पहिले घाट,अहिले खेल मैदान

सेती नदी अविरल बगिरहेको छ । नदी किनारमा शब जलाईन्छ । बस्ती छेवैमा छ । ढुंगैढुंगा रहेको अनाकण्टर ठाँउको रुपरंगै फेरिएको छ । ढुंगा बालुवा ओसार्ने घाट हो । स्थानीयबासिन्दाले ठाँउको रुपै फेरिने विश्वासै गरेका थिएनन् । विश्वास गरोस पनि कसरी ? सम्भव नै नदेखिएको ठाँउ अहिले कायापलट भएको छ ।

उखानै छ–तँ आँट म पुर्याउँछु । सायद यस्तै भयो । धेरैको परिकल्पना बाहिर थियो । तर दृढ संकल्प लिएपछि ढुंगाबाट पनि पानी रसाउँछ भन्ने भनाई यर्थाथमा परिणत भएको छ ।

एक्लै जान डर हुन्थ्यो । समय परिवर्तनशिल छ । सायद त्यही भएर होला दुईवर्षको अन्तरालमा घाट पनि खेल मैदानमा परिणत भएको छ । हो लामाचौरको गोष्तेघाट यतिबेला लामाचौर रंगशालाको रुपमा परिणत भईसकेको छ ।

आफैंप्रति विश्वास हुनुपर्छ । त्यही विश्वासलाई दृढता देखाउँदै अर्काले कुरा काटेपनि पुरा गर्ने संकल्प लिएपछि अहिले खेलमैदान बनेको छ । अहिले स्पोर्टस कप्लेक्स बन्ने संघारबाट अगाडि बढेको छ ।

काम गर्दा आफैंमा विश्वास हुनु अनिवार्य छ । ढुंगेयुक्त बगरलाई हरियाली मैदान बनाउने ध्येयलाई भने सक्रिय युवा बुद्धिबहादुर खत्री क्षत्रीको सक्रियताले प्रष्ट्याईसकेको छ । नव आदर्श सामाजिक विकास समाजका पुर्व अध्यक्ष समेत रहेको खत्रीको अगुवाईमा बगर खेलमैदानमा परिणत हुदाँ अहिले धेरैले उनको विरुद्ध नकारात्मक टिप्पणी गर्नेहरु विस्तारै मत्थर हदैं गएका छन् । अहिले उनको कामलाई सहयोग नगरेपनि विरोध भने गर्दैनन् ।

कामको परिकल्पना गर्नु आफैंमा महत्वपूर्ण हो । बगरलाई खेलमैदानमा परिणत गर्ने कल्पना सायद कमैले विश्वास गरेका थिए । समय त्यतिबेलाको हो जतिबेला स्थानीय युवाहरु खेलमैदानको लागि पाँच किलोमिटर दुरीको पोखरा रंगशााल पुग्नुपर्ने बाध्यता थियो ।

मानिस जिउँदाको जन्ती र मर्दाको मलामी हुन् । संयोग नै मान्नुपर्छ जतिबेलो सेती किनारमै मलामी गएको बेला थियो । नदी किनारमै शवदह स्थल थियो । किनारमा शव जलिरहँदा केही परको पर्ती जग्गामा उभिएर प्रतिक्षा गर्दै पर्ती जग्गालाई संरक्षण गर्नुपर्छ भन्ने सोंच पलायो ।

खत्री लामाचौरको नवआर्दश सामुदायिक विकास समाजका अध्यक्ष थिए । उनीसँगै शुशिल कोइराला प्रधानमन्त्री हुदाँ प्रशासनिक सल्लाहकार रहेका बावुराम आचार्य पनि मलामीको रुपमा गएका थिए । उनै आचार्यले जग्गा संरक्षण गर्नुपर्ने धारणा राख्दै खेलकुदको पुर्वाधार बनाउने उपाय सुझाए । उनको उपायलाई खत्रीको दिमागमा क्लिक हुन पुग्यो ।

‘खेलकुदप्रति नजिक थियौं । उहाँ प्रशासनिक सल्लाहकार हुनुहुथ्यो । उहाँले भनेकै आधारमा फाईल पठायौं ।’ खत्री सम्झन्छन–‘२०७० चैतमा फाईल पठाएपछि २०७१÷७२ को आर्थिक वर्षको लागि साउनमै रातो किताबमा चार लाख रुपैयाा पर्यो । त्यो रकमबाट सम्याउने काम शुरु गर्यौं ।’ पर्ती जग्गा संरक्षण गर्नुपर्ने खाँचो थियो । सुकुम्बासी बस्तीले खाली जग्गा हडप्ने प्रवृत्ति थियो । त्यसले पनि भोलिको लागि सार्वजनिक जग्गा जोगाउनुपर्ने आवश्यकतालाई नवआर्दश सामुदायिक विकास समाजले जिम्मेवारी भूमिका निर्वाह गर्यो ।

चार वर्ष अघि शुरु गरिएको योजनाले विस्तारै रुपरंग लिदैं छ । नदी किनारमा ८७ रोपनी क्षेत्रफल छ । जसमध्ये १७ रोपनी बस्तीले ओगटेको छ । बस्तीभन्दा बाहेको ७० रोपनीलाई नवआर्दश सामुदायिक विकास समाजले खेलमैदानको लागि उपयोग गरेको छ । फुटबल मैदान बनिसकेको छ

मैदान वरिपरी ढलानयुक्त प्यारापिट बनाईएको छ । मैदानको एउटा छेउमा सेभेन ए साईड फुटबल मैदान र अर्कोतिर बास्केटबल कोर्ट बनाउने लक्ष्य उनले लिएका छन् । नदी किनार तर्फ भने तारजाली ग्याभिन गरिएको छ । बाढी पहिरोको जोखिमलाई न्युनिकरण गरिएको छ । त्यस क्षेत्रमा सम्याई सवारी पार्किङको लागि छुट्टाइएको छ ।

नवआदर्श सामुदायिक विकास समाज गैरसरकारी संस्था थियो । त्यसबाट काम गर्न कठिनाई र विरोध हुने सम्भावना बढ्दै गएपछि लामाचौर खेलमैदान विकास समिति गठन गरियो । समितिको जिम्मेवारी सुरेन्द्रमानसिंह भण्डारीले लिदाँ सचिवको भूमिका भने उनै खत्रीको काँधमा आयो । सचिवको जिम्मेवारी पुरा गर्ने गरी उनले कामलाई निरन्तरता दिएका छन् ।

सफलता केवल एक्लैले मात्रै गरेर हुदैन् । सबैको साथ र सहयोगले सफलता प्राप्त हुन्छ । त्यसमा पनि अझ राजनैतिक गुट र उपगुटको विरोध पक्कै हुन्छ । त्यसलाई पन्छाउँदै समितिले आफनो निर्णयमा अडिग रहदै खेलमैदान निर्माणलाई अन्तिम टुंगोमा पुर्याउने गरी दिनरात खटिरहेको छ ।

‘हिजोको अवस्था हेर्दा त यस्तो ठाँउमा पनि बजेट दिएको भन्ने हुन्थ्यो । तर अहिले पोखराकै सामरिक महत्वको खेलमैदान बनेको छ । सम्भवत पोखरा रंगशालाको बैकल्पिक फुटबल मैदानको रुपमा निर्माण भईरहेको छ ।’ खेलकुद विकास समितिका इन्जिनियर ताम्राकारले भने–‘यसै आर्थिक वर्षमा पनि बजेट परेको छ । बजेट अनुसार काम सकेपछि मैदान बाहेक अन्य पुर्वाधार तयार हुन्छ ।’ खेलकुद विकास समितिले प्रत्येक बजेट दिदाँ फिल्डमै पुगेर अनुगमन गर्दै आएको छ ।

खेलकुद विकास समितिले निर्माणको सम्पूर्ण जिम्मेवारी खेलमैदान विकास समितिलाई सुम्पिएको छ । आफैंले जिम्मेवारी लिएर ठेक्का गरेको काममा गुणस्तरीयता नदेखेपछि खेलकुदले स्थानीय समितिलाई दिएको थियो । मैदानको चारैतिर वर्षे पानीको निकासको लागि बनाइएको नालीमाथि स्ल्याप हाल्ने काम भने खेलकुदले गरेको थियो ।

तर त्यसमा गुणस्तरीयता देखिएन् । प्रश्नचिन्ह उब्जने सम्भावना बढेपछि स्थानीय समितिलाई नै कामको जिम्मेवारी दिइएको हो । अहिले खेलकुद विकास समितिले बजेट उपलब्ध गराएर केवल अनुगमनलाई मात्रै ध्यान दिएको छ ।

मैदान निर्माण शुरु गरेको चार वर्ष वित्यो । चार वर्षको अवधिमा स्थानीय स्रोत र साधनलाई उपयोग गरिएको छ । बगरलाई सम्याउने क्रममा निस्किएको ढुंगाले प्यारापिट निर्माण गरिएको छ । नालीमा उपयोग गरिएको छ । आवश्यक ढुंगा त्यहीबाट निकालिएको थियो । त्यसले पनि फुटबल मैदान निर्माणमा सहजता हुन पुग्यो । खर्च केही कम लाग्यो ।

प्राकृतिक स्रोत मात्रै नभई स्थानीयले आर्थिक सहयोग समेत जुटाए । लामाचौरमै रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्थाले मैदान निर्माणर्थ सहयोग भन्दै २५ हजार रुपैयाँ उपलब्ध गरायो । यसले संस्थाले सामाजिक उत्तरदायित्व समेत लिएको प्रत्यक्ष देखियो । लामाचौर खेलमैदान विकास समितिका सचिव खत्रीले सबैको सहयोगबाटै खेलमैदानलाई पूर्णता दिने संघारमा पुगिएको बताउँछन् ।

‘फुटबल मैदान बनिसक्यो । प्यारापिट निर्माण गरिदैं छ । एउटा सेभेन ए साईड फुटबल मैदान र बास्केटबल कोर्ट बनाएपछि योजनालाई टुग्याउने छौं ।’ उनको भनाई थियो । समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीका अनुसार स्थानीय स्रोत र साधनलाई अधिकतम उपयोग गरी मैदान निर्माण गरिने भन्दै खेलमैदान पोखराकै साझा सम्पति भएको बताए ।

‘आँट गरेर नै मैदान बनाउन सक्यौं । नत्र धेरैले विरोधको आवाज गुन्जाएका थिए । अठोट लिएर काम गरेपछि सहयोगी हात बढ्दै गए । हामी सफल बन्दै गयौं ।’ उनको भनाई थियो । उनका अनुसार स्थानीय स्रोत साधन मार्फत ३० लाख ९० हजार १ सय ७७ रुपैयाँ लगानी परेको छ । उनका अनुसार सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत तत्कालिन सांसद एवं पुर्व मन्त्री कुमार खड्काको योगदान पनि विर्सन सकिदैन् ।

मन्त्री खड्काको महत्वपूर्ण योगदानले नै मैदान निर्माणमा होस्टेमा हैंसे मिलेको अध्यक्ष भण्डारीले सुनाए । समितिका अनुसार हालसम्म खेलकुद मैदानसहित प्यारापिट निर्माणमा दुई करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।