देश चिनाउने गरी बन्यो पोखरामा भव्य होटल

- समृद्धिका लागि श्रमलाई मेसिनसँग जोडौं : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले अब देशको लक्ष्य उत्पादन र रोजगारीमा ध्यान दिएर समृद्धि हासिल गर्ने भएको बताएका छन् । राजनीतिक परिवर्तनका लागि देशमा अनेक उतरचढाव जायज भए पनि अब त्यो खालका आन्दोलन जरुरी नभएको उनले उल्लेख गरे ।

नेपालको समृद्धिको मुख्य आधारमा पर्यटनको विकास पर्ने औंल्याउँदै उनले छरिएको पुँजीलाई केन्द्रीत गरी परिचालन गर्न सबैमा आग्रह गरे । उनले भने, पैसा कमाउने सबैको लक्ष्य सबैको हुन्छ तर पुँजी परिचालन गर्ने विशिष्ट क्षमता सबैमा हुँदैन । बुधबार पोखरा, अमसिंहचोकमा बनेको टास्क फोर्स इन्टरनेसनल होटल उद्घाटन गर्दै उनले नेपालको प्रकृति र संस्कृतिको उपयोग गरी पर्यटनबाट समृद्धि सम्भव रहेको विचार राखे । उनले भने, संस्कृति नरहे हामी रहँदैनौं, हाम्रो विविधता, भाषा, संस्कृति र प्रकृति नै समृद्धिका मुख्य स्तम्भ हुन् ।


करिब १८ करोडमा बनेको यो होटलमा ३२ वटा कोठा छन् । २०७२ वैशाख १२ गते महाभूकम्पका दिन जग राखिएको होटल बुधबार उद्घाटन भएको हो ।

गण्डकी प्रदेशका आर्थिक विकास तथा योजना मन्त्री किरण गुरुङले नेपाली दक्षिण एसियाको पर्यटकीय ढोका भएकाले यो सम्भावनाको उपयोग गर्नुपर्ने विचार राखे । नेपालीको एकीकरण यही प्रदेशबाट आरम्भ भएको स्मरण गर्दै उनले आर्थिक समृद्धिमा पनि यही प्रदेशले नेतृत्व गर्नुपर्ने बताए । उनले भने, नेपाल निर्माण यहीबाट सुरु भयो, आर्थिक समृद्धि पनि यहीबाट सुरु हुन्छ ।

उनले होटलको स्तर भनेकै त्यसको सेवा हो भन्दै स्तरीय सेवा दिएर पर्यटक आकर्षित गर्न योजनावद्ध तवरले लाग्न आग्रह गरे । २० लाख पर्यटक भित्रयाउने गण्डकी प्रदेशले योजना बनाएकाले यस्ता होटल धेरै बन्नुपर्ने उनको भनाइ छ ।

करिब १८ करोडमा बनेको यो होटलमा ३२ वटा कोठा छन् । २०७२ वैशाख १२ गते महाभूकम्पका दिन जग राखिएको होटल बुधबार उद्घाटन भएको हो । माघ २ गतेलाई नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिएको छ । होटलको १० तले आधुनिक भवन भूकम्प प्रतिरोधी छ ।

होटलका कोठाहरु विभिन्न बुटिक थिममा कोठाहरु बनाइएको छ । बुटिक थिम प्रयोग गर्दा लगानी ४ गुणा थपिएको सञ्चालक मीनराज गुरुङले बताए । होटलको अन्डरग्राउन्डमा पार्किङको व्यवस्था छ भने पहिलो प्लोर लबीको रुपमा प्रयोग भएको छ । कोठाको शुल्क कन्सेप्ट र थिम अनुसार फरक फरक तोकिएको छ । यहाँका कोठाको शुल्क ५ हजारदेखि ३० हजारसम्म छ । सुरुआतमा विशेष छुट दिइएको सञ्चालक गुरुङले बताए ।

सहरलाई ग्रामीण पर्यटनसँग जोड्ने गरी होटल चलाउन लागेको उनले बताए । सञ्चालक गुरुङले भने, ‘हामीले बेच्ने प्रकृति र संस्कृति हो । व्यवहारमै सहरलाई ग्रामीण पर्यटनसँग जोड्ने प्रयास गरेका छौं ।

हरेक प्लोरमा ७ वटा कोठा छन् । पहिलो तल्लाका कोठा धार्मिक पर्यटकीय स्थापित ठाउँ वा गाउँका नाममा बनाइएको छ । हलेसीदेखि मुक्तिनाथ, स्वर्गद्धारी, हलेसी, जनकपुर, लुम्बिनी, कान्तिपुरसम्मका थिममा कोठा छन् ।

दोस्रो तलाका गण्डकीका पर्यटकीय बस्तीहरुको थिम प्रयोग भएका कोठा छन् । तेस्रो तलाका कोठाहरुमा फेवाताल, रुपा, बेगनास, बिसहजारदेखि सुर्खेतको बुलबुलतालसम्मका थिम छन् । चौथोमा गण्डकी प्रदेशका हिमश्रृखला अन्नपूर्ण, कञ्चनजंघा, नीलगिरी, मर्दी लगायत नामका कोठा छन् ।

पाँचौं फ्लोर हनिमुन जोडीलाई केन्द्रीत गरी बनाइएको छ । यहाँको थिम माछापुच्छे« हिमालको छ । होटलमा २ सेमिनार हल छन् । २० क्षमताको हलको नाम मुन्धुम राखिएको छ भने ६० जना क्षमताको हललाई रोदी नाम दिइएको छ ।

छैटौं तलामा अपार्टमेन्ट छ । सातौं तलामा रहेका कोठाहरुमा क्वहोलासोंथर, ताङतिङ र भुजुङ जस्तै ऐतिहासिक गाउँहरुको थिम प्रयोग गरिएको छ । सातौं तलामा लेकाली सिटी रेस्टुरेन्ट एन्ड बार छ । यो विशेषगरी युवा पुस्ताको रोजाइमा केन्द्रीत छ । आठौं तल बारबेक्यु, बर्थ डे सेलिब्रेसन आदिका लागि विशेष रुपमा बनाइएको छ । होटलको १० औं तलमा भ्युटावर छ । चाडै यहाँ बाइनाकुलर जडान गरी पोखरा अवलोकनको व्यवस्था मिलाइने जनाइएको छ ।

होटलका कोठामा थिम अनुसारका जानकारी, डकुमेन्टी, म्युजिक भिडियो, पर्चा, पुस्तक आदि राखिनेछ । सञ्चालक गुरुङ भन्छन्, ‘हामीकहाँ आएका पर्यटकले यहाँको बारेमा जानकारीसहित अब कहाँ जाने, कसरी जाने भन्ने पनि थाहा पाउनेछन् । ’

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।