सपथ गराउन नसके लिखित दिनोस्, अख्तियार जान्छु

- सभामुखले फेरि सुरु गरे परामर्श, मंगलबारसम्म निर्णय हुने

गुण्डा नाइके भनी चित्रण गरिएका राजीव गुरुङ उर्फ दीपक मनांगे सोमबार दिउँसो गण्डकी प्रदेशसभा पुगे । हाइलक्स गाडीमा सहयोगीसहित आएका उनले सभामुखसँग कुरा गरे, मुख्यमन्त्रीलाई भेटे । राजीवले पत्रकारसँग पनि तार्किक तवरले कुरा गरे ।

मनाङ खबाट प्रदेशसभामा निर्वाचित राजीव सर्वाेच्च अदालतको आदेशले पुस ६ गते छुटेका थिए । नयाँ संविधानमा १० वर्षभन्दा कम जेल सजाय भएका मुद्दामा जेलबाहिरै बसेर मुद्दा लड्न पाउने व्यवस्था छ । एमालेको समर्थनमा चुनाव जितेका उनले अझै सपथ लिन पाएका छैनन् ।

कार्यव्यवस्था परामर्श समितिसँग सल्लाह गरी सभामुख नेत्रनाथ अधिकारीले आइतबार राजीवलाई सपथ नगराउने जानकारी दिएका थिए । राजीवले सोमबार भेटेर कानुन, संसद नियमावलीसहित व्याख्या गरेपछि सभामुखले फेरि यसबारे परामर्श थालेका छन् ।

‘मैले सपथ पाउनु लिन पाउनुपर्छ । जसलाई मन पर्दैन उही जान्छ सर्वोच्च । म सर्वाेच्च जाने होइन ।’

प्रदेशसभा र सांसदको सपथबारे कानुनमा पनि स्पष्ट व्याख्या छैन । यसबारे केही विवाद आए सभामुखले निर्णय गर्न सक्ने गण्डकी प्रदेशसभाको नियमावलीमा उल्लेख छ । नियमावली अनुसारको निर्णयले पनि चित्त नबुझे वा यसबारे केही विवाद आए सर्वाेच्च अदालतको संवैधानिक इजलासले यसको टुंगो लगाउने संविधानमा व्यवस्था छ ।

सभामुख अधिकारीले भने, ‘यस विषयमा म फेरि छलफलमा छु । भोलि (मंगलबारसम्म एउटा निर्णयमा पुगिनेछ ।’ कैलाली १ बाट प्रनिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई सपथ गराइएपछि राजीवले पनि सपथ लिन पाउने धेरैको अनुमान थियो । सभामुखले राजीवको सपथ नहुने निर्णय गरेको भोलिपल्ट राजीव पोखरा आएका हुन् । अब राजीवको सपथ हुने सम्भावना बढेको स्रोतको दाबी छ ।

राजीवले गण्डकी प्रदेशसभा बाहिर पत्रकारसँग खुलेर कुरा गरे । उनले भने, ‘सभामुखज्यू अलि सिधा हुनुहुन्छ । सल्लाहकारले राम्रो सल्लाह नदिएजस्तो लाग्यो ।’ उनले सपथ लिन पाउने अधिकार भएको जिकिर गरे । राजीवनले भने, ‘मैले सपथ पाउनु लिन पाउनुपर्छ । जसलाई मन पर्दैन उही जान्छ सर्वोच्च । म सर्वाेच्च जाने होइन ।’ प्रदेशसभा विनियमावली बमोजिम सपथ रोक्न नमिल्ने जिकिर गर्दै उनले यहाँ पावरको दुरुपयोग भएको गुनासो गरे ।

यो मुख्यमन्त्रीसँग सम्बन्धित कुरा नभएकाले उनीसँग कुरा नगरेको राजीवले प्रष्ट्याए । उनले भने, ‘सभामुखलाई मैले कुरा गर्देको छु । मेरो विचारमा उहाँ २ सय प्रतिशत कन्भिन्स हुनुभएको छ ।’ आफ्नो चुनाव अवैधानिक भए पूरै नेपालको चुनाव अवैधानिक हुने उनको भनाइ छ । नेपालको सर्वाेच्च अदालतको कार्यप्रणालीप्रति शंका व्यक्त गर्दै उनले थपे, ‘सपथ लिन नपाए म अन्तर्राष्ट्रिय अदालत जान्छु नि । नेपालको अदालत किन जाने ? नेपालको अदालतमा के छ ?’ उनले सपथ गराउन नसके किन सकिएन लिखित रुपमा दिन आग्रह गरे । उनले भने, ‘लिखित दिएपछि म अख्तियार जान्छु ।’

उनले सपथको निर्णय चाडै गरिदिन पनि आग्रह गरे । उनले भने, ‘चाडो काम गरिदिनुप¥यो । काठमाडौंबाट पोखरा आउँदा धेरै काम छाडेर आउनुपर्छ ।’