विष्फोटन पदार्थ उत्पादन, नेपाल आत्मनिर्भर

अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ ।

विकासका ठूला परियोजनालाई अति आवश्यक पर्ने इमल्सनलाई विशेष गरी ठूला जलविद्युत् आयोजनाका सुरुङ मार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ ।

नेपाली सेना र उद्योग मन्त्रालयको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न शुरुआत गरेसँगै इमल्सन उत्पादनमा आत्मनिर्भर हुने ढोका खुला भएको छ ।

नेपाली सेनाद्वारा सञ्चालित यस प्लान्टका प्रमुख अनुरोध आचार्यका अनुसार विसं २०६० मा स्थापना भएको यस प्लान्टले हाल वार्षिक एक हजार २०० मेक्ट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । यो उत्पादन ‘सिङ्गलबेस प्रोपेलेन्ट प्लान्ट’ बाट मात्र भइरहेको हो ।

प्लान्टको उत्पादन क्षमतामा वृद्धि गर्न ‘डबलबेस प्रोपेलेन्ट प्लान्ट’ स्थापनाको आवश्यक कार्य अगाडि बढेको छ । यसबाट विष्फोटन पदार्थको आवश्यक माग पूरा हुने जनाइएको छ ।

अहिले नयाँ प्लान्टका केही उपकरण जडानसमेत यहाँ भइराखेको छ । नयाँ प्लान्टले उत्पादन शुरु गरेसँगै वार्षिक दुई हजार ४०० मेट्रिक टन विष्फोटन पदार्थ उत्पादन हुनेछ । नेपाललाई वार्षिकरुपमा दुई हजार ५०० देखि तीन हजार टन विष्फोटन पदार्थ आवश्यक पर्ने बताइन्छ ।

प्लान्टका प्रमुख आचार्यका अनुसार विष्फोटन पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । सेनाले आफूले जिम्मा लिएका कठिन सडक निर्माणमा चट्टान फोर्न विष्फोटन पदार्थको पनि सहायता लिँदै आएको छ ।

सेनाले हालसम्म २७ वटा सडक निर्माणका आयोजनामार्फत एक हजार ६६ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश जोड्ने द्रुतमार्गसहित अन्य पाँच आयोजना गरी कूल ५३६ किलोमिटर सडक निर्माण तीव्र गतिमा अगाडि बढाइरहेको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माणका क्रममा यही प्लान्टबाट उत्पादन भएको विष्फोटन पदार्थको उपयोग गरिएको थियो । हाल यो आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको बताइन्छ । निजी क्षेत्रका निर्माण कम्पनीलाई इमल्सनको आवश्यकता र औचित्य पुष्टि भएपछि रक्षा, गृह मन्त्रालय तथा सेनाको स्वीकृति लिएर मात्र यहाँ उत्पादन भएका इमल्सन दिइने गरिन्छ । निगरानी गर्न सेनाका दक्ष प्राविधिक आफैँ परिचालन हुने गर्दछन् । प्लान्टमा हाल ३० जना दक्ष प्राविधिक कार्यरत रहेका छन् ।

अति सुन्दर जङ्गलभित्र प्लान्ट रहेको छ । आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाइने गरिन्छ । प्रमुख आचार्यका अनुसार इमल्सनको निर्माण गर्ने प्रक्रिया ‘वाटर मिक्स’ र ‘वोइल मिक्स’ गरी दुई तहमा हुने गर्दछ ।

पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ । दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुको सम्मिश्रण हुन्छ, त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ । सेमी लिक्विडलाई प्याकेजिङ गरिन्छ । यो नै विष्फोटक पदार्थ हो ।

हाइड्रोलिकमा राखेर यसलाई प्याकिङ गर्ने गरिन्छ । एउटा बक्समा २५ किलो विष्फोटक पदार्थ राखिन्छ । त्यसमा १९० विष्फोटक पदार्थ हुन्छ ।

ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विष्फोटक पदार्थ विस्फोट हुने गर्दछ । हाल प्लान्टमा २५ एमएम र ३२ एमएमका गरी दुई किसिमको इमल्सन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । यसको क्षमताको आधारमा वर्गीकरण गरिएको बताइन्छ । इमल्सनका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयत हुने गर्दछ । यहाँ कार्यरत प्राविधिकको स्वास्थ्य जोखिम आउन नदिन आवश्यक सबै विधि पूरा गरेको नेपाली सेनाले जनाएको छ । (रासस)