कविता : विधवाको पुकार

चारैतिर प्रीतिका गीत सुन्छु
तर मेरो प्रेमको फुलबारी भने उजाड भएको छ
मेरो यौवनको सुनौलो उपवनमा कहिल्यै वसन्त नआउने भएको छ
म बगरको ढुङ्गामुढाजस्तै भएकी छु
म सुकेको काठको ठुटाजस्तै भएकी छु
छातीभरिको प्रेमको धोको मेट्ने मलाई भने हक छैन
हे वतास, मेरो आँसुको उपहार लगेर मेरा खसमलाई सुनाइदिनु
ढकमक्क फूल फुल्ने यस धर्तीमाथि
कति उजाड छ मेरो यो जिन्दगानी
सुवासित यस धर्तीमाथि
कति मलिन छ मेरो यो जिन्दगानी
मलाई रून देऊ, मलाई नरोक,
मेरा अश्रुका एकएक धाराले मेरो मनलाई
स्वच्छ र हल्का बनाउने छ
न्याउली रूँदा मेरो मन पनि सँगसँगै रून्छ
बतासको वेगले मेरै मनको विरह बोल्छ
साउनको बाढीजस्तै उर्लिएको मेरो मनको वेगलाई
म कसरी शान्त पारूँ
हे आकाशमा गर्जेर हिँड्ने काला बादलहरू हो
विरहले पोलेको मेरो छातीको वेदना लगेर
दैवलाई सुनाइदिनु
जसले मेरो खसमलाई मबाट चुँडेर
धेरै टाढा लगेको छ
पुरूषप्रधान देशकी म नारी
पुरूषहरूले बनाएको संस्कार मैले बचाइदिनु छ
मैले घरको इज्जत बचाउनु छ
मैले माईतीको लाज राख्नु छ
पत्नी मर्दैमा पुरूषलाई केही फरक पर्दैन
पुरूष दोश्रो विवाहको लागि स्वतंत्र छ
हे प्रभु ! घाम लागेर के गर्नु ?
मेरो दिलभित्र निस्पट्ट अँध्यारो छ
छातीमा माया भएर के गर्नु ?
आज मेरो आत्मामा डढेलो लागेको छ,

हे दैव ! म कसलाई सुनाऊँ मेरो मनको वेदना
न सुनिदिने कोही छ
न बुझिदिने कोही छ
अब म दोश्रो दर्जाकी नारी
पुजाआजा र शुभ कार्यमा म नचल्ने भएकी छु
मैले मेरो सर्वस्व गुमाएँ
म अर्धाङ्गिनी
मैले आफ्नै मुटुको आधा टुक्रा गुमाएँ
फेरि पनि अपहेलित भएर
फलानाकी विधवा पत्नी भन्ने नाम लिएर
मैले जीवनभर पिल्सिएर बाँच्नु छ
हे मेरो हजुर ! तपाईंको र मेरो बीचको
यो सम्बन्धको नासो
म अब कसलाई बुझाउँ ?
मेरो पेटको कोपिला फक्रन नपाउँदै
पेटमै छँदा छोडेर जानु भो
म अब आफ्नो भावनाको वेग कसलाई सुनाऊँ ?

हे दैव !
न अब हाँस्न सक्छु म
न खुशीसाथ बाँच्न सक्छु म
तँ आफै भनी दे म के गरूँ ?