सुन्दर भविष्य बनाउने उद्देश्य लिएर पढ्न गएकी छोरी, आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउनका लागि जागिर गर्न गएको छोरी वा साथीहरूसँग मेला घुम्न गएको छोरी सकुशल घर फर्किने हो कि होइन भन्ने चिन्ताले हरेक आमाबुवालाई सताइरहेको हुन्छ । आमाबुवालाई चिन्ता हुनुको विभिन्न कारणमध्ये बलात्कार एउटा ठूलो चिन्ताको बिषय हो । आजभोलि बलात्कार हुने त्राश धेरै दिदीबहिनीलाई हुने गर्छ । किनभने कतै पाँच वर्ष भन्दा मुनिकी नानी बलात्कृत भएकी छिन् भने कतै ७० वर्षभन्दा बढी उमेरका महिला बलात्कृत हुन्छिन् । कतै आफ्नै बुवाबाट, शिक्षकबाट, आफन्तबाट बलात्कार भइरहेका छन् । गएको सात वर्षमा नेपालमा ६ हजार ६ सय २७ बलत्कारसम्बन्धी मुदा दर्ता भएका छन् ।
जबसम्म रक्सी तथा लागुपदार्थ बिक्री वितरण सम्बन्धी कडा कानुन ल्याइदैन, तबसम्म बलात्कारमा कमी ल्याउँछु भन्ने कल्पना नगर्दा पनि हुन्छ ।
नेपालमा प्रत्येक महिना ७८ ओटा बलात्कारसम्बन्धी मुदा दर्ता हुन्छन् । जसमध्ये सन् २०१७ र १८ मा मात्र १ हजार ४ सय ८० वटा मुदा दर्ता भएका छन् । जुन नेपालको जनसंख्याको आधारमा धेरै नै हो । नेपालमा बलात्कार हुने संख्यामा धेरै वृद्धि हुनुको कारण धेरै छन् । जसमध्ये केही प्रमुख कारणहरूलाई यहाँ विश्लेषण गरिएको छ ।
कडा कानुन तथा छिटो न्याय प्रणालीको व्यवस्था
नेपालमा केही वर्ष पहिले बलात्कार गर्नेलाई ५ देखि ३० वर्षसम्म कैद हुने गथ्र्थो तर नेपाल सरकारले ल्याएको नयाँ कानुनले जबर्जस्ती करणी गरी यदि मारेको छ भने आजीवन कारावास हुने व्यवस्था गरेको छ । तर पनि नेपालकी महिला तथा दिदीबहिनीले बलात्कारीलाई फाँसी दिनुपर्ने कानुनको माग गर्दै विभिन्न ठाउँमा प्रदर्शनहरू गरेका छन् ।
उदाहरणको रूपमा केही समय पहिले माइतीघर मण्डलमा पेटिकोट लगाएर युवतीले प्रदर्शन गरेका थिए । ती प्रदर्शनकारीको मुख्य माग बलात्कारीलाई फाँसी दिनुपर्ने नै थियो । विश्वका विभिन्न देशहरूले बलात्कारीलाई फाँसी दिनुपर्ने कानुन ल्याएका छन् । जुन किसिमले नेपालमा बलात्कारका घटना वृद्धि भइरहेको छ, त्यस अनुसार नेपालमा पनि बलात्कारीलाई फाँसी दिनुपर्ने नयाँ कानुन ल्याउनुपर्ने देखिन्छ ।
नेपालमा जति धेरै बलात्कारको घटनासम्बन्धी मुद्दा दर्ता भए पनि त्यसको २५ प्रतिशतले पनि मुस्किलले न्याय पाउने गरेका छन् । बलात्कृत भएकी महिलाले न्यायको ढोका धेरै दिनसम्म ढकढकाउनु पर्ने हुनाले कतीपय महिला मुद्दा लडेर न्याय पाउनुभन्दा पनि मिलापत्र गर्ने अवस्थामा पनि पुगेका हुन्छन् । ढिलो न्याय पाउने व्यवस्थाले गर्दा बलात्कृत महिला माथि विभिन्न किसिमका दबाब आउने गर्छन् । नेपाल सरकारले बलात्कारलाई महिलामाथि हुने सबैभन्दा गम्भीर अपराधको संज्ञा दिँदै कठोर सजाय दिने कानुनी व्यवस्था ल्याउन जरूरी छ ।
एउटै परिवारमा राजनीति केन्द्रीकरण हुनु
एउटै परिवारबाट स्थानीय निकायको मेयर अथवा उपमेयर, प्रदेशसभाको सदस्य र प्रतिनिधिसभाको सदस्य हुनुलाई राजनीतिको केन्द्रीकरण हुनु भनिन्छ । नेपालमा केहि यस्ता परिवार पनि छन् जसका सदस्यहरू स्थानीय निकायको मेयरदेखि प्रतिनिधिसभाको सदस्य भएका छन् । राजनीतिक रूपले त्यस्ता परिवार एकदम बलिया छन् । यस्ता परिवारको कारणले गर्दा नेपालमा भ्रष्टाचार समेत बढ्दै गएको छ । यस्ता परिवारका सदस्यले केहि गल्ती गर्दा पनि कसैले केही बोल्न सक्दैनन् । यस्ता परिवारको गतिविधिलाई हेर्दा कतिपय बुढापखाहरूले भन्ने गर्छन् नेपालमा फेरी राणासाशन आयो । यस्ता परिवारले जनताको सल्लाह सुझाब बिना नै एकलौटी रूपमा निर्णय लिने गरेका छन् ।
निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको महिनै बितिसक्यो तर त्यसको दोषी पता नलाग्नुमा कतै न कतै राजनीतिक शक्ति केन्द्रीकरण नै हो । देशका हजारौं युवा, पत्रकार र शुभचिन्तकहरूले सडकमा आएर प्रदर्शन गरे तर अहिलेसम्म निर्मलाको हत्याराको पत्तो लागेको छैन ।
लागृुपदार्थ तथा मापसे
नेपालमा लागुपदार्थ तथा जाँड रक्सीको प्रयोग अत्याधिक मात्रामा भइरहेको पाइन्छ । एउटा नाबालक युवादेखि लिएर बुढापाखाहरू समेत यस्ता कुलतमा फँसेको छन् । विश्व स्वास्थ्य संगठनले १८३ देशमा लागू औषध प्रयोगकर्ताको बारेमा अध्ययन गर्दा नेपाल १ सय १९ औं स्थानमा परेको छ । यो प्रतिवेदनले यो देखाउँछ कि नेपाल लागूपदार्थ तथा जाँडरक्सी प्रयोगमा नराम्रोसँग फस्दै गएका छन् ।
नेपालमा बलात्कार वृद्धि भइरहनुको एउटा मुख्य कारण लागुपदार्थको प्रयोग पनि हो । लागूपदार्थ तथा जाँड रक्सीको सेवन बढ्दै जाँदा धेरै बलात्कारका घटनाहरू हुने गरेका छन् । कास्की जिल्लामा बस्ने १० बर्षकी श्रेया सुनारलाई कुशुम पौडेलले बलात्कार गरी हत्या गरेका थिए । कुशुम पौडेल र केही स्थानीयको बयानले यो कुरा स्पष्ट हुन्छ कि श्रेयाको बलात्कार तथा हत्या गरेको दिन कुशुम पौडेलले अत्याधिक मात्रामा लागुपदार्थ तथा रक्सीको सेवन गरेर मातेका थिए ।
जबसम्म रक्सी तथा लागुपदार्थ बिक्री वितरण सम्बन्धी कडा कानुन ल्याइदैन, तबसम्म बलात्कारमा कमी ल्याउँछु भन्ने कल्पना नगर्दा पनि हुन्छ । रक्सीको बिक्री वितरणमा कमी ल्याउनको लागि तिनै तहको सरकारले एक अर्कासँग सरसल्लाह र सुझावको अधारमा कडा कानुनको व्यवस्था गर्नुपर्छ । अनि मात्र लागू पदार्थ तथा रक्सीको प्रयोगमा कमी आउनुको साथै बलात्कारको घटनामा पनि कमी आउँछ ।
बेरोजगारी
नेपालमा कलकरखाना कम हुनु, भएको बन्द हुँदै जानु र व्यवसायिक वातावरण बन्नु जस्ता कारणले देशमा बेरोजगारी दिनप्रतिदिन बढ्दै गइरहेको छ । देशबाट ४० लाख युवा विदेशमा गएर काम गरिरहेका छन् । विदेशिएका युवाले दिनरात मेहनत गरेर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलिरहेको छ । श्रीमान श्रीमती टाढा भएर विदेशमा बस्दा बाबुले छोरीलाई बलात्कार गरेको धेरै उदाहरण छन् । त्यसैगरी छोरा तथा ज्वाई विदेश गएको अवस्थामा बुवा तथा ससुराले आफ्नो छोरी तथा बुहारीलाई यौन शोषण तथा बलात्कार गरेको धेरै उदाहरण छन् । त्यसकै एउटा उदाहरण हो बर्दिया जिल्लामा पर्ने बढैया ताल ८ का ६३ बर्षीय बुवाले आफ्नो १९ बर्षीय छोरीलाई बलात्कार गरेको घटना ।
माईत आएको छोरीलाई पटक–पटक करणी गरिरहेको थियो । इलाका प्रहरी निरीक्षण गणेश सिंह महताले श्रीमान् विदेश गएको मौका छोपी माइत बसेको छोरीलाई बाबुले जबराजस्ती करणी गर्दै आएका थिए । श्रीमान् विदेशबाट फर्केपछि बाबा विरूद्ध छोरीले जबरजस्ती करणीको मुद्दा हालिन् तर अहिलेसम्म न्याय पाउन सकेकी छैनन् । यदी देशमा नै रोजगारीको अवस्था भएको भए सायद यस्तो घटना हुँदैन्थ्यो होला । त्यसकारणले बलात्कार कम गर्र्नुछ भने नेपाल सरकारले देशभित्र रोजगारी सिर्जना गर्नै पर्छ ।
सामाजिक सञ्जाल
कुनै पनि व्यक्तिले आफ्ना विचार, सुचना, फोटो आदि इन्टरनेटको माध्यमले एकअर्कासँग आदान प्रदान गर्नुलाई सामाजिक सन्जाल भनिन्छ । सामाजिक संजालले गर्दा हामी आफ्नो कुरा एकअर्कासँग सजिलै गर्ने गर्छौ ।
सामाजिक संजालको माध्यमले चिने जानेको साथीहरूसँग भेट्न जाँदा बलात्कृत भएकी धेरै उदाहरण छन् । ती उदाहरणमध्येबाट एउटा उदाहरण लिएका छौं काठमाडौंको मुटुमा पर्ने ल्याण्डमार्क होटेलमा २२ बर्षीय युवतीको सामूहिक बलात्कार । फेसबुकको माध्यमले चिनजान भएको र केही दिनको कुराकानी पछि साथी सैलेशसँग भेट्न जाँदा युवती सामूहिक बलात्कृत भएकी थिइन् ।
सामाजिक सञ्जालको सही प्रयोगले गर्दा हामीले धेरै फाइदा लिन सक्छौं । तर, यसको गलत प्रयोगले गर्दा हामीलाई धेरै नकारात्मक प्रभाव पर्नसक्छ । कतिपय यस्ता व्यक्तिहरू छन् जसले जथाभावी रूपमा नचिनेको साथी बनाएर कुराकानी गर्ने कोशिस गरिरहेका हुन्छन् । सामाजिक संजालको माध्यमले बिना चिने जानेका मानिसहरूसँग कुराकानी गर्नु हुँदैन र तिनीहरूसँग कहिले पनि भेट्न जानु हुँदैन । बलात्कार घट्दा बढ्दै जानुमा सामाजिक संजालको सहज पहुँचलाई पनि लिन सकिन्छ ।
मिडिया
मिडियाले बलात्कारको खबरलाई यति विस्तारले लेख्छ कि धेरैको मनमा घृणा उत्पन्न हुन्छ भने कतिपयलाई चासो उत्पन्न हुन्छ । कुनै पनि खबरहरूलाई हे¥र्यो भने सबैभन्दा बढी बलात्कार सम्बन्धी खबरलाई पढेको पाइन्छ । कतै मिडियाहरूले समाजको यस्तो नराम्रो खबरलाई मसला लगाएर अरू धेरै मसालेदर बनाएको त होइन ?
मिडियाले यदी देखाउने हो भने चेतनाशीलता, शिक्षा, गलत तथा सही छुवाईको बारेमा लेख्नु र देखाउनु आवश्यक देखिन्छ ।
जसले कुनै महिलालाई बलात्कार गरेको छ, त्यसको दिदी, बहिनी, छोराछोरीलाई समाजले कस्तो व्यवहार गरिरहेको छ । बहिष्कार गरेको छ कि सम्मानपूर्वक त्यो परिवार बाँचिरहेको छ कि त्यो विषयलाई बाहिर ल्याउने काम मिडियाले गर्नुपर्छ ।
स्रोत : मधेश दर्पण फिचर सेवा