जाडो मौसम र दम रोग

दम एउटा पिडादायी रोग हो । के केटाकेटी के बुढाबुढी कसैलाई पनि ग्रसित पार्न सक्ने यो विरामीको सख्या दिन प्रतिदिन बढीरहेको छ । आधुनिक युगको उपचार पद्धतिको समयमा पनि रोगीको सख्या बढेर जानु पक्कै पनि राम्रो होइन ।

तर यर्थाथ यस्तै छ, रोगीको संख्या बढेको बढेकै छ । आखिर दम रोग के हो ? र कस्तो अवस्थामा लाग्छ त? र जाडो याममा किन यसले धेरै च्याप्छ । यस बारे चर्चा गरौ ।

मानिसको शरिर विशिष्ट संरचनाबाट बनेको हुन्छ । २०६ वटा हड्डी, असख्य मांसपोशी, विभिन्न नौवटा प्रणाली, विभिन्न अंग, करोडौ नसा र मस्तिष्कको संयोजन रहेको हुन्छ हाम्रो शरिरमा । यी असख्य कोष, तन्तु, अंग, प्रणाली र धेरै ग्रन्थिहरुको संयोजन र लगातारको श्वासप्रश्वास र मुटुको धडकनबाट हाम्रो शरिर चलिरहेको छ ।

विशेष गरेर ती नौवटा प्रणली मध्ये एउटा हो श्वासप्रश्वास प्रणाली । यो भनेको नाक र मुखबाट सुरु भएर छातीमा रहेका दुइवटा फेक्सा सम्मको भाग हो । हामीले लिएको शुद्ध(अक्सिजिनेटेड) हावा नाक या मुख भएर फोक्सामा पुग्छ ।

फोक्सामा रहेका असख्य हावाका मसिना थैलामा शुद्ध हावाको प्रवेशसँगै मुटुबाट आएको अशुद्ध(डिअक्सिजिनेटेड) रगत शुद्ध हुने प्रकृया शुरु हुन्छ । जन्मे देखि लगातार चलीरहने यो प्रकृया हामीले रोक्न नसक्ने या हाम्रो इच्छाले पनि नचल्ने (इन्भोलुन्टरी) प्रकृया हो ।

शरिरका विभिन्न भागबाट अशुद्ध( डिअक्सिजिनेटेड) भएर आएको रगत मुटुको दाहिने कोठामा जम्मा हुन्छ । मुटुको नियमीत धड्कनबाट फोक्सोमा शुद्ध हुन पुग्छ । फोक्सामा भएका असख्य मसिना हावाका थैला (एयर स्याक)मा पुगेर अक्सिजन लिएर शुद्ध(अक्सिजिनेटेड) हुने र मुटुको देब्रे कोठामा जम्मा हुने हुँदा फोक्साको महत्व पूर्ण काम भनेको हाम्रो शरिरलाई चाहिने शुद्ध हावा (अक्सिजन) को पुर्ती गर्नु हो ।

यही अक्सिजन बोकेको रगत शरिरका प्रत्येक कोषमा पुगेर हामीले खाएको खानेकुराका मसिना अंंशको रसायनिक प्रकृयाबाट शरिरलाई चाहिने शक्ति उत्पादन हुन्छ ।

यती ठूलो जिम्मेवारी बोकेको श्वासप्रश्वास प्रणलीमा विभिन्न खाले रोगहरु लाग्छन । त्यो मध्ये एउटा हो दम । श्वस फेर्न कठिन हुने खोकी लाग्ने, छाती भारी हुने, खकार धेरै आउने या नआउने, स्वा स्वा हुने उत्तानो या घोप्टे सुत्न कठिन हुने, छातीमा खकार जमेको आवाज आउने लगायतका अन्य धेरै लक्षणहरु हुन्छन् ।

यी र यस्ता लक्षण भएका फोक्सामा लाग्ने धेरैखाले रोगहरुमा हुन्छन् । जस्तै ब्रोन्काइटिस, सि.ओ.पि.डी, दम, क्षयरोग, निमोनिया आदि ।

माथी भनिएका विभिन्न खाले फोक्सामा हुने रोग मध्ये दम रोग नै हो भनेर जान्ने कसरी त ? सर्व प्रथम त यो रोगको परिभाषा के हो कुन कुन कारण र लक्षणबाट यो रोग अन्य श्वास प्रश्वासमा लाग्ने रोग भन्दा फरक छ भन्ने जानकारी लिउँ ।

दम भनेको विभिन्न खाले लक्षणहरुका साथमा श्वासप्रश्वास प्रकृयामा अवरोधका साँथै हावानलीमा अनियन्त्रित रुपमा खुम्चिने र श्वासप्रश्वासमा केहि बेरकालागी या दिर्घ कालिन रुपमा असर देखाउने कारणबाट शरिरमा अक्सिजनको कमी हुने र अन्य अंगलाई पनि प्रत्यक्ष प्रभाव पार्ने रोग हो ।

यसको मुख्य कारणमा हावानली (ब्राेंकस या बाेँकियोल्स) को सुजन(सुन्निन’) हो । हावानली दिर्घकालीन रुपमा सुन्निएका कारण हावा जाने भाग खुम्चिने हुँदा श्वास लिन कठिनाई भइरहने या मौषम या बाहिरी प्रभावबाट अचानक धेरै खुम्चिने हुँदा श्वस लिन मुस्किल हुने, विरामी धेरै हलचल र हिडडुल गर्न पनि नसक्ने अनि खोकी र श्वा–श्वा बढ्ने गर्छ भने विरामी होचो सिरान लगाएर सुत्न पनि नसक्ने कारण यो रोग निक्कै पिडादायी रोगका रुपमा धेरै मानिसले भोग्दै आएका छन् ।

कारणहरुः बाहिरी र भित्री गरेर दुइवटा कारणहरु हुन्छन् दम रोग लाग्नु र अचानक बढेर श्वसप्रश्वासमा असहजता देखापर्नुमा । बाहिरी कारण जसले शरिरमा एलर्जी उत्पन्न गर्ने तत्व (आइजीई)लाई बढावा दिन्छ । यो आइजीई भनेको शरिरको एक प्रकारको रोग प्रतिरोधातमक क्षमतालाई कायम राख्ने तत्व हो ।

जसलाई बाहिरी वातावरणले उक्साउछ र दम जस्तो रोगको उत्पत्ती हुन्छ या शरिरमा रहिरहन्छ । जस्तै केटाकेटीमा दाद रोग भएको र मलहम आदी लगाएर निको पारेको छ भने, परिवारमा कसैलाई दम रोग छ भने, या कुनै दम बढाउने तत्वहरुको लगातार प्रयोग या सेवन आदि ।

यो अवस्थाको दम केटाकेटी र युवा युवतीमा बढी देखा पर्छ । यस प्रकारको दम समय र प्राकृतिक उपचार पछि कम भएर जान्छ । भित्री कारणहरु भएको दम रोगमा युवा अवस्था या बुढाबुढीमा भित्री कारणबाट रोग देखा पर्छ । यो अवस्थाको दम रोगमा वंशानुगत नभएको पनि हुन सक्छ ।

विषेश गरेर शरिरमा या फोक्सामा भएको संक्रमण जस्तै निमोनिया, क्षयरोग या शरिरका अन्य भागमा भएको संक्रमण आदिले पनि दम हुने बाटो खुल्न सक्छ । यस्तो अवस्थाको दम निक्कै कडा र पूर्ण रुपमा निको हुन कठिन हुन्छ ।

समग्रमा दम रोगका कारणहरु र रोगलाई बढावा दिने विभिन्न कारणहरु हुन्छन् । जस्तै विभिन्न समयमा शरिरमा देखा पर्ने भाइरल संक्रमण, लामो समयसम्म सिगारेटको सेवन, लगातारको चिसो तथा अ‍ोसिलो ठाउँको बसाई, मौषम परिवर्तनसँगैको हेलचेक्राई, खानेकुरामा लगातारको जिद्धिपना, कुनै खास प्रकारको एलर्जी या धुवाधुलोको लगातारको प्रकोप आदी दम रोग बढने कारणहरु हुन् ।

यसका साँथै लगातारको हाँसो, उत्तेजित हुने, धेरै कुद्ने, मौषम परिवर्तन, र केही औषधी पनि दम रोगलाई बढाउने कारणहरु हुन् ।

दम रोग रहेको अवस्थामा फोक्साेमा भएका हावाका थैलाहरु राम्रोसँग फुक्नु नसक्नुका साँथै हावानली खुम्चिएका कारण आवश्यक मात्रामा हावा फोक्सामा पुग्न नसक्नु पनि हो । हावानली खुम्चिएका कारण यथेस्ट हावा भित्र जान नसकेका कारण विरामी खुला हावामा बस्न चाहन्छन् ।

ताकी हावा भित्र जान सकोस । तर, यदि चिसोले सतायो भने पुन संक्रमण हननसक्ने हुदा त्यसमा पनि ध्यान राख्नुपर्ने हुन्छ । यो रोग लागेका विरामीमा माथी भनिएका कुनै पनि कारणले अचानक विरामले सताउन सक्छ । त्यसैले उपचारमा पनि के कारणबाट बढेको हो सो बुझ्नु र सोही अनुसार उपचार गर्नु पर्छ ।

दम रोग हो या होइन भनेर थाहा पाउन विरामीको पूर्ण विवरण, पारिवारिक विवरण, वितेका दिनमा लागेका रोग र उपचार र हाल रहेका अन्य रोगहरु र तिनको उपचार, घर र वरपरको वातावरण, तनाव आदिबारे पनि जानकारी लिएर रोग बढ्ने कारणहरु र राकथामका उपायका बारेमा पनि रोगीलाई जानकारी गराएमा सहजै रोगी निको हुन्छ ।

यो सँगै केही परिक्षणहरुको पनि आवश्यकता हुन्छ । जस्तै छातीको एक्रे, रगतको परिक्षण, र कुनै कुराको एलर्जी भए सो को पनि जाँच आवश्यक हुनसक्छ ।

उपचार दम रोगको उपचार दुई प्रकृयाबाट गरिन्छ । एउटा तत्काल राहत दिने या बढेको अवस्थालाई सहज अवस्थामा ल्याउने । अर्को दिर्घकालिन रुपमा सेवन गर्ने औषधीका साँथै विरामीले अपनाउनु पर्ने वा बार्नुपर्ने कुराहरु ।

माथी भनिए अनुसार विभिन्न लक्षण र उमेर सँगै यो रोगले सताउने हुदा उमेर अवस्था र कारणहरुलाई ध्यान दिनु पर्छ । केटाकेटीमा या युवा अवस्थामा भएको या देखिएको यो रोगलाई समयमानै राम्रो उपचार भए वा विरामीले पाए निको हुने सम्भनवना धेरै रहन्छ ।

केटाकेटी या युवा अवस्थामानै भेटेको दम रोग होमियोप्थिक या अर्युवैदिक औषधिको सेवन लामो समयसम्म गरेमा निको हुन्छ । यसरी नै अन्य उमेरका मानिसमा रहेको दम रोग पनि कारण र परहेजसँगै उपचार भएमा निको हुने सम्भावना धेरै हुन्छ ।

त्यसैले दम रोगको उपचारमा एलोपैथिक औषधीसँगै अन्य उपचार पद्धतीमा पनि चासो राख्दै सही उपचार लिन सकेमा पक्कै पनि दम जस्तो पिडादायी रोगमा राहत हुने र निको हुने सम्भावना पछिल्लो अध्यायनले देखाएको छ ।