काश्मिरमा ज्यान गुमाएका सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन

भारत प्रशासित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्भ प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौं भारतीयले शनिबार शोक पदर्शन गरेका छन् ।  

विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका दुई हजार ५ सय सुरक्षाकर्मीको दस्तामाथि जिप ठोक्काएर गरिएको आत्मघाती आक्रमणबाट मारिएका व्यक्तिहरूलाई उनीहरूको घर पठाइरहँदा भारतका विभिन्न स्थानमा शोक सभाहरू तथा प्रदर्शन भएका हुन् । 

काश्मिरमा मारिएका सुरक्षाकर्मीको मृत शरीर शुक्रबार नयाँ दिल्ली ल्याइएको थियो जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले एक शोक कार्यक्रमकाबीच अन्तिम सम्मान प्रकट गरेका थिए । 

सुरक्षाकर्मीका मृत शरीरलाई उनीहरूको गाउँ वा सहरमा ल्याइएपछि स्वतस्फुर्त रूपमा जम्मा भएका भारतीयहरूले पाकिस्तानविरोधी नारा लगाउँदै प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमहरूले देखाएका छन् । घटनामा पाकिस्तानको हात रहेको भारतको आरोप छ भने पाकिस्तानले आरोपको खण्डन गरेको छ । 

जम्मू–कश्मिरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर–जम्मु राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो । ३ सय किलोमिटरको राजमार्ग रणनीतिक रूपले महत्त्वपूर्ण छ र जहिले सुरक्षा व्यवस्था कडा रहन्छ । 

जम्मुबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो । प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ ।