नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पर्यटनमन्त्री एवम् नेकपाका नेता रवीन्द्र अधिकारीको निधनले देशलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।
ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा पुगेका नेता खनालले भने, ‘कमरेड रविन्द्र अधिकारीसहित ७ जना होनहार नागरिक यो दुःखद घटनामा दिवंगत हुनु भएको छ । म सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोक सन्तन्त परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’
साथै उनले यो घटना आफूले कल्पना पनि गर्न नसकेको बताए । उनले भने, ‘दुःखद छ र कमरेड रविन्द्र उदयमान नेता हुनुहुन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलनको उज्ज्वल नक्षत्रका रुपमा हुनुहुन्थ्यो । चाहे विद्यार्थी आन्दोलनको क्षेत्रमा होस्, चाहे कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा होस् उहाँले छोटो अवधिमा पनि महत्वपूर्ण योगदान दिनु भएको छ ।’




