धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक १ जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरूको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।
मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३ सय २२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३ सय ६४ रहेको थियो ।
कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाका कारण १७ को मृत्यु भएको छ ।
सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या १ सय ९८ रहेको छ । मृत्यु हुनेमा १ जना महिला र बाँकी सबै पुरुष छन् ।
खरेलका अनुसार क्षयरोग, कलेजोको खराबी, डेङ्गु, मष्तिष्काघात, एपेण्डिसाइटिस, मेनेन्जाइटिसजस्ता रोगका कारण नेपाली कामदारको मृत्यु हुने गरेको छ । रेलको ठक्करबाट, बसबाट खसेर, करेन्ट लागी जलेर, हत्या, सुतिरहेको अवस्थामा, छातीको खराबी, अग्लो घरबाट लडेर पनि कामदारको मृत्यु हुने गरेको उनले बताए।
मलेसियामा पछिल्लो तथ्याङ्कअनुसार तीन लाख ८३ हजार नेपाली कामदार रहेका छन् । प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको सङ्ख्या एक लाख हाराहारी रहेको अनुमान गरिएको अनुमान छ ।
पछिल्लो समयमा श्रमसम्झौता कार्यान्वयन हुन नसक्दा नेपाली कामदार मलेसिया आउन पाएका छैनन् । जसका कारण मलेसियामा रहने कामदारको सङ्ख्या घटेको हो । यसअघि सात लाख हाराहारी नेपाली मलेसियामा रहेको तथ्याङ्क थियो ।
अवैधानिकरूपमा बसेकाको मृत्यु भएमा उनीहरूको परिवारलाई सम्पर्क गरी शव पठाउने गरेको उनले बताए । वैधानिकरूपमा काम गरिरहेकाको हकमा कम्पनीले शव पठाउन खर्च गर्ने दिन्छ ।