गाउँकी ‘फूलमाया’ लिएर आए सपूत (गीतसहित)

एकपछि अर्को सिर्जनामार्फत दर्शक, स्रोताको मन जितिरहेका गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो सकम्बरीयुट्युब ट्रेन्डिङ १ मा उक्लेको छ ।

बिहीबार प्रकाशकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोले छोटो अवधिमै करिब २३ लाख भ्युज पाइसकेको छ ।

गीतमा स्वर, शब्द र लय प्रकाशकै छ । स्वरमा प्रकाशसँगै वर्ता गन्दर्भ पनि सुनिएकी छन् । आफ्ना सिर्जनामा निकै मिहेनत गर्ने प्रकाशले त्यसमार्फत खास सन्देश प्रवाह गर्ने गरेका छन् । नयाँ म्युजिक भिडियोमा छोरीमाथिको विभेद अनि कलाकार बन्न चाहेकी विपन्न युवतीमाथि भएको यौन शोषण देखाइएको छ ।

श्रीमतीले छोरी मात्र जन्माएको भन्दै बुबाले दोस्रो बिहे गरेपछि आमा र बहिनीहरूको जिम्मेवारी वहन गरेकी युवतीको संघर्ष म्युजिक भिडियोमा देख्न सकिन्छ । अभाव र कमजोरीको फाइदा उठाउनेहरू जताततै रहेको यथार्थलाई गीतले उधिन्न खोजेको छ ।

हिरोइन हुन शहर पसेकी युवतीलाई कसरी प्रयोग गरिन्छ, उनीमाथि केके बित्छ गीतले देखाएको छ । गाउँमा उनको नाम फूलमाया थियो तर शहर पसेपछि उनी सकम्बरी बन्छिन् । यसमा फूलमाया र सकम्बरीबीच तुलना पनि गर्न खोजिएको छ ।

प्रकाशकै निर्देशन रहेको म्युजिक भिडियोमा उनीसहित कुसुम शर्मा, सुनील थापा लगायत कलाकार छन् ।