निकै चर्चामा आएको‘सालको पात’ तीन महिनामा १ करोड ९६ लाख पटक हेरियो

केही वर्ष पहिलेसम्म नेपालमा हुने सबैजसो साँस्कृतिक कार्यक्रम विहे, भोज, पिकनिक यहाँसम्म कि तिज, तिहार जस्ता पर्वहरुमा पनि गाउँ होस या सहर हिन्दी गीत निकै बजाइन्थ्यो ।

कारण हुन्थ्यो नेपाली गीत राम्रो हुँदैन, नाच्न मिल्दैन आदि आदि । तर गएका केही वर्षमा यो ट्रेन्ड उल्टीएको छ । नेपाली सिनेमा लगायत आधुनिक गीत पनि धरै नाच्ने खालका आउन थालेका छन् । अहिले त्यस्ता कार्यक्रमहरुमा हिन्दी गीत एकदमै कम बज्ने गर्छन् अर्थात नेपाली गीतमा नै धेरै नाचिन्छ । नेपाली गीतमा पनि गएको तीन महिनादेखि एउटा लोक गीतले व्यापक रुपमा बजार लिइरहेको छ । त्यो हो सालको पात ।

एकपछि अर्को गर्दै सिनेमाका गीत बजारमा आउँदा सिमित श्रोता तथा दर्शक भएको लोकगीत सांगीतक बजारमा सँधै ओझेलमा पर्ने गर्छ ।

धेरै सुनिने र हेरिनेमा सिनेमाका गीतनै सुरुमा आउँछन् । युट्युवमा धेरै हेरिएका ‘कुटुमा कुटु’, ‘पूर्वपश्चिम रेल’, ‘गोजीमा दाम छैन’, ‘काले दाई’, ‘ठमेल बजार’ लगायतका सबै गीत सिनेमाकै हुन् । यस्तोमा सबै खाले गीतसँग प्रतिस्पर्धा गर्दै लोकगीत ‘सालको पात’ आएको छ ।

यो गीतले युट्युवमा करिब २ करोड भ्युज पाइसकेको छ । मात्र तीन महिनामा १ करोड ९६ लाख भन्दा बढी पटक हेरिएको यो पहिलो लोकगीत हो । यही गतिमा जाने हो भने ‘सालको पात’ले छिटै २ करोड भ्युज कमाउँछ । आजकल साथीहरुको सामान्य जमघट देखि ठूला पार्टि पिकनिकहरुमा पनि यो गीत टुटदैन । हरेक समूदाय र हरेक उमेर समूहका मानिसले यो गीतलाई उत्तिकै रुचाएको पाइन्छ ।

‘सालको पात’ गीतः

आजकल नेपाली सिनेमाका गीतले युट्युवमा करोड भ्युज कमाउनु खासै ठूलो कुरो मानिँदैन तर लोकगीत जस्ता सिमित श्रोता भएका गीतलाई युट्युवमा करोड भन्दा बढी पटक हेरिनु ठूलो कुरा हो । ‘सालको पात’ भन्दा अघि बसन्त थापा कै संगीत रहेको ‘उहि खोलिमा पानी’ बोलको गीतलाई करोड भन्दा बढीपटक हेरिएको थियो ।

राजन गुरुङ र देवी घर्तिको स्वर रहेको उक्त गीतमा केशव पौडेलको शब्द रहेको छ । दुई वर्षअघि सार्वजनिक गरिएको उक्त गीतलाई युट्युवमा १ करोड १० लाख भन्दा बढीपटक हेरिएको छ । यी बाहेक रामजी खाँडको ‘दामी देखिन्छ’, पशुपति शर्माको ‘रंगशाला जत्री’ लगायतका गीत धेरै हेरिएका गीतमा पर्छन तर तिनले औषतमा ५०÷६० लाख भ्युज आएको देखिन्छ ।

‘उही खोलीमा पानी’ गीतः

विष्णु माझी र कुलेन्द्र विश्वकर्माकाे आवाजमा रहेको गीतलाई नवराज पन्तले लेखेका हुन् भने बसन्त थापाले संगीत भरेका हुन् । विष्णु माझी नेपाली लोकगीतमा सबैभन्दा बढी रुचाइएकी गायिका मध्येकी एक हुन् । डेढ दशक भन्दा लामो सांगीतिक यात्रा गरिसकेकी उनी सालको पात आउनुअघि केही समय निस्क्रिय जस्तै भएकी थिइन् । तर यो गीत बजारमा आएसँगै उनको चर्चा पनि चौतर्फि हुन थाल्यो । उनले करिब १० हजार गीतमा आफ्नो आवाज दिइसकेकी छन् ।
खासगरी गण्डकी प्रदेशमा सुनिने लोकगीत पुरै देशभरी गुञ्जिनु भनेको लोकगीतका लागि मात्र नभएर पुरै नेपाली संगीत क्षेत्रका लागि खुशीको कुरा हो ।