देउवाले भने, म अनसन तोडाउन सक्दिनँ

 डा.गोविन्द केसीको अनशनलाई कांग्रेसले आन्दोलनको आँधीबेहरीका रुपमा उतार्ने गरी मलजल गरिरहेको बुझेर शनिबार साँझ स्वीटजरल्याण्डको डाभोसबाट फर्किएका प्रधानमन्त्री केपी ओलीले आइतबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका छन् ।

केसीलाई अनशनबाट फिर्ता गराएर वार्तामा ल्याउनुपर्छ भन्ने प्रधानमन्त्रीको आग्रह थियो । तर, देउवाले आफूहरुले भनेकै भरमा उनले अनशन तोड्ने सम्भावना नरहेको जवाफ दिए । उनले पार्टीका युवा र विद्यार्थीहरुको दबाब झेल्न नसकेर डा.केसीको मागलाई आन्दोलनका रुपमा अगाडि बढाएको भन्दै अनशन टुटाउने कुरामा आफूसँग ‘कन्फिडेन्स’ नभएको बताएका थिए, ।

यसअनुसार पनि अनशनको राजनीति यसै सल्टिने छाँटकाँट छैन । राष्ट्रियसभामा दर्ज भएको उक्त विधेयक परिपक्व हुन सात दिन लाग्छ र त्यसपछि मात्रै लालमोहरका लागि राष्ट्रपतिकहाँ जाने हो । 

प्रतिनिधिसभाजस्तो होहल्लाकै बीचमा पास ग¥यो, सकियो हुने होइन । त्यसै पनि राष्ट्रियसभामा अध्यक्ष गणेश तिम्सिना सभामुख महराभन्दा अलिक हाट्टहुट्ट पाराकै छन् ।

तल्लो सदनबाट आएको विधेयकलाई संशोधन गर्ने समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ छन्, उनी पनि उस्तै जोशिला । त्यतिञ्जेल डा.गोविन्द केसीलाई स्लाइन लगाएरै राष्ट्रियसभाबाट विधेयक पास गर्ने सरकारको तयारी छ ।

यदि माथिल्लो सदनमा कम्प्रोमाइज गरेर विधेयकमा तलमाथिको काम हुन थाल्यो भने सभामुख महरालाई नैतिक संकट पर्छ । किनभने, उनले संसदीय मर्यादा कुल्चिएर विधेयक टेबुल गर्न लगाएको विपक्षीको आरोप छ । त्यसैले सरकारले पहिला विधेयक दुबै सदनबाट अनुमोदित गराउने र उस्तै परे त्यसपछि मात्र वार्ता गर्ने मनस्थिति बनाएको बुझिन्छ ।

सोमबार राष्ट्रियसभामा विधेयक टेबुल हुँदा काँग्रेसबाट हल्का नाराबाजी मात्रै भयो, ‘हुन्न’ को आवाज सुनिएन बरु राजदूतको सुनुवाईमा चाहिँ ४ र ६ गते संवैधानिक परिषद्ले केही आयोगको अध्यक्ष सिफारिश गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई छुटाइएकोमा असन्तुष्टि पोख्ने काम भयो ।

यसबारे परिषद्मा लेखी पठाऊँ भन्ने सुझाव आउँदा नेकपाका तर्फबाट यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन र यसले राम्रो नजिर पनि बस्दैन भन्दै तर्काइएको बताइन्छ । ती आयोगमा अध्यक्ष तोकिए पनि ४-४ जना सदस्य नियुक्त हुन बाँकी नै रहेको र जनजाति, दलित, महिला आयोग बनाइ नसकिएको स्थिति छ । शायद त्यही भएर पनि यसबीच सत्ता र प्रतिपक्षबीच केही सहमति हुनसक्ने प्रारम्भिक आँकलन छ ।