पोखरा ६ मा जलारीलाई बञ्चित गरिएको तालिम सकियो

पोखरा महानगरपालिका वडा नम्बर ६ को महिला सञ्जालको आयोजनामा भएको क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम बिहीबार सकिएको छ ।

महिला सञ्जाल वडामा कार्यक्रम सञ्चालनका लागि बनाइएको लुज फोरम हो । सो कार्यक्रममा सहभागी हुन गएका जलारी आमा समूहका प्रतिनिधिलाई जनप्रतिनिधि र सञ्जालका पदाधिकारीले फिर्ता पठाएका थिए ।

मंगलबार वडाकै कार्यक्रममा विभेद भोग्नु परेपछि जलारी समुदाय बुधबार डेलिगेसन गएको थियो । डेलिगेसन र दबाबपछि वडा कार्यालय भने महिला सञ्जालका सदस्यका लागि मात्र कार्यक्रम आयोजना गरेको भन्दै पन्छिन खोजेको छ । बिहीबार वडाध्यक्ष विष्णुबहादुर भट्टराईसहित पाँचै जना वडाका जनप्रतिनिधिले विज्ञप्ति निकालेर कुनै समुदायप्रति विभेद गर्न नखोजिएको जिकिर गरेका छन् ।

समापान समारोहमा पोखरा महानगरपालिका वडा नम्वर ६ को सहकार्यमा भएको तालिम समापन समारोहमा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए । उनले वडावासीको सेवा, सुविधाका लागि वडा कार्यालय सधै तत्पर रहेको जनाए ।

वडा सदस्य पवित्रा थापाले समाज परिवर्तनमा महिलाको ठूलो भूमिका हुने भएकाले महिलाको क्षमता अभिवृद्धि हुन आवश्यक रहेको जनाइन् । उनले महिलाका लागि महिला, विकासका लागि महिला, समाजका लागि महिला भन्ने नारालाई आत्मसात गर्दै महिलाको अर्थपूर्ण सहभागीताका लागि आआफ्नो तर्फबाट लाग्नुपर्ने जनाइन् ।

सञ्जालका अध्यक्ष बबिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा सहभागीको तर्फबाट धादिङ त्रिपुरा बाराही महिला समूहका सचिव रचना अधिकारी, बङ्लादी आमा समूहका उपाध्यक्ष शशी कार्की, मितरी नारी समूहका सचिव सरिता भट्टराई, नवोदित महिला समूहका उपाध्यक्ष पार्वती सुनार, बैदाम महिला समूहका अध्यक्ष उमा काफ्ले, सञ्जालका द्वितीय उपाध्यक्ष भगवती बाँनिया र सचिव रेणु लामिछानेले बोलेका थिए ।

३ दिनसम्म सञ्चालित तालिममा पोखरा वडा नम्बर ६ भित्रका विभिन्न आमा÷महिला समूहका ५४ जना सहभागी थिए । तालिमको सहजीकरण पत्रकार दुर्गा अधिकारीले गरेकी थिइन् ।