कविता : कामना

यादका आँसुले बनाएको
भङ्गालहरुमा
मुछेर भरोसाको माटो
लगाई आशाको लिउन
अलिकति मिसाई विश्वास
रातो माटोलाई झन रातै बनाई
पोतेर चिटिक्क पारी
सिङ्गारिएको हुँ
मेरो आस्थाको घर ।

जहाँ बसेका छन्
अमूक ईश्वर
विभिन्न रुपमा
भिना भिनै रङ्गमा
तर
एउटै आस्थामा ।

मनको मझेरीमा
बालेर शान्तिको दीप
अखण्ड ज्वति
प्रज्वलित गरेकी छु
समेटी विश्व बन्धुत्वको भावलाई ।

आँगनभरि फुलेका
ती फूलहरुको
ओठको मुस्कान
पौंचो मागी
सयपत्री रङ्गको मसीले
गोदावरीको पत्रभरि
आत्मियताका भावहरुसँगै
यो अद्धीतिय, आत्मीय
प्रेम पत्र समर्पित गरेँ
सबै दिदीबहिनीको तर्फबाट
श्रद्धेय दाजुभाइहरुमा ।

गमलाबाट चिहाई
टुलुटुलती मलाई नै
निहालिरहेको
नओइलाउने
प्रतिज्ञा लिई बसेको
त्यो मखमलीसँग
मागेर नओइलाउने भरोसा
यही अक्षरभरि
समेटी पठाएकी छु
चिरञ्जीवीको कामना ।

फुटाएर
बिग्न, बाधाका ओखरहरु
त्यही ओखरसँगै
तिमी हिड्ने बाटाका
हर काँडाहरु
पन्छाई दिएकी छु मैले ।

नसुक्ने तेलको धारा जस्तै
अविरल अघि बढ्न
हर चुनौतीसँग लड्न
ईश्वरसँग कामना गरी
अचुक अस्त्र
आँट, हिम्मत
पठाएकी छु मैले ।

ती सप्तरी रङ्गि टीकाका
प्रत्यक रङ्गहरु
मंगल, एैश्वर्य, यश,
उल्लास, बौद्धिक्ता
आरोग्यता, शान्तिको
प्रतीक स्वरुप
पठाएँ यही भरोसामा
जीवन ईन्द्रेणीझै
सूर्यको
ती सप्त रङ्गि किरणझै
हर शुभरङ्ग मिश्रित
मंगलमय बन्ने विश्वासमा ।

मेरो झोलीमा भएका
हाँसो, खुशी अनि सुखका
फूलहरु चुनी
माला बनाई
पहिराएँ तिम्रो गलामा मैले ।

अनि मागेँ एउटै
बाचा
हर दाजुभाइसँग
उपहार स्वरुप
जोगाइदिन अस्मिता
सुरक्षित राख्न मान, समान
अनि पुज्न
ती आफ्ना घरका
लक्ष्मी, सरस्वती
अनि भगवतीहरुलाई ।