सकम्बरी गीतमा पारिजात स्मृति केन्द्रको आपत्ति

प्रकाश सपूतको हालै बजारमा आएको ‘सकम्बरी’ गीतप्रति पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ ।

केही दिनअघि गायक सपूतको यो गीत सार्वजनिक भएको थियो । केन्द्रले विज्ञप्ति प्रकाशित गरी साहित्यकार पारिजातद्वारा लिखित ‘शिरीषको फूल’का पात्रहरू सकम्बरी र सुयोगवीरलाई म्युजिक भिडियोमा देखाइएकोमा आपत्ति जनाएको हो।

‘पारिजात स्वयं नारी सशक्तीकरणका लागि लड्नुभएको व्यक्तित्व हुनुभएको व्यहोरासमेत स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रूपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासंगिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीति भिडियोमा देखाइएका पात्रहरूको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति पारिजात स्मृति केन्द्रको आपत्ति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

शिरीषको फूलकी सकम्बरीको चरित्रसँग कुनै तवरले पनि मेल नखाने पात्र उभ्याउनु, पुरुष पात्रलाई सुयोगवीर नाम दिनु र शिरीषको फूल पुस्तकसमेत देखाउनुलाई संयोगमात्र मान्ने नसकिने जनाउँदै केन्द्रले यसबाट प्रतिलिपि अधिकार पनि उल्लंघन भएको दाबी गरेको छ । विज्ञप्तिमा केन्द्रले गायक सपूतसँग दृश्य सच्याउनसमेत माग गरेको छ।