सुन्तला नफलेपछी बोट चिर्दै बाल्दै

फुङ्लिङ नगरपालिका–८ को कोदारगाउँकी मनकुमारी सुनुवार ५ वर्षअघिसम्म मङ्सिर लाग्नासाथ फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने हटियामा सुन्तलाको भारी बोकेर आउने गर्थिन् । घरैमा पनि तेह्रथुमबाट व्यापारीहरू सुन्तला खरिद गर्न आउँथे ।

सुन्तला बेचेरै वार्षिक ४–५ लाख आम्दानी गर्ने सुनुवारको वर्षभरिको घरव्यवहार त्यही पैसाबाट चल्थ्यो । तर अचेल घरनजिकैको सुन्तलाबारी हेर्दा विरक्त लागेको अनुभव सुनाउँछिन् । केही वर्षअघि लटरम्म सुन्तला फल्ने ठाउँमा यतिबेला बोटमा झिक्राबाहेक केही छैन ।

मेची राजमार्गले दुवैतर्फबाट बीचमा पारेको पारिलो ठाउँमा फलेका रसिला सुन्तला जिल्लामै नामी थियो । गाउँ चिनाउने सुन्तलाका बोट सुकेर मर्दैछन् । चार वर्षयता बाँचेका बोटमा पनि फल लाग्न छोडेको छ ।

‘यहाँ पनि सुन्तला फल्थ्यो र ! भन्ने अवस्था आयो’ केही वर्षअघिसम्म लटरम्म फल्ने बोट देखाउँदै अर्का किसान इन्द्र सुनुवार भन्छन्, ‘कोदारगाउँमा सुन्तला फल्ने कुरा कथामै सीमित हुने भयो ।’ इन्द्रका बगानमा रहेका २ सय ५० भन्दा बढी बोटमध्ये अधिकांश मरिसकेका छन् । ‘यसपालि १०–१२ बोटमा अलि–अलि मसिना दाना फले, त्यही पनि खाइनसक्नु अमिला छन्’ –इन्द्रले भने ।

कोदारगाउँकै कृष्ण बरालका बगानमा पनि ३ सय हाराहारी सुन्तलाका बोट छन् । तीमध्ये आधाजसो बोटमा फल लाग्न छोडेको २ वर्ष भयो ।

‘उत्तरतर्फ फर्केका बोटमा अलि–अलि फल्दैछन्’ बरालले भने, ‘दक्षिण फर्केका बोट सुकेर उराठलाग्दा छन् ।’ बुढेसकालमा बसेर खान पाइन्छ भनेर रोपेका सुन्तलाले निराश बनाएपछि अब गाउँ नै छाडेर हिँड्ने अवस्थामा पुगेको बरालको भनाइ छ ।

झापा, सुनसरीलगायत तराईका जिल्लाबाट व्यापारीहरू सुन्तला खरिद गर्न आउँथे ।

ट्रकमा लोड गरेर लैजान्थे । ‘बजारको कुनै समस्या थिएन, नजिकै सदरमुकाम भएकोले अधिकांश त्यहीँ बिक्री हुन्थ्यो’ कृष्ण सम्झन्छन्, ‘धेरै फलेको साल स्थानीय बजारमा खपत नभए बाहिरका व्यापारीलाई झिकाउँथ्यौं, कार्तिकदेखि पौषसम्म त गाउँ नै पहेँलपुर देखिन्थ्यो नि ।’ २०७० सालयता यहाँका कृषकले नयाँ बिरुवा नै रोपेका छैनन् । ‘नहुने रहेछ भनेर रोप्नै छोडेँ’ –स्थानीय सन्तोष सुनुवारले भने ।

उनका अनुसार शुरुमा टुप्पोबाट पात पहेँलो हुने र विस्तारै झर्ने गरेको छ । दुई वर्षसम्म त्यस्तो समस्या भएपछि बोट नै मर्ने गरेको सन्तोषले बताए । उनले भने, ‘पुराना बोट मात्रै होइन, नयाँमा पनि त्यही समस्या देखियो, कुनै बोटमा पातलो फले पनि समयमा नपाक्ने र अमिलो हुने अर्को समस्या छ ।’

मौसम परिवर्तनकै कारण सुन्तला मासिँदै भएको कृषकको अनुमान छ । पहिले फल्ने ठाउँमा नफल्ने तर त्योभन्दा माथिल्लो उचाइमा फल्न थालेको कृष्ण बराल बताउँछन् ।

‘यहाँका मरेर सकिए, पहिले नफल्ने माथिल्लो गाउँहरू नाम्लेपाटी, चारपाटे र सुकेटारसम्मै पनि अहिले फल्न थालेको छ’ उनले भने, ‘पहिले यो क्षेत्रमा कसैगरे पनि लिची फल्दैनथ्यो, अहिले लटरम्म फल्न थालेका छन् ।’ इन्द्र सुनुवारले भने– ‘आँप, भुइँकटहर जस्ता औलोमा हुने फलफूल यहाँ फल्न थालेका छन् ।’

मौसम परिवर्तनकै कारण सुन्तला नफलेको किसानको अनुमान भए पनि कहीँ कतैबाट यसको अध्ययनका लागि चासो नदेखाएको उनीहरूको गुनासो छ । ‘सुन्तलामा यस्तो समस्या भयो भनेर राख्ने ठाउँसमेत पाएका छैनौँ’ स्थानीय मनकुमारीले भनिन्, ‘पहिले समस्या पर्दा कृषि कार्यालयमा गएर सुनाउँथेँ । कृषिका सरहरू घरमै आएर सल्लाह दिने गरेको बताइन

तर अहिले त्यो कार्यालय पनि रहेनछ, यस्तो भयो भन्दै कहाँ जानु ?’ मुलुकमा तीन तहको सरकार भए पनि कृषकको लागि सरकार नै छैन जस्तो आभास भएको कृष्ण बताउँछन् ।

उनी भन्छन्, ‘टाढाको सरकारले त देखेन, यहीँको स्थानीय सरकारको पनि कृषकलाई हेर्ने आँखा बन्द भएछ ।’ तत्कालीन जिल्ला कृषि विकास कार्यालयद्वारा प्रकाशित पुस्तकमा ८ सयदेखि १५ सय मिटर उचाइसम्म सुन्तला फल्ने उल्लेख छ ।