पर्यटनको राजधानी पोखराको मुख्य क्षेत्र लेकसाइडमै सोमबार जलारी समुदायले जातीय विभेद भोग्नुपरेको छ । फेवाताल किनारमा बसोबास गर्ने जलारी समुदायका महिलालाई पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भएको कार्यक्रममा सहभागितामा रोक लगाइएको हो ।
महिला सञ्जाल पोखरा ६ को आयोजनामा सोमबारबाट सुरु भएको उद्घोषण तालिममा सहभागी हुन गएका जलारी आमा समूहका प्रतिनिधिलाई जनप्रतिनिधि र सञ्जालका पदाधिकारीले फिर्ता गरिदिएका छन् । बबिता मल्ल सञ्जालकी अध्यक्ष छिन् ।
जलारी समुदायबाटै वडा सदस्य चुनिएकी शोभा जलारीले आफ्नो समुदायलाई पनि कार्यक्रममा सहभागी गराउन चाहेको तर सम्भव नभएको उल्लेख गरिन् । ‘वडाको कार्यक्रम भनेर पठाएको हो, जलारीहरु सञ्जालमा छैनन् भनेर सहभागी हुन मिल्दैन भनियो, अनि फिर्ता आउनूस् भनें,’ उनले भनिन्, ‘अहिलेसम्म जलारी समुदायलाई वडाका कार्यक्रममा सहभागी गराउन सकेकी छैन । यसरी त कसरी हाम्रो समुदाय अघि बढ्ला र ?’
वडा कार्यालयबाट कार्यक्रमको संयोजन गरेकी वडा सदस्य पवित्रा थापाले नियमानुसार नै जलारी समुदायलाई सहभागी नगराइएको दाबी गरिन् । वडा सञ्जालका सदस्य समूहका लागि मात्र तालिम दिने पूर्वयोजना भएको उनले दाबी गरे पनि सञ्जाल कुनै दर्तावाला संस्था होइन ।
वडाध्यक्ष विष्णुबहादुर भट्टराईले भने वडा सदस्यहरुबिच समन्वय नहुँदा समस्या आएको जनाए । पोखरा ६ मा १८ वटा आमा समूह थिए । केही महिनाअघि जलारी आमा समूह दर्ता भएको हो । अन्य जातका महिला सहभागी समूहहरुको सञ्जालले जलारीलाई घुमाउरो तवरले विभेद गरेको सरोकारवालाको आरोप छ ।
सोमबारको घटनापछि जलारी समुदायको टोली मंगलबार वडा कार्यालयमा डेलिगेसनसमेत गएको छ । पूर्वजनप्रतिनिधिसमेत रहेका अधिकारकर्मी धनबहादुर नेपाली पोखरा ६ को महिला सञ्जाल र जनप्रतिनिधिले जातीय विभेद नै गरेको बताउँछन् ।
उनी भन्छन्, ‘यो घुमाउरो तवरले गरिएको जातीय विभेद नै हो । महिला सञ्जाल कुनै संस्था पनि होइन, लुज फोरममा एक÷दुई जना जलारी महिलालाई सहभागिता गराउँदा केही फरक पर्ने थिएन । नियत राम्रो देखिएन,’ उनले भने ।