दुई मुखे गाई (लघुकथा )

तोयनाथका छ बहिनी छोरीहरु थिए । जेठी छोरी बाह्र वर्षकी थिइन । काइली छोरी अपांग थिइन । कान्छी छोरी डेड वर्षकी मात्र थिइन । दोस्रो सन्तान पनि छोरी भए देखि उनले पुत्र लाभको लागि धेरै यज्ञ तिर्थवर्त उपबास पुजाआजा गरिसकेका थिए । यस अवधिमा उनले तीनवटा ठूला लक्षबत्ति समेतका सप्ताहा पनि सम्पन्न गरेका थिए । एक जना ठूला ज्योतिषी र पुरोहितले संयुक्त रुपमा उनलाई छोरा पाउनको लागि एउटा सतप्रतिशत सफल हुने यज्ञ लगाउन आदेशात्मक रुपमा सूझाव दिए । तोयनाथको आम्दानीको स्रोत केही थिएन । अहिले सम्मका यज्ञ दान दक्षिणा र घर खर्चको ऋण तिर्न उनले दस मुरी धान फल्ने पुर्खौली गैरी खेत बेचि सकेका थिए ।

पूर्णरुपमा सफल हुने भनिएको त्यस यज्ञ सम्पन्न गर्न घेरै असजिलो तथा खर्चिलो पनि थियो । यो यज्ञ कति दिन चल्ने भन्नेमा पनि कुनै निश्चितता थिएन । यस यज्ञमा अन्य पाँचवटा लैना गाईहरु लगायत एउटा दुई मुखे गाई पनि दान गर्नु पर्दथ्यो ।यज्ञ आरम्भ गर्ने शुभ दिन र गाई व्याउने दिनको तालमेल मिलाउन उनलाई धेरै मुश्किल परेको थियो । बल्लतल्ल खोजि खोजि आफुलाई अनकूल हुने खालको एउटा गाई महगो मुल्यमा टाढाको ठाँउबाट किनि ल्याए ।

एक्काईस जना पण्डितव्दारा अखण्ड रुपमा यज्ञ सुरु भयो । त्यो बिशेष गाईलाई यज्ञस्थलमा नै बाँधिएको थियो । जुन बेला गाई व्याउन सुरु गरि बाच्छाले टाउको मात्र निकाल्दछ, त्यति नै बेला गाई दान गर्नु पर्दथ्यो । अगाडि गाईको टाउको हुने र पछाडि बाच्छाको टाउको हुने हुदा दुई मुखे गाई भनिएको रहेछ । यज्ञ सुरु भएको दसौं दिनमा गाई व्याउन थाल्यो । यज्ञमा ठूलो हलचल मच्चियो । सबैको ध्यान गाई तिर केन्द्रित भयो । दस दिन सम्म यज्ञस्थलमा बाँधि समय समयमा नुहाउने गर्दा चिसोले गाई बिरामी परेको थियो । गाई उठन सकेन , बसिबसि बाच्छो फाल्यो । दुई मुख हुन गाई उठेको हुनु पर्दथ्यो । सबैमा निराशा छा-यो ।

तोयनाथ र उनकी श्रिमतिको अनुहार पहेलो हुँदै गयो । तीन जना मुल पण्डितहरुको आकस्मिक उच्चस्तरीय बैठक बसि एउटा निर्णय सुनाइयो- एउटा अर्को लैनो गाई दान गरे पनि दुई मुखे गाई बसेको दोष मोचन हुन्छ । तर तुरुन्त अर्को गाई पाउन नसकिने हुदा कुशको गाई दान गर्न सकिने शास्त्रमा बिधान छ । तर एउटा कुरा बिर्सन हुदैन कि कुशको गाईको निग्रह( क्षतिपूर्ति ) दुई मुखे गाई जतिमा किनेको हो त्यति नै हुनु पर्दछ । यस निर्णयबाट तोयनाथको अनुहारमा खुसीको तरंग संचार भयो । यसरी भव्यताको साथ यज्ञको सांगेता गरियो । तोयनाथलाई छोरा भयो वा भएन थाहा भएन । तर उनले त्यसै साल घरबारि बेचि यज्ञ गर्दा लागेको ऋण तिरेर बचेको सानो थैली , छ जना छोरीहरु र श्रिमती साथमा लिई बसाइँ सरेको कुरा भने धेरैलाई अहिले सम्म थाहा छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।