अन्तरबाली खेतीले बढायो आय

बाटदेवानगंजर सुनसरी देवानगंज गाउँपालिका – २ मेहता टोलका सबुल अन्सारीले उन्नत जातको उखुसँगै यतिबेला पाँच बाली तरकारी लगाएका छन् । १८ बिघामा खेती गर्दै आएका उनले १० विघामा उखु र ५ विघा खेतीमा अन्तरबाली तरकारी खेती लगाएका छन् ।

उनले उन्नत जातको उखुँसहित एउटै बारीमा राजमा, गोलभेडा, आलु, काउली र गाजर लगाएका छन् ।

उनले गत वर्षमा अन्तरबाली खेतीबाट राम्रो मुनाफा गर्न सफल भएको बताएका छन् । प्रतिविघा १ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उनले बताए । स्वास्थ्यको लागि लाभदाही मानिने ‘राजमा’ अन्तरबाली खेतीमा बढी लगाएको बताए ।

अब यस पटक राजमाबाट मात्र कम्तीमा प्रतिविघा २ लाख रुपैयाँ कमाउने योजना उनको छ । यसपछि काउली, आलु र गाजरबाट पनि राम्रै आम्दानी हुने उनले अनुमान गरेका छन् ।

‘आफनो जमिनसहित लिजमा गरि १० विघा खेतीमा उखु खेती लगाएका छन् उनले भने, ‘५ विघामा उखुसहित विभिन्न जातका तरकारी लगाएका उनले उखुको लागत खर्च तरकारी खेतीबाट उठाएको उनको भनाई छ ।

‘एकै सिजनमा लगाएको धेरै जातको तरकारीबाट राम्रो आम्दानी भएपछि अब ’ पुरानो शैलीलाई छोडरे अव नयाँ प्रविधि अपनाउने उनको विचार छ ।

‘डयाङ बनाएर पाँच फिटको चौडाइको बिचमा उन्नत जातको उखु लगाएको छु,’ अन्सारीले भने, ‘इन्च नापेर उखुँको छेउमा अन्य सबै बाली लगाए । जसले गर्दा यसरी रोप्दा कुनै बालीलाई असर गर्दैन ।’ सोही अनुरुप आवश्यकता अनुसार मल र पानी दिने गरेको उनले बताए ।

विगतको वर्षहरूमा प्रतिविघा ४ सयदेखी ५ सय क्वटीटल उखु उत्पादन हुँदै आएको जानकारी दिदै अन्सारीले भने, ‘यस पटक सिओसि २०३८ जातको उखु रोप्दा उत्पादन ह्वातै बढ्यो ।

उन्नत जातको उखु रोप्दा प्रतिविघा १ हजार देखी १ हजार ५ सय क्वीन्टल उत्पादन भयो ।’

देवानगंजकै अर्का किसान सदानन्द मेहताले पनि ५ विघा जमिन मध्धे १ विघा १० कठठामा अन्तरबाली खेती सुरु गरेका छन् । उनले फूलकोपी, तोरी, राजमा, काउली, आलु, गोलभेडा लगाएका छन् ।

यसै वर्षबाट अन्तरबाली खेती सुरु गरेको जानकारी दिदै मेहताले बाली राम्ररी सप्रेकोले राम्रो आम्दानी हुनेमा आशाबादी छन् ।


देवानगंज – ५ का अर्का कृषक सुवोद कुमार यादवले ५ विघा जमिन मध्धे ३ विघामा उखुसँगै अन्तरबाली खेती लगाएका छन् । उनले गत वर्षदेखी अन्तबाली खेती प्रणाली सुरु गरेको बताए ।

‘अघिल्लो वर्ष प्रशिक्षण कालको लागि १ विघामा अन्तबाली खेती लगाए,’ उनले भने, ‘१ विघामा उन्नत जातको उखु र राजमा मात्र लगाए । जसमा लागत खर्च १ लाख रुपैयाँ हुन आयो ।’ एक विघामा लगाएको अन्तरबाली खेतीमा राजमा ४० मन उत्पादन भयो ।खर्च कटाएर एक विघामा ५० हजार रुपैयाँ मुनाफा भएको उनले बताए ।

‘अहिले उखुको हुकर्दै गएको छ,’ उनले भने, ‘एक बालीको तरकारी खेतीको उत्पादन समेत विक्री गरे ।’ अन्तरबाली खेती प्रणालीबाट राम्रो आम्दानी हुने भएकोले उनले अहिले खेती समेत बढाएको छन् ।

अहिले ३ विघामा जमिनमा अन्तरबाली खेती सुरु गरेको जानकारी दिए । अन्तरबालीलेमा उखु, गोलभेडा, आलु, गोपीलगाएको तरकारी लगाएको बताए ।सनुसरी मात्र एक सय विघामा अन्तरबाली खेती सुरु भएको छ भने मोरङका उखु किसानले ५० विघामा अन्तरबाली प्रणालीबाट खेती सुरु गरेको बताइएको छ ।

उखु किसानले अन्तरबाली खेती गर्दा अन्य बालीबाट लगानी उठाउने भएकोले यस खेतीतर्फ कृषकको आर्षण बढेको इस्टर्न सुगर मिलका उखु प्रबन्धक सुरेश प्रसाद मेहताले बताए ।

१ नम्बर प्रदेशका भूमि व्यव्साथ कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत तथा प्रवक्ता मनोजकुमार यादवले जिल्लाका किसानले सीमित जग्गाको उपयोग गर्दै अन्तरबाली खेती प्रणालीबाट राम्रो आम्दानी गरेको बताए ।

‘कुन बालीसँग कुन प्रकारको अन्तरबाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान पाएपछि किसान यस्तो खेती प्रणालीमा आकषिर्त भएका हुन्,’ उनले भने, ‘एउटै बाली लगाउँदा किरा लाग्ने गर्दछ ।

उनका अनुसार १ नम्बर प्रदेशमा ९ लाख २७ हजार ४ सय १९ हेक्टरे खेतीयोग्य जमिनमध्धे ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमा खेती लगाएका छन् ।

जसमध्ये २ देखी ५ प्रतिशत अन्तरवाली खेती कृषकले लगाएको उनले बताए । प्रदेश सरकारले कृषकलाई उन्नत जातको खेती प्रणालीबारेमा कृषि प्रविध र ज्ञानको बारेमा समेत समय समयमा जानकारी समेत दिदै आएको उनको भनाई छ ।