जो नबार्न सिकाउँछन्, तीनै बार्छन् छाउ

जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ ।

परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै बताएका छन् । छाउगोठ बस्दा चिसोले समस्या हुने गरेको पीडित महिलाहरू बताउँछन् । जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्नुपर्ने बाध्यता छ ।

विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या भएको छ । शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन नसक्दा व्यवहारमा लागू हुन नसकेको हो । उमेर बढ्दै जाँदा शरीरमा देखापर्ने विभिन्न खालका परिर्वतनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहु¥याएर बस्ने र छात्रहरूले हाँसेर उडाउँदा कक्षा नियन्त्रण गर्न समस्या हुने गरेको शिक्षक बताउँछन् ।

विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य भएको नागरिक अगुवा शाहको भनाइ छ । जिल्लाको जुनिचाँदे गाउँपालिका–४ लहादहकी १९ वर्षीया सावित्रा केसीलाई महिनावारी हुँदा गोठमा बस्दा मृत्यु भएको समाचार रेडियोमा सुन्दा प्रत्येक महिनावारीमा डर लाग्ने गर्छ ।

आफू पनि चिसोका कारण कतै केही हुने त होइन भन्दै सधैँ मुटु काँप्ने गरेको उहाँको भनाइ छ । त्यस्तै गाउँपालिका मजकोटकी कौशिला कार्की भन्छिन्, “बर्सेनि महिनावारीका समयमा ७ दिनसम्म घरको आँगनसम्म छुन पाउँदिन, घरको काम भने सबै गर्नुपर्ने बाध्यता छ ।” कार्की थप्छिन्, “महिनावारीका समयमा पोषिलो खाना, तातो पानी लगायतका कुरा खानुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि देवता रिसाउँछन् भन्ने मान्यताका कारण घरका मालिकबाट दही, दूध, घिउ खान त के हेर्नसम्म नपाउने अवस्था छ । ”

यता देउता रिसाए आँखा, कान, फुटाउँदै घोर अनिष्ट हुने उहाँको मस्तिष्कमा सामाजिक छाप परेको छ भने अर्कातिर महिनावारीका बेला चिसोले ज्यान जाने त्रासका साथै यौन दुव्र्यवहारमा परिन्छ कि भन्ने सधैँको पिरलो पनि छ ।

जिल्लाका दुर्गम गाउँमा महिलामा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन कायम हुँदा यहाँका महिलाहरूले महिनैपिच्छे पीडा भोग्नुपरेको छ । सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्नुपर्ने बाध्यता छ ।
नुनको धुलो र सुख्खा रोटीसँग ७ दिनसम्म बिताउनुपर्ने बाध्यता रहेको दुखेसो उनीहरूको छ । दुई तलाको घरमा तल्लो तलामा गाईभैँसी बाँध्ने गरिन्छ भने माथिल्लो तलामा मानिसहरू बस्ने गर्दछन् । गाईभैँसीको मल, मुत्र रहेको ठाउँमा बस्दा दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आउने गरेको बारेकोट गाउँपालिका–७ की पार्वती विकले बताइन् ।

पढेलेखेका विद्यार्थी पनि परिवारको दवाबमा छाउ बार्न बाध्य छन् । द्वन्द्वकालमा समेत छाउपडी प्रथा हटाउन ठूलो प्रयास भएपनि नसकिएको तत्कालीन जनसरकार प्रमुख टेकबहादुर रावलले बताए ।“जबसम्म हाम्रो दिमागमा देवीदेवतासम्बन्धी मान्यता रहन्छ, तबसम्म यस्ताखालका सामाजिक कुरीतिसँग लड्न ठुलो बल प्रयोग गरेपनि सम्भव कम हुन्छ”, उनले भने । जिल्लाको जुनिचाँदे गाउँपालिकाले यो प्रथा उन्मूलन गर्न विभिन्न अभियान सुरु गरेपनि परिणाम आउन नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए ।