नातिसगैँ हजुरआमा पनि स्कुल


‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बनेकी छिन् । आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै विद्यालय जाने गरेकी छिन् ।

दुई वर्षअघि यहाँको पुरानो गाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले कक्षा–३ मा पढ्दै छिन् । नाति वसन्त कक्षा–१ मा पढ्छन् । उनले भनिन्, “पढ्ने उमेरमा पढ्न पाइन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उनको बुझाइ छ ।

‘सही गर भनेर लगाउँछन आफूलाई आउँदैन,” उनले भनिन्, “हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ ? भन्ने शङ्का पनि हुन्छ ।” उनलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्न सक्ने हुने मन छ । उमेरमा पढ्न नपाएको प्रति उनलाई पछुतो छ । शुरुमा प्रौढ कक्षा गएकी सानुमाया अहिले विद्यालय जान थालेकी छिन् ।

‘‘गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घण्टामा केही सिकिएनँ’’, उनले भनिन्, “त्यही भएर विद्यालय नै जाउ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ ।” कक्षामा नाति नातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको बताइन् ।

सानुमाया नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक हरिप्रसाद लामिछानेले बताए । सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहन्छिन् । तर उनलाई आफू पढ्न भन्दा पनि नातिलाई पुर्‍याउन गएको भनेर सोच्ने पनि गर्दछन् ।। सानुमायाका तीन छोराको विवाह भइसकेको छ । ‘‘छोरा हुर्किए, विवाह पनि गराइदिएँ, नाति पनि पढ्दैछन’’, तर पनि मन गर्‍यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।”

स्कुल जान थालेपछि उनले अहिले वर्ण, मात्रासँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उनको मेहनतले छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारी बताउछन् । उनलाई अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ ।

दुर्गम गाउँका महिलालाई समूहमा आवद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान चौतारीमा पुराना गाउँमा चलिरहेको छ । सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गर्छिन । यहाँको आदर्श अभियान चौतारीमा हरेक महीनाको दुई पटक छलफल हुन्छ ।

अभियान चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकार लगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुुशीला मग्रान्तिले बताए ।
जिल्लालाई गतवर्ष नै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । तर अहिले पनि साक्षरोत्तर कक्षाहरु गाउँ–गाउँमा सञ्चालन भइरहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लीलानाथ पोखरेलले इच्छा शक्ति भए जुनसुकै बेला पनि विद्यालय गएर शिक्षा हासिल गर्न सकिने बताए । ‘‘ज्ञान कहिल्यै बुढो हुँदैन’’, , ‘‘त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन ।’’(रासस)