घर तथा अफिसमा आलोपालो गरी रोटेसनको आधारमा बैठक गर्ने प्रचलनबाट क्लब सुरुआत भएकोले यस क्लबको नाम ‘रोटरी’ रहन गएको थियो ।

शुरुका दिनमा सदस्य साथीहरूबीच आत्मीय अभिवृद्धि गर्ने क्लबको १ मात्र लक्ष्य रहे तापनि क्लबका सदस्यमा निहीत सीप र साधनलाई समाज सेवामा प्रयोग गर्ने उद्देश्यसहित सिकागो सहर, अमेरिकामा पहिलो रोटरी क्लबको विधिवत् स्थापना भएको थियो । क्रमशः रोटरीको लोकप्रियता यसरी बढ्दै गयो कि थोरै समयको अन्तरालमै संयुक्त अधिराज्य अमेरिकामा धेरै रोटरी क्लबको स्थापना हुन पुग्यो । रोटरी क्लब विश्वव्यापी हुँदै नेपाल लगायत विश्वभरीका करिब ६० हजार रोटरी क्लबमा करिब १७ लाख रोटरीयन सदस्यहरू सामाजिक, मानवीय र व्यवसायिक सेवाको क्षेत्रमा समर्पित छन् ।

नेपालमा रोटरी
नेपालमा रोटरीको प्रवेश अन्तर्राष्ट्रिय रोटरीको स्थापनाको झण्डै ५० वर्षपछि विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका डा. जैन गिरी, किरण समशेर जवरा, गोपाल राजभण्डारी र डा. देवरथलगायतको पहल र नेतृत्वमा नेपालमा रोटरी अभियानको शुरुआत भएको थियो । सन् १९५८ नोभेम्बर २० मा रोटरी क्लब अफ काठमाडौको विधिवत् गठन भएको थियो । उक्त रोटरी क्लब स्थापना भएको १८ वर्ष पछि रोटरी क्लब अफ विराटनगरको गठन भयो। हाल नेपाल अधिराज्यको विभिन्न स्थानमा सामाजिक, स्वास्थ्य, शैक्षिक र मानवीय सेवामा सेवारत रहेको पाइन्छ । यसैक्रममा रोटरी अन्तर्राष्ट्रियअन्तर्गत डिष्ट्रिक्ट ३२९२ नेपालले देशभित्र मात्र नभइ देश बाहिर मित्र राष्ट्र भुटानमा समेत रोटरी क्लबको स्थापना गरी रोटरी अभियानलाई अघि बढाएको छ ।

पोखरामा रोटरी
देशको सुन्दर पर्यटकीय नगरी पोखरामा रोटरी क्लबको स्थापनाका लागि धेरै प्रयास र पहलपछि अन्तत सन् १९९७ मा रोटरी क्लब अफ पोखराको स्थापना भयो । उक्त क्लबकै पहल र प्रायोजनमा सन् २००२ मा रोटरी क्लब अफ पोखरा मिडटाउन त्यस्तै सन् २००३ मा रोटरी क्लब अफ पोखरा फिस्टेल र सन् २००६ मा रोटरी क्लब अफ पोखरा अन्नपूर्णको स्थापना भइ पोखरामा रोटरी अभियानले विस्तार पाएको छ ।
यसैक्रममा सन् २०१० मा रोटरी क्लब अफ लेखनाथ र न्यूरोडको गठन भइ हाल पोखराका विभिन्न क्षेत्रमा क्रियाशील छ । रोटरी क्लबको सङ्गठन सँगै युवाहरूको जोश र जागरलाई रोटरीको सहकार्यमा सहयोग पुगोस् र युवाहरूको सर्वाङ्गीण विकासका लागि इन्टराक्ट क्लब र रोर्टयाक्ट क्लबहरू तथा समुदायको विकासका लागि रोटरी सामुदायिक समूह समेतको गठन भइ यस क्षेत्रमा सक्रिय रहेको पाइन्छ ।

रोटरी/रोट्रयाक्ट क्लव फिस्टेल
२००७ जुन २९ मा डिष्ट्रिक्ट ३२९२ बाट सम्बन्धन प्राप्त गरि रोटरी क्लब अफ पोखरा फिस्टेलको अभिभावकत्वमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल, रोटरी र रोट्रयाक्टको इतिहासमा १ मात्र महिलाद्वारा सञ्चालित नाफारहित अन्तर्राष्ट्रिय संस्था हो । पदस्थापन देखिनै समाजप्रतिको आफ्नो दायित्व निर्वाह गर्दै आईरहेको यस क्लबले शिक्षा र स्वास्थ्यको क्षेत्रमा विविध गतिविधिमार्फत समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहेको छ । शिक्षा र स्वास्थ्य बाहेक क्लबले सञ्चालन गर्ने अन्य गतिविधिमा क्लबले आफ्ना सदस्यमा नेतृत्वदायी क्षमता विकासमा लागि गर्ने विभिन्न तालिमका कार्यक्रमहरू रहेका छन् ।

जस अन्तर्गत यसवर्ष रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको व्यवस्थापन एवं रिजन ४ मा रहेका रोटरी तथा रोट्रयाक्ट क्लबको सहयोगमा RYLA रोट्रयाक्ट युथ लिडरसीप अवार्ड हुन लागिरहेको छ । RYLA अर्थात १४ देखि ३० वर्षको उमेर समूहलाई लिएर संचालन गरिने आवासीय तालिम कार्यक्रम हो । डिष्ट्रिक्ट ३२९२ मा सन् २००१ देखि निरन्तर रुपमा विभिन्न रिजनहरुले रिजनल लेभलमा RYLA आयोजना गर्दै आईरहेका छन् । ३ दिनदेखि १० दिनसम्म रोटरीको मातहतमा संचालन गर्न सक्ने प्रावधान रहेको यस कार्यक्रम आफ्नो क्लब, अन्तर क्लब, डिष्ट्रिक्ट अथवा अन्तर डिष्ट्रिक्ट गरि संचालन गर्न सकिने प्रावधान छ ।

कार्यक्रमको मुख्य उद्देश्य युवालाई सामाजिक दायित्व बोध गराउनु, उनीहरूमा नेतृत्वदायी क्षमताको विकास गराउनु, व्यवसायिक क्षमता विकास गराउनु रहेको छ । युवा शक्तिलाई देशको मेरुदण्डको रुपमा हेर्ने गरिन्छ । रोटरीले RYLA वर्षेनी रुपमा संचालन गर्नुको मुख्य कारण भनेको नै अथाह सम्भावना बोकेका युवा वर्गमा नेतृत्व क्षमताको विकास गरी जिम्मेवार नेतृत्व बहन गर्न सक्ने युवा शक्ति तयार गर्नु रहेको छ ।

आजका रोट्रयाक्टहरू भोलिको रोटरी, सिंगो राष्ट्र र विश्व हाँक्ने लिडरहरू हुन् भन्ने सोचले प्रेरित रहेर रोटरीले हरेक वर्ष RYLA कार्यक्रम संचालन गर्ने गर्दछ र यसको अर्को विशेषता यो पनि रहेको छ । यस कार्यक्रममा सहभागी भएर पाइने प्रमाणपत्रलाई अन्तर्राष्ट्रिय मान्यता दिने गरिएको छ । यसकारण पनि RYLA को महत्व रोट्रयाक्ट सर्कलमा विशेष रहने गरेको छ ।
निरन्तरता स्वरुप यस वर्ष बेगनास तालको सेरोफेरोमा संचालन हुन गईरहेको RYLA को रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले व्यवस्थापकीय पक्ष सम्हालिरहेको छ । उक्त कार्यक्रम मार्च ६ देखि ९ अर्थात फागुन २२ देखि २५ सम्म बेगनासमा रहेको होटल डे ब्रेकमा संचालन हुने भएको छ । यो कार्यक्रममा रोट्रयाक्टर र नन रोट्रयाक्टर दुवै सहभागी हुन सक्ने प्रावधान राखिएको छ भने उमेर हद १८ देखि २८ का महिला भनि कायम गरिएको छ र यस कार्यक्रममा प्रशिक्षकको रुपमा विभिन्न क्षेत्रका विज्ञहरू रहनुहुनेछ ।

रोटरीका कार्यहरू
रोटरी क्लबका सदस्यहरूले रोटरीवादको मूल आदर्शलाई मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानविय हितका लागि सेवामुलक कार्यहरू सञ्चालन गर्दै आइरहेका छन् । समाजमा शिक्षाको ज्योति फैलाउने कार्यमा रोटरी क्लब सदैव अग्रसर हुँदै विभिन्न स्थानको विद्यालयहरूको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आइरहेको छ ।

यस्तै स्वास्थ्य क्षेत्रको महत्त्वलाई आत्मसाथ गर्दै पोलियो उन्मूलन कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण आदि स्वास्थ्यसम्बन्धी कार्यक्रम नियमितरूपमा सञ्चालन गर्दै आफ्नो क्रियाकलापमा विस्तार गरेको छ। विश्वभरि फैलीएको रोटरी क्लबले सन् १९८५ मा पोलियो उन्मूलनको लागि ऐतिहासिक प्रतिबद्धता गरी विश्वभरमा सम्पूर्ण बालबालिकाको लागि पोलियो उन्मूलनसम्बन्धी औषधि खुवाउने र विश्वबाटै पोलियो रोगको निराकरण गर्ने महान कार्यमा सक्रियताका साथ लागिपरेको छ ।

रोटरी क्लबले विभिन्न सामाजिक संघ–संस्था र असहायलाई सहयोग र राहत प्रदान गर्दै आएको छ भने दृष्टिविहीन, अपाङ्ग र जेष्ठ नागरिक वृद्धवृद्धालाई समयअनुकूल आर्थिक र भौतिक सहयोग समेत गर्दै आएको छ । मानवीय र सामुदायिक सेवामा क्रियाशील सहयोग हातहरू अगाडि बढाउने सन्दर्भमा आफ्नो सीमित साधन र स्रोतको अधिकतम परिचालन तथा रोटरी अन्तर्राष्ट्रियको सहयोगमा खानेपानी आयोजना, सार्वजनिक सडक संरक्षण, वृक्षारोपण र स्वास्थ्य केन्द्र निर्माण आदि विभिन्न सामुदायिक क्षेत्रमा कार्य विस्तार गर्दै आइरहेको छ । यसरी मानवीय र सामाजिक सेवा क्षेत्रमा रोटरी क्लब अग्रणी रहि दिगो विकासका लागि सम्बन्धित सबै पक्षसँग समन्वय, सहकार्य र सहयोगमा सेवाका हात बढाउँदै लगेको स्पष्ट देखिन्छ ।
(लेखक प्रतिभा केसी रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलका क्लब इडिटर हुनुहुन्छ ।)

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।