नेपालीका ठूला पर्व दसैं, तिहार आउँदै छन् । दसैं, तिहारमा लामो सार्वजनिक बिदा हुने हुँदा यो समयमा विदेसमा काम गर्नेहरु घर फर्किन्छन् । अन्य ठाउँमा काम गर्नेहरु पनि घर आउँछन् । चाडपर्वका बेला नेपालका सुनसान गाउँहरु पनि गुलजार हुन्छन् । दसैंमा मासु धेरै खाइने, चिप्लोचाप्लो र फ्राइ गरेका चिज बढी खाइन्छ । सिंगै खसी नै घरमा ल्याएर, ढालेर, १०, १२ दिनसम्म निरन्तर मासु खाने हाम्रो प्रचलन छ । मासु र चिल्लोका साथसाथै मदिरा सेवन पनि अत्यधिक हुने गरेको पाइन्छ ।
मासु खान, राम्रो लुगा लगाउन दसैं, तिहारै कुर्नुपर्ने जमाना गइसक्यो । अहिले दिनदिनै चाहे पनि मासु खान पाइने अवस्था बनेको छ । खाजामा मःम, सुकुटी, चाउमिनमा पनि मासु खाइरहेका छौंं । यसरी दिनहुँ जसो लामो समयसम्म मासु खाइरहँदा शरीरलाई केही नकारात्मक असर पनि पर्न सक्छन् । मोटो शरीर, रगतमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु राम्रो हुन्छ । मासु, चिल्लो, मदिरा, साथसाथमा चुरोट, खैनी, सूर्ति बिहान, बेलुकै धेरै मात्रामा खाँदा धेरै बिरामी सिकिस्तै भएर स्वास्थ्य संस्था आइपुग्छन् । केहीलाई भने रोगले च्याप्न थाल्छ । केहीमा नयाँ रोग लाग्ने जोखिम बढ्छ ।
फ्राइ होइन, पकाएर मासु खाऔं । थोरै थोरै खाऊ, बरु पटक, पटक खाऊ । रातो मासु भन्दा बरु कुखुराको मासु, माछा खानु राम्रो हुन्छ ।
दसैंताका मानिसलाई खासगरी २, ३ थरिका रोग धेरै देखा पर्न थालेका छन् । कसैलाई पखाला लाग्ने, कसैलाई वान्ता हुने गरेको देखिन्छ । कसैलाई अकस्मात अत्यधिक पेट दुखेर, कुनै कुनै बिरामीलाई अचानक रोगले च्यापेर आकस्मिक उपचारमा ल्याउनुपर्ने अवस्था पनि सिर्जना भएको देखिएको छ । रक्सी बढी खाँदा हुने समस्या लिएर पनि बिरामी उपचार गर्न आउँछन् । तर, यो समयमा डाक्टरहरु पनि बिदामा बस्ने हुँदा उपचार पाउन पनि सहज हुँदैन ।
चाडपर्व नमनाउनुहोस् भनेको होइन, मनाउनु राम्रो कुरा हो । उल्लासपूर्वक मनाउनुपर्छ । माछा, मासु पनि खान सकिन्छ । पेटको, कलेजोको समस्या भएकाहरुले भने केही सावधानी अपनाउनु भयो भने यस्ता कष्ट उठाउनु पर्दैन । यसबाट एकातिर स्वास्थ्य ठीक रहन्छ भने अर्काेतिर पर्वको उल्लास पनि अनुभव गर्न पाइन्छ । हामी बिरामीलाई सकभर बोसोयुक्त खाना कम गर्न सल्लाह दिन्छौं । फ्राइ होइन, पकाएर मासु खाऔं । थोरै थोरै खाऊ, बरु पटक, पटक खाऊ । रातो मासु भन्दा बरु कुखुराको मासु, माछा खानु राम्रो हुन्छ । रक्सी कुनै पनि अवस्थामा राम्रो होइन । रक्सी सकेसम्म नखाऔं । अत्यधिक रक्सी खानु भनेको अनेक खोजिम निम्त्याउनु हो ।
चाडपर्वमा खाइने मिठाइहरुमा पनि ध्यान दिऔं । रंग हालेर आकर्षक बनाइएका मिठाइ हानिकारक हुन्छन् । यस्ता कुरामा ध्यान दिनुभयो भने एकातिर तपार्ईको स्वास्थ्य तन्दुरुस्त रहन्छ भने चाडपर्वलाई उल्लासपूर्ण तवरले मनाउनु पाउनुहुन्छ । ग्यास्ट्रिक, अल्सरका कारण भनेकै अहिलेको नराम्रो खानपिन, चिल्लोचाप्लो, बोसोयुक्त खाना, माछा, मासु र रक्सीको धेरै प्रयोग नै हुन् । कतिपय नेपाली जनजातिमा रक्सीलाई सांस्कृतिक रुपमा प्रयोग गर्ने चलन छ । रीति पूरा गर्नु एउटा कुरा होला तर रक्सीले आफूलाई नै खाने गरी खाए अनेक समस्या यसले ल्याउँछ । कृत्रिम खालका खानेकुरा यथासम्भव खाँदै नखानु राम्रो हो ।
दसैं, तिहारमा पनि फलफूल, सागसब्जीको मात्रा खानामा बढाउनुपर्छ । रेलरोटी बोसोमा पकाउँदै नपकाऔं । बासो खानै नहुने चिज हो । रोटीसँग खाने तरकारी, अचारमा पनि ध्यान दिऔं । मासुसँग सँगै सागसब्जी र फलफूल पनि खानु राम्रो हुन्छ । शरीरलाई चाहिने मात्रामा पानी पिउनुपर्छ । यसो गरे हामी ग्यास्ट्रिक, अल्सर र रक्सीले गर्न सक्ने असरबाट बाच्न सक्छौं । अरु बेला नखानेहरु र बिरामीले पनि चाडमा त खानै पर्छ भनी सकेसम्म रक्सी र मासु खाने गरेको पाइन्छ ।
तास खेल्ने, होहल्ला गर्ने, सामाजिक सद्भाव बिगार्नेहरु पनि यदाकता देखिन्छन् । दसैंमा ५, ६ दिन रक्सी, चुरोट खाँदा छाडेकाहरुमा फेरि यसको लत लाग्छ । भर्खर सुरु गरेकाहरुमा पनि बानी नै पर्छ । यो बेला मदिरा सेवन गरी सवारी चलाएर दुर्घटना भएका समाचार पनि सुनिन्छन् । चाडपर्वका नाममा मनमौजी खानपिन र अस्वस्थकर जीवनशैली नअपनाऔं ।
कुन रोगका बिरामीले के खाने, के नखाने ?
चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ दीर्घ रोगी त झन् बढी खतरामा रहन्छन् । त्यसकारण चाडबाडका बेला खानपिनमा विशेष ध्यान दिन जरुरी छ ।
मासुका परिकार र चिल्लो खाना ठिक्क खाने र सँगसँगै तरकारी, फलफूल, सलाद, दाल सबै मिलाएर खाएमा स्वास्थ्यलाई हानि हुँदैन । चिल्लो खानाका कारण शरीरमा बोसो जम्मा हुने हुँदा धेरै मानिस बिरामी पर्छन् । चाडबाडमा दीर्घरोगीहरूले खानपिनमा ध्यान नदिँदा गम्भीर अवस्थामा अस्पतालमा पु¥याउनुपरेका थुप्रै उदाहरण छन् । मासुले हानि मात्रै गर्छ भन्ने होइन तर खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउँछ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु राम्रो हुन्छ । भेटघाट, रमाइलो गर्नेभन्दा पनि स्वादको पछाडि लागेर खानपिनमा सामान्य हेलचेक्र्याइँ गर्दा धेरैको चाडबाड अस्पतालमा बित्ने गरेको हुन्छ ।
मधुमेहका बिरामी चाडबाडको समयमा चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्ता बिरामीले आलुको अचार, ड्राइफुड, जंक फुड, बोसो भएको मासु नखानु बेस हुन्छ । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सक्खर, तेलमा तारेका खाना वा बोसो जन्य उत्पादन आदि खानु हँुदैन । धुमपान र मद्यपान गर्नु हुँदैन । मधुमेहीले थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा कर्नफ्लेक्स, चाउमिन, गेडागुडी खान हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पति तेल थोरै खाने तर स्वास्थ्यको ख्याल गरेर ।
मधुमेहका रोगीले स्वस्थ मानिससरह हरिया सागसब्जी, करेला, काउली, गोलभेडा, इस्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुंगो, गाँजर, कागती आदि खान मिल्छ । यस्तै पेय पदार्थमा चिनी तथा घ्यु नभएका चिया, कफी, सुप खान सकिन्छ । खाना खानै परे पनि नियमित क्रियाकलाप र शारीरिक व्यायम पनि गर्न जरुरी छ । बाथका रोगी बाथ रोग भएकाहरूले चाडबाडको समयमा रेड मिट (रातो मासु) अर्थात् खसी, राँगा आदिको मासु र रक्सी खानुहुन्न । साकाहारी भए पनि गोलभेडा, पालुंगोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ । खानै परेमा थोरै मात्र खाने तर बिहान शारीरिक अभ्यास गर्ने ।
बाथ अव्यवस्थित खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना नखाने तथा मदिरा र धुम्रपान नगर्दा नै राम्रो हुन्छ । कलेजोका बिरामी विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तने हो । चाडबाडको समयमा खानामा ध्यान नदिँदा कलेजो बिग्रन सक्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ ।
रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । ऊर्जा खर्च भएन भने त्यो बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुन पुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । यसका लागि नियमित व्यायाम गर्न जरुरी छ । मुटुरोगका बिरामी नेपालीको भान्सामा पाक्ने खानेकुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन ।
दसैंको समयमा बढीजसो रातो मासुका परिकार बनाउने गरिन्छ, यो मुटु रोगीका लागि झनै हानिकारक हो ।
दसैंको समयमा बढीजसो रातो मासुका परिकार बनाउने गरिन्छ, यो मुटु रोगीका लागि झनै हानिकारक हो । मुटुका बिरामीले विशेषगरी चाडबाडको समयमा स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुराबाट पनि टाढा रहनुपर्छ । मुटुका बिरामीहरूले एक–दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु नै सबैभन्दा उत्तम उपाय हो ।
मिर्गौला रोगी दसैैंको सयममा नेपालीहरूले खाना होस् या खाजा; मासु छुटाउँदैनन् । दसैंमा मासुभात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसालेदार र अधिक चिल्लो भएका खानेकुरा बढी प्रयोग हुन्छ । यसका साथै मदिरा पनि अत्यधिक मात्रामा पिउने गरिन्छ । चिल्लो र मदिराको अव्यवस्थित खानपानका कारण मिर्गौला असन्तुलन हुन गई फेलसमेत हुन सक्ने सम्भावना रहन्छ । त्यस कारण मिर्गौला रोग लागिसकेकाले चाडबाडमा मासु र अत्यधिक चिल्लो खानु हुँदैन । सामान्य समस्या देखिएकाले पनि मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाको नियमित प्रक्रियामा असर पुग्न सक्छ ।
उच्च रक्तचाप मासुको परिकार धेरै चिल्लो हुने भएकाले उच्च रक्तचाप भएकाले यस्तो परिकार खानु हुँदैन । रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीलाई हानिकारक हुन् । यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा र माछा पनि धेरै नखाने, चिल्लो बढी भएका माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन ।
मेडिकल ग्यास्ट्रोलोजी, हेपाटोलोजीमा डिएम प्राध्यापक डाक्टर भट्टराई पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर) मुस्ताङचोक, पोखरामा कार्यरत हुनुहुन्छ ।
सम्पर्क ०६१५३५ ५६०, ९८०२८३२५६०