प्रेस युनियन कास्कीमा पदस्थापन एकता र दक्ष पत्रकार उत्पादनमा जोड

नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचितहरूलाई शनिबार पदस्थापना गरिएको छ ।

निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुप्रसाद शर्माले पदस्थापना गराएका हुन् । गत आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्ष रविना आले, सचिवमा प्रदिप पौडेल, कोषाध्यक्षमा विजय लम्साल, सहसचिवमा ज्योती हमाल लगायत निर्वाचित भएका थिए । यस्तै, सदस्यमा कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा, सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ, मधु अधिकारी, सम्राट गुरुङ, सुवाष पौडेल, अनिषा श्रेष्ठ, सुवास आचार्य, महेन्द्र ढुंगाना, सपना अधिकारी, भावना श्रेष्ठ र विजय नेपाली छन् ।

कार्यक्रमका वक्ताले प्रेस युनियनमा आन्तरिक एकता हुनुपर्नेमा जोड दिएका छन् । साथै उनीहरूले संख्यात्मक भन्दा पनि दक्ष पत्रकार उत्पादनमा लाग्नुपर्ने खाँचो औंल्याए । ‘युनियन संख्यात्मक रुपमा बलियो हुदै गएको छ । अब दक्षतामा ध्यान दिन सक्नुपर्छ’, उनीहरूले भने । कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले भोलिको सुन्दर भविष्य सोचेर अघि बढ्न आग्रह गरे ।

उनले प्रजातन्त्रवादीमा सधैं सकारात्मक सोंच हुने भन्दै कलम चलाउँदा पनि सकारात्मक सोंचका साथ चलाउन आग्रह गरे । कास्की कांग्रेसका पूर्व सभापति समेत रहेका उनले भने, ‘नकारात्मक उर्जा सधैं नाशवान र क्षणिक हुन्छ ।

सकारात्मक सोंच लिएर अघि बढे कहिल्यै पछि परिन्न र भविष्य पनि सुन्दर हुन्छ ।’ समाज तथा पत्रकारितामा नकारात्मक सोंच भावी भएको भन्दै नेता शर्माले त्यसलाई चिरेर अघि बढ्न लोकतन्त्रवादी पत्रकारहरू अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले प्रेस युनियनका सदस्यलाई तालिमले खार्नुपर्ने भएकाले कांग्रेसले ध्यान दिनुपर्ने खाँचो औंल्याए । कास्की कांग्रेसका सभापति कृष्ण केसीले कसैसंग आग्रह–पूर्वाग्रह राख्ने कांग्रेसको सोंच नभएको भन्दै प्रेस युनियन तथा समग्र पत्रकारसंग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे । कास्की कांग्रेसका पूर्व सभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले पत्रकारका २ दायित्व हुने भन्दै सशक्त ढंगले कलम चलाउन आग्रह गरे । उनले भने, ‘पत्रकारका वर्गीड र राष्ट्रिय दायित्व हुन्छन् । वर्गीयमा श्रमजीविको पक्षमा लड्ने र राष्ट्रियमा लोकतन्त्रको पक्षमा लड्ने दायित्व हुन्छन् ।’ कांग्रेस नेता तथा नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले अरुले गर्दै नगरेको काम प्रचार व्यापक हुने तर कांग्रेसले गरेका काम पनि ओझेलमा पर्ने गरेको भन्दै यसमा प्रेस युनियनमा आवद्ध पत्रकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारलाई समाजले हेरिरहेको हुने भन्दै मर्यादित बन्नुपर्नेमा जोड दिए । उनले संगठन भित्र एकता आवश्यक भएको भन्दै एकता हुन नसके समस्या निम्तिने बताए । ‘नचाहँदा–नचाहँदै युनियनमा निर्वाचन हुन पुग्यो । यसलाई क्षणिक रुपमा लिएर आन्तरिक एकता बनाउन आवश्यक छ’, उनले भने । न्यूनतनम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले युनियन संख्यात्मक रुपमा बलियो हुँदै गए पनि दक्षतामा ध्यान दिन आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देलले मीठो र चिप्लो कुरा गरेर संस्था नचल्ने भन्दै करिब २० वर्षको पत्रकारिता अनुभवलाई संगठनमा प्रयोग गर्ने बताए । उनले संस्थामा कसैमाथि अन्याय हुन नदिने बताउँदै संस्थागत विकासमा जुट्ने प्रतिवद्वता जनाए । अध्यक्ष सिग्देलले सबैको साथ, समर्थन र सहयोग लिएर आफ्नो जिम्मेवारीलाई पूर्ण कुशलतापूर्वक अघि बढाउने स्पष्ट पारे ।

युनियन भित्र एकता र संगठन सुदृढिकरणमा आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै उनले भर्खर पत्रकारितामा आएका साथीहरूलाई तालिम आयोजना गर्ने बताए । उनले संगठन भित्र प्रेम, सद्भाव र एकतालाई बलियो बनाउन सबैको सहयोगको अपेक्षा गरेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले प्रेस युनियनलाई सबै प्रकारले बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

उनले अभिवेशन विधि र प्रक्रिया भएकाले त्यसमा भएका तिता कुरा भुलेर एकतावद्ध हुनुपर्ने बताइन् । युनियनका निवर्तमान अध्यक्ष शिरोमणि बरालले युनियन श्रमजीवि पत्रकारको खम्बा भएकाले जे काम गर्दा पन संस्थागत रुपमा गर्न आग्रह गरे । उनले भने, ‘पद लिनमात्र नभइ केही काम गर्छु भनेर संगठनमा लाग्नुपर्छ ।

आफ्नो जिम्मेवारी पूर्ण वहन गर्न सक्नुपर्छ ।’ निर्वाचन समितिका संयोजक विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसांसद शारदा पौडेल, कांग्रेस नेतृ सरस्वती गुरुङ, नेपाल ट्रेड युनियन गण्डकीका अध्यक्ष मुरारी शर्मा, कास्की अध्यक्ष विजयराज भण्डारी, अधिवक्ता कृष्णकुमारी गुरुङ, प्रेस युनियन नेता टंक अधिकारी लगायतले बोलेका थिए ।