बालबालिकालाई संस्कारी बनाउन संयुक्त परिवार

सायद, परिवारको आवश्यकता हुदैनथ्यो भने मानिस अझै पनि ढुङ्गे युगमै हुन्थ्यो । सबै मानिसका लागि माया, ममता, दुखसुख, आवश्यकता, इच्छा, चाहना प्राप्त हुने स्रोत भनेकै परिवार हो । जुनसुकै मानिसको सफलता र असफलताका पछाडि परिवारको ठूलो हात हुन्छ ।

एउटै चुल्होमा पकाएर खाने, एउटै छानामुनि बस्ने ब्यक्तिहरुको समूह परिवार हो । बाबुआमा र छोराछोरी मात्र भएको परिवारलाई एकल र हजुरबा, हजुरआमा लगायत काकाकाकी, ठूलाबा, ठूलीआमा अनि उनीहरुका छोराछोरी समेतको परिवार संयुक्त परिवारमा पर्दछ । परिवारका सबै सदस्यले घरको नियम पालना गरेका छन्, आपसमा सहयोग आदनप्रदान हुन्छ, हरेक समस्या वा अप्ठ्यारामा सबैको साथ र सहयोग रहन्छ । सबै जना एकसाथ खाना खान्छन्, रमाइलो गर्छन् । चाडपर्व, उत्सव र जमघटमा सबैको सहभागिता रहन्छ । परिवारका सदस्यले आआफ्नो काम वा जिम्मेवारी सम्हालेका छन् । हजुरबा, हजुरआमाप्रति सबैको श्रद्धाभाव छ, बालबच्चाप्रति सबैको प्रेम छ भने यस्तो परिवार संसारकै सुखी परिवार र घर स्वर्ग जस्तै हो ।

हुन पनि परिवारमा सुख र मेलमिलाप छ भने जस्तोसुकै समस्याले पनि विचलित बनाउँदैन । परिवारको सुख यस्तो शक्ति हो, जसले हरेक सदस्यलाई सधै हँसिलो राख्छ । जाँगरिलो बनाउँछ । स्फूर्ति र उमंग कायम राख्छ । संयुक्त परिवारमा आमाबुबा, हजुरआमा, बाआमा, छोराछोरी रहन्छन् । परिवारका सबै सदस्य एकढिक्का भएर बस्नु नै संयुक्त परिवारको खास विशेषता हो ।

हजुरबा, हजुरआमाप्रति सबैको श्रद्धाभाव छ, बालबच्चाप्रति सबैको प्रेम छ भने यस्तो परिवार संसारकै सुखी परिवार र घर स्वर्ग जस्तै हो ।

हिन्दू सनातन धर्मले संयुक्त परिवारलाई श्रेष्ठ शिक्षण संस्थान मानेको छ । धर्मशास्त्रमा भनिएको छ, जुन घर संयुक्त परिवारको पोषक हुन्न, उनीहरुको शान्ति र समृद्धि केवल एक भ्रम हो । संयुक्त परिवारले नै घरमा खुसी र समृद्धि ल्याउने हो । संयुक्त परिवारमा रक्षा हुन्छ, सम्मान हुन्छ, संयम हुन्छ र सहयोग हुन्छ । संयुक्त परिवारबाट संयुक्त ऊर्जाको जन्म हुन्छ । संयुक्त ऊर्जाले हरेक दुःख नष्ट गर्छ । संयुक्त परिवार बढेर कुटुम्ब सम्बन्ध बन्छ । कुटुम्बको भावनाले सबै किसिमको दुःख मेटिन्छ । तर, आजको सामाजिक परिवर्तनले धेरै परिवारलाई टुक्र्याएको छ । संयुक्त परिवारको ठाउँमा एकल परिवार छ ।

बद्लिदो जीवनशैली र प्रतिस्पर्धाले तनाव एवं बेचैनी जन्माइदिएको छ । हुन पनि अहिले देशकाल, परिस्थिति त्यस्तै बन्न खोजिरहेको छ। कसैलाई बेरोजगारको कर, कसैलाई सहर बस्ने रहर, कसैलाई बालबालिकाको उज्ज्वल भविष्य बनाउने रहर अनि कसैलाई सहरमा बसेर आधुनिक जीवन बिताउने रहर। कर र रहरले गर्दा शून्य भएको गाउँघर उजाड भएसँगै शून्यताभित्र एकल परिवार जन्मिएको छ भने अर्कातर्फ सहर नै पसिसकेको संयुक्त परिवारमा पनि समय व्यस्तताका कारण वा अन्य विविध कारणले वृद्ध बाआमालाई वृद्धाश्रममा लगेर राख्न थालिएको छ । एकल परिवारमा बालबालिकाले बाबुआमावाट धेरै अपेक्षा गरे पनि समय अभावका कारण बाआमाले त्यो पूरा गर्न सक्दैनन् । फेरि छोराछोरीलाई समेत बोडर्स गर्ने चलन हुन्छ ।

संयुक्त परिवारबाट संयुक्त ऊर्जाको जन्म हुन्छ । संयुक्त ऊर्जाले हरेक दुःख नष्ट गर्छ ।

जबकी संयुक्त परिवारमा तनाव कम हुन्छ । एकअर्काको सहयोग, आड, भरोसाले जीवन सधै खुसीपूर्वक बित्छ । संयुक्त परिवारमा बालबच्चाको लालनपालन र मानसिक विकास पनि सही ढंगले हुन्छ । बुढाबुढीहरु सन्तुष्ट हुन्छन् । बालबच्चाले घर परिवारबाट अमूल्य संस्कार सिक्ने मौका पाउँछन् । जब हाम्रो परिवार मर्यादित हुन्छ, उत्तरदायी हुन्छ, सुखी हुन्छ, खुसी हुन्छ, तब हाम्रा सबै दुःख, कष्ट, पीडा, अभाव नष्ट हुन्छन् । त्यसैले परिवारसँग एकाकार भएर नै जीवनको सर्वोच्च खुसी प्राप्त हुन्छ ।

हरेक घरको आफ्नै संस्कार हुन्छ, चालचलन हुन्छ । त्यही संस्कारले नै परिवारलाई मर्यादित बनाउन सहयोग गर्दछ । परिवारका सदस्यले एक अर्कोलाई गरेको सम्मान र राम्रो व्यवहार देखेर मात्रै पनि बच्चाले धेरै ज्ञान प्राप्त गर्न सक्छन् । भनिन्छ, बालबालिकाको पहिलो पाठशाला घर हो । अनि त्यस्तै संस्कारमा हुर्केका बालबालिकाले व्यावहारिक, सांस्कारिक शिक्षा प्रप्त गर्दछन् । यही शिक्षा जीवनको अभिन्न अंग हो । शिक्षाले संस्कार भित्र्याउँछ । संस्कारले सभ्यता निम्त्याउँछ, सभ्यताले गुणस्तरीय जीवनको परिचय दर्शाउँछ । गुणस्तरीय जीवनमा सुखको अनुभूति हुन्छ । यही नै असल र सफल जीवनको अनुभव हो । अक्सर हजुरआमा, हजुरबाले आफ्ना सन्ततिलाई पारिवारिक संस्कारको पालना गराउँछन् । उनीहरु आफूले हासिल गरेको परिपक्व सीप, ज्ञान, अनुभव भावी पुस्तामा बाँड्छन् । परिवारलाई एकढिक्का बनाउनका लागि परिवारका सवै सदस्यको खास भूमिका रहन्छ ।

पारिवारिक धर्मले पनि सबै सदस्यलाई मर्यादित जीवन जिउनका लागि प्रेरित गर्छ । बालबालिकालाई शिक्षाभन्दा पहिला संस्कारको आवश्यकता हुन्छ । जहाँ संस्कार र सभ्यताको सुुरुआत हुन्छ, त्यहाँ शिक्षादेखि सफल जीवनको गोरेटो निर्माण हुन सक्छ । त्यसैगरी बढ्दो सहरीकरणले गर्दा बच्चाहरु धेरै संकोच र साँधुरो ठाउँमा सीमित भएर बस्नु पर्दा उनीहरुलाई सामाजिक, मानसिक, संवेगात्मक तथा चौतर्फी विकास हुन पाएको छैन । मानिस सामाजिक प्राणी भएकाले सामाजिकीकरणका कुराहरु पनि बच्चाले घरबाटै सिक्नु पर्दछ ।बालबालिकाको पहिलो पाठशाला पनि उसको घर हो । त्यसैले अरुलाई आदर सत्कार गर्ने, सहयोग गर्ने, मीठो बोल्ने, साइनो अनुसार नाता लगाएर बोल्ने आदि कुराको विकास संयुक्त परिवारबाट नै हुन्छ ।

जब हाम्रो परिवार मर्यादित हुन्छ, उत्तरदायी हुन्छ, सुखी हुन्छ, खुसी हुन्छ, तब हाम्रा सबै दुःख, कष्ट, पीडा, अभाव नष्ट हुन्छन् ।

अझै हजुरबा, हजुरआमा गाउँमै भएर संगै हुर्केबढेका बालबच्चा गाउँको जीवनशैलीसँग भिज्न पाउँछन् । हाम्रा परम्परागत रूपमा चल्दै आएका रहनसहन र जिउने कला प्रत्यक्ष अनुभव गर्न पाउँछन् । शहरिया जीवनसँगै हुर्केवढेका बालबालिकाको जीवनशैली पूरै परिवर्तन हुँदा भावी सन्तानले यसबारे प्रत्यक्ष देख्न नपाई यिनै कुराहरू पनि इतिहासको पानामा पल्टाउनुपर्ने पनि हुन सक्छ । सकभर हाम्रा असली प्रचलन यथावत् रहिरहे गाउँले जीवन यस्तो हुन्थ्यो रे भनेर भावी सन्ततिले इतिहासको पाना पल्टाउनु पर्दैनथ्यो ।

नेपालको परिप्रेक्ष्यलाई नियाल्दा अन्य उमेरका भन्दा पाको उमेर अझै भनौं वृद्धवृद्धामा धार्मिक र आध्यात्मिक भावना वढी हुन्छ । धर्मले मान्छेलाई विनम्र बनाउँछ । विनम्रताले एकअर्कामा सम्मान भाव पैदा गर्छ । एकअर्कामा गरिने आदर सम्मानले परिवारलाई सुखी तुल्याउँछ । त्यस्तै पुर्खाको सम्मान तथा कुल सम्बन्धीको ज्ञान पनि हजुरबा, हजुरआमामा बढी हुन्छ । हाम्रो परिवारको उद्गम कुुलले गराउँछ । आफ्ना पुर्खालाई हामी कुल मानेर श्रद्धा गर्छौं । संयुक्त परिवारको आधार हो, कुल, कुलको परम्परा, कुल देवता, कुल देवी, कुल धर्म र कुल स्थान । धर्मको अरु पनि कुनै केन्द्र हुन्छ, जसलाई सम्झिएर त्ससलाई सम्मान गर्नुपर्छ ।

बालबालिकालाई शिक्षाभन्दा पहिला संस्कारको आवश्यकता हुन्छ । जहाँ संस्कार र सभ्यताको सुरुआत हुन्छ, त्यहाँ शिक्षादेखि सफल जीवनको गोरेटो निर्माण हुन सक्छ । आधुनिकतासंगै शहरमा हुर्केका बच्चामा अभिभावकले सधैँ आफ्ना बालबालिकालाई खेल्ने, पढ्ने मनोरञ्जन गर्ने समय तालिका बनाएर बिशेष ख्याल गर्नु पर्दछ । मोबाइल ट्याब दिँदा एउटै समयमात्र निर्धारण गरिदिनु पर्दछ । मोबाइल, टिभीमा बालबालिकाले हेर्न लायक कुरा के कस्ता हुन्छन् भन्ने कुरा अभिभावकलाई जानकारी हुनु आवश्यक हुन्छ । त्यसैगरी बढ्दो सहरीकरणले गर्दा बच्चाहरु धेरै संकोच र साँधुरो ठाउँमा सीमित भएर बस्नु पर्दा उनीहरुलाई सामाजिक, मानसिक, संवेगात्मक तथा चौतर्फी विकास हुन पाएको छैन । मानिस सामाजिक प्राणी भएकाले सामाजिकीकरणका कुराहरु पनि बच्चाले घरबाटै सिक्नु पर्दछ । बालबालिकाको पहिलो पाठशाला पनि उसको घर हो । त्यसैले अरुलाई आदर सत्कार गर्ने,सहयोग गर्ने, मीठो बोल्ने,साइनो अनुसार नाता लगाएर बोल्ने आदि कुराहरुको विकास संयुक्त परिवारबाट अझै वढी हुने गर्छ ।

बढ्दो सहरीकरणले गर्दा बच्चाहरु धेरै संकोच र साँधुरो ठाउँमा सीमित भएर बस्नु पर्दा उनीहरुलाई सामाजिक, मानसिक, संवेगात्मक तथा चौतर्फी विकास हुन पाएको छैन ।

एकल परिवारमा रहेर पनि वर्तमान आधुनिकताले देख्दा भव्यमात्र हैन, सभ्य पनि बन्न सिकाओस् । जुन वातावरण केवल परिवारबाट मात्र सम्भव हुन्छ । बच्चाहरुलाई विज्ञान प्रविधि अभिशाप मात्र हैन, बरदान पनि हो तर सही सदुपयोग गरे मात्र बरदान हुन सक्छ । त्यसैले अभिभावकले सधैँ आफ्ना बालबालिकालाई खेल्ने, पढ्ने, मनोरञ्जन गर्ने समय तालिका बनाएर बिशेष ख्याल गर्नु पर्दछ । त्यसैले समय बदलिन्छ, परिवेश बदलिन्छ । विज्ञान र प्रविधि अघि बढ्दै जान्छ तर अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई संस्कृति, सभ्यता र संस्कार यही विज्ञान प्रविधि सँगसँगै दौडाउन सक्नुपर्छ ताकि प्रविधिले संस्कारलाई छल्न नसकोस् ।

बुबा, हजुरबुबाले फुर्सदमा विभिन्न ज्ञानमूलक श्लोक, कथा सुनाउने गर्दथे र आमा। हजुरआमाले संस्कार, संस्कृति तथा सामाजिक मूल्य मान्यताका कुरा सिकाउने गदर्थे । तर आजकल व्यस्त जीवनशैलीका अभिभावक अनि विज्ञान प्रविधिको बढ्दो प्रयोग बचेको समय मोबाइल, कम्प्युटर, ट्याब, ल्यापटप, रेडियो, टिभी आदिमा व्यस्त हुँदा कतै बालबालिकातिर ध्यान नगएको त हैन भन्ने भान हुन्छ । यथार्थमा भन्नु पर्दा त्यस्तै पनि देखिएको छ। यसैगरी सहरीकरण र आधुनिकताको प्रभाव र संस्कारको कमीको कारण सानो उमेरमा नै बालबालिका कुलतमा फसेको र अझ बढी फस्ने सम्भावना दखिन्छ । फेरि घरमा तथा विद्यालयमा बालमैत्री वातावरण भनेर छुट दिँदा बालबालिकालाई अनुशासनको दायरामा ल्याउन कठिन देखिन्छ ।

बाबुआमाले बालबालिकालाई प्रशस्त समय दिएर संस्कारी बनाउनु जरुरी छ ।