तीन गाउँको सहमतीपछि १० महिना बन्द मुक्तिनाथ खुल्यो

- मुक्तिनाथ दर्शन खुल्ला गर्ने निर्णयसंगै मुस्ताङ तथा जिल्ला बाहिरका पर्यटनकर्मी उत्साहित


जोमसोम—तीन गाउँको सामुहिक सहमतीपछि कोरोना कहरले १० महिनासम्म बन्द रहेको मुक्तिनाथ पुस २१ मंगलबारबाट दर्शनका लागि खुल्ला हुने भएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले वडा—१ को खिङ्गा ,झारकोट र रानीपौवा गाउँका बासिन्दासंग मुक्तिनाथ मन्दिर खुल्ने बिषयमा सहमती गरेपछि लामो समय बन्दाबन्दी रहेको मुक्तिनाथ खुल्ने भएको हो ।


मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति ,वारागुङ मुक्तिक्षेत्र गापा,जिल्ला स्वास्थ्य कार्यालय ,प्रदेश सभासद , सुरक्षा निकाय र पत्रकारको रोहबर समितिको बैठक बसेको थियो । सहमतीमा मन्दिरमा कार्यरत आनीझुमा तथा पुजारीले एक्येवद्धता जनाएका छन् ।
मुक्तिनाथ विकास समितिकी अध्यक्ष एवं प्रजिअ हिरादेवी र्पौडेलको अध्यक्षतामा सरोकारवाला निकाय सम्मिलित बृहत बैठकले अंग्रेजी नयाँ वर्षको दिन पुष २१ गते मुक्तिनाथ मन्दिर दर्शनका लागि खुल्ला गर्ने घोषणा गरेको हो । बैठकले सो अवसरमा विभिन्न ४ बँुदे निर्णय समेत गरेको छ ।समितिकी अध्यक्ष एवं प्रजिअ पौडेलले नया वर्षमा मुक्तिनाथ मन्दिर खुल्ला गर्ने महत्वपूर्ण सकारात्मक निर्णय भएको र यसले मुस्ताङको सकारात्मक सन्देश प्रवाह गर्ने दावी गरिन् ।

मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईने

बैठकको निर्णयमा मुक्तिक्षेत्रमा कोभिड—१९ कै कारण कोही स्थानीय गम्भिर बिरामी परेमा मुक्तिनाथ विकास समिति तथा कोभिड संकट व्यवस्थापन समितिको कोषबाट उपचारको व्यवस्था गर्ने ,मुक्तिनाथ आउने बिदेशी दर्शनार्थी तथा बिदेशी पर्यटकलाई पिसिआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथक्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा ,पुजारी ,सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड—१९ को जोखिम न्युनिकरण गराउन आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री तथा जनशक्ती उपलब्ध गराउन सम्वन्धित निकायले सहयोग गर्ने जनाईएको छ ।


राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै चर्चामा रहेको मुस्ताङंको प्रसिद्ध धार्मिक स्थल विगत १० महिनाअघि देखि कोरोना कहरले बन्द अवस्था रहँदा मुस्ताङको पर्यटनक्षेत्र धरासयी अवस्थामा रहेको थियो । मुक्तिनाथ मन्दिर गण्डकी प्रदेशकै आर्थिक समृद्धीको महत्वपूर्ण धरोहर रहेको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले बताए । उनले मुक्तिनाथ विकास समितिको पहलमा मुक्तिनाथ मन्दिर खोल्ने निर्णय स्वागयोग्य भएको बताए ।
मुस्ताङकी जिसस प्रमुृख छिरिङ ल्हामो गुरुङले मुस्ताङको मुक्तिनाथ मन्दिर अन्य जिल्लाको धार्मिक तथा अन्य पर्यटनसंग जोडिएकाले मुक्तिनाथ दर्शन खुल्ला गर्नुपर्ने बाध्यता आईपुरेको बताईन् । सरोकारवाला निकायबाट दबाब आएकाले मुस्ताङले यसमा पहल गरेको बताईन् । मुक्तिनाथ मन्दिर बन्द हुँदा मुस्ताङप्रति नकारात्मक सन्देश गएकाले सबैको सामुहिक सहमतिमा मुक्तिनाथ खुल्ला गरिएको जनाईन् ।
वारागुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ धाराले सन् २०२१ को सुभ दिनमा पवित्र मुक्तिनाथ धाम सर्वसाधारण तिर्थालुका लागि खुल्ला गर्ने निर्णय भएको बताए । उनले यसका लागि वारागुङ मुक्तिक्षेत्र र जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक स्वास्थ्य प्रोटोकल तथा जनशक्ती उपलब्ध गराउने जानकारी दिए ।
लामो समय देखि मुक्तिनाथ मन्दिर बन्द रहँदा हिमाली जिल्ला मुस्ताङ सुनसान थियो । कोभिड—१९ को जोखिमले अघोषित निषेधआज्ञा लगाईएको थियो । मुक्तिनाथ दर्शन खुल्ला गर्ने निर्णयसंगै मुस्ताङका स्थानीय तथा जिल्ला बाहिरका पर्यटनकर्मी उत्साहित भएका छन् ।उनीहरुले कोभिड —१९ थला परेको व्यवसायमा केही आशा पलाएको बताएका छन् । यस्तै ,जिल्ला बाहिरका पर्यटनकर्मीबाट समेत मुक्तिनाथ मन्दिर खोल्ने निर्णयलाई स्वागयोग्य कदम भएको प्रतिक्रिया आएको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथ ,होटल र अघोषित निषेधआज्ञा फुकुवा भएसंगै मुस्ताङमा आन्तरिक चहल पहल सुरु हुन थालेको छ । पर्यटकीय हिसाबले बेमौसम भएपनि हिउँमा रमाउने ,मुस्ताङको प्राकृतिक भुगोल अवलोकन गर्ने र मुक्तिनाथ दर्शन गर्ने पर्यटक वृद्धि हुँने स्थानीय पर्यटनकर्मीको अपेक्षा छ ।