साताभित्रै पोखरा फुटबल स्टेडियमको काम सुरु हुने

मंगलबारदेखि फुटबल स्टेडियम निर्माणको जिम्मा पाएको भारतीय ग्रेट स्र्पोटस कन्स्ट्रक्सन र नेपाली कम्पनी एम.ए कन्स्ट्रक्सन संयुक्त(जे.भी)ले पोखरा रंगशाला फुटबल मैदानको सर्भे शुरु गरेको छ । एकसाताभित्र सर्भेबाट प्राप्त नक्सांकन अनुसार पोखरा रंगशाला फुटबल स्टेडियमको काम शुरु गरिने कम्पनीले जनाएको छ ।

‘सर्भे शुरु गर्यौं । एकहप्ताभित्रमा सर्भेको रिपोर्ट आएपछि ‘लेबर वर्क ’ शुरु गर्छौ ।’ एम.ए कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर हरिबावु न्यौपानले भने–‘मैदान मात्रै नभई पुरै रंगशालाकै सर्भे गर्नुपर्ने जरुरी देखियो । बनेका पुर्वाधारको एउटा एउटा सर्भे गरिएको छ । त्यसैले हामीले पुरै रंगशालाकै सर्भे गर्दै छौं ।’ सर्भेको रिपोर्ट एकहप्ता भित्र आउने भन्दै मैदानको कुन क्षेत्रबाट सहज हुन्छ त्यस अनुसार लेबर वर्क शुरु गरिने उनको भनाई थियो । राष्ट्रिय खेलकुद परिषदका पुर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्याय, इन्जिनियर तिलोत्तमा बस्याल लगायतको उपस्थितिमा सर्भे शुरु गरिएको थियो ।

मंगलबार कम्पनीले फुटबल मैदान वरिपरीको झाडी फाँडेर सरसफाई गरेको छ । सरसफाईसँगै सर्भेको लागि निश्चित विन्दुलाई रेखांकन गरी त्यसको आधारमा रिपोर्ट निकालिने कम्पनीले जनाएको छ । ‘राष्ट्रिय खेलकुद परिषदको निर्णय अनुसार स्टेडियमको क्षमता भविष्यमा विस्तार गर्ने गरी छलफलबाटै लिखित रुपमा टुग्याउँदै छौं ।’ उनको भनाई थियो–‘काम छिटो गर्नुपर्ने छ । समयावधि कम छ । छ महिनाभित्रमा सक्ने गरी काम गर्ने कम्पनीलाई डेटलाईन छ ।’ सम्भावत यसै आर्थिक वर्षभित्रमा निर्माण पुरा गर्नुपर्ने देखिन्छ ।

पोखरामा साफ महिला फुटबल प्रतियोगिता गर्ने लक्ष्यसहित परिषदले ग्लोबल टेण्डर आह्वान गरेको थियो । २०४० सालमा निर्माण गरिएको भिआईपी र दर्शक प्यारापिट १३ महिना अघि भत्काईएपछि फुटबल स्टेडियम बन्ने सम्भावना बढ्दै गएको थियो । तर आन्तरिक समस्याले टेण्डर प्रक्रिया टुग्याउन परिषदले लामो समय लगाउँदा नबने हो कि भन्ने चिन्ता र पीर खेलकुदप्रेमीले परेको थियो ।

प्रोजेक्ट मेनेजर न्यौपानेका अनुसार फुटबल मैदानको पश्चिम तर्फ भविष्यमा ‘एक्सपान्सन’ गर्न मिल्ने गरी सर्भे गरिने बताए । टेण्डर अनुसार २० हजार दर्शक क्षमतामा दश प्रतिशत तलमाथि हुने आकलन गरिएको छ । तर टेण्डर सम्झौता अनुसार दर्शक क्षमता भने १६ हजार ५ सयमा दशप्रतिशत तलमाथि हुने उनको भनाई थियो । ‘भविष्यलाई हेरेर अहिले नै सर्भे गरी विस्तार गर्न सकिने गरी फाउण्डेशन तयार गरिनुपर्छ ।’ उनले भने–‘हाम्रो चाहना पनि त्यही हो । फाउण्डेशन बनाए भविष्यमा विस्तार गर्न सहज हुन्छ । थोरै थोरै बजेटले पनि विस्तार गर्दै जान सकिन्छ ।’

मैदान प्राकृतिक बनाउने र त्यसको वरिपरी टर्फ राख्ने सम्भावना रहेको प्रोजेक्ट मेनेजर न्यौपानको भनाई थियो । पश्चिमाञ्चल क्षेत्री खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले निर्माणाधिन प्रोजेक्टलाई असर पर्ने गरी कुनैपनि गतिविधि सञ्चालन गर्न नहुने भन्दै सबै संघ संस्थाले स्टेडियम निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए । ‘सबै संघसंस्थाले सहयोग गर्नुपर्छ । अहिले बनेन भने कहिल्यै पनि बन्दैन् । त्यसैले अवरोध हुने गरी काम कतैबाट गरिनु हुदैन् ।’ उनले भने–‘कामको अनुगमन सबै क्षेत्रबाट गरिनुपर्छ । समयमै काम सक्न खेलकुदप्रेमीले दबाव दिनुपर्छ ।’

स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दावी गर्दै प्रोजेक्ट मेनेजर न्यौपानले कम्पनीलाई चुनौतिसँगै अवसर भएको स्पष्ट पारे । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने छ ।

दर्शक क्षमता कम

पाँचौ आहा गोल्डकप चलिरहेको थियो । फाईनलमा नेपालकै प्रतिष्ठित क्लब थ्रीस्टार र मनाङ मस्र्याङ्दी बीच भिड्दै थिए । फागु पूर्णिमा(होली)को दिन थियो । दर्शकको उपस्थिति फुटबल मैदानको ट्रयाकसम्म थिए । आयोजक सहारा क्लबको तथ्यांक अनुसार १६ हजार टिकट काटेका दर्शक थिए । अन्य प्रायोजक, आगन्तुक अफिसियल तथा अतिथि लगायतका गरी झण्डै २० हजार दर्शक थिए । १२ वर्ष अघि नै झण्डै २० हजार दर्शक उपस्थिति रहेको रंगशालामा अहिले निर्माण गरिने प्यारपिटको दर्शक क्षमता त्यो भन्दा कम हुने देखिएको छ ।


पाँचौ आहा गोल्डकपको फाईनल खेलको झलक / तस्बिर सुदर्शन रन्जित

अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम पोखरामा बन्ने भएपछि खेलकुद प्रेमीमा खुशी छाएको छ । तर प्यारापिटको दर्शक क्षमता भने केही कम भएको गुनासो समेत हुन थालेको छ । १६ हजार ५ सय क्षमताको प्यारापिटले पोखराको दर्शकको फुटबल हेर्ने अपेक्षा पुरा गर्न नसक्ने खेलकुद प्रेमी बताउँछन् । ‘खेलको स्तरीयसँगै दर्शकको चाप बढ्छ । त्यसलाई ध्यानमा राखेर दीर्घकालिन सोच राखेर प्यारापिट बनाउनुपर्ने खाँचो छ ।’ सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा बताउँछन्–‘अन्तर्राष्ट्रियस्तरको क्लबलाई बोलाएर खेलाउँदा दर्शक उपस्थिति बढी हुन्छ । त्यसले थेग्दैन् ।’ ३५ वर्षपछि नयाँ स्वरुपमा जाने प्यारापिटले थोरैमा पनि २५ वर्ष थेग्ने गरी बनाउन जरुरी छ ।

पाँचौ आहा गोल्डकपको फाईनल खेलमा उपस्थित दर्शक । तस्बिर सुदर्शन रन्जित

अर्थ मन्त्रालयले १ अर्ब ७३ करोड ५५ लाख रुपैयाँ बजेट सुनिश्चितता गरेको थियो । त्यही सुनिश्चिता नभएको भन्दै परिषदले टेण्डर प्रक्रियाको समय लम्ब्याउँदै गएको थियो । सुनिश्चिततासँगै परिषदले टेण्डर फाईनल गरेको थियो । टेण्डर फाईनल हुदाँ १ अर्ब २८ करोड खर्चको अनुमान छ । जुन लागतले केवल १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट बनाउने योजनासहित कम्पनीले सर्भे गरिरहेको छ ।

source:kheladinew