कविता : एकता

जब विपतका पहाडहरु हावाभन्दा तेज दौडिन्छन्
समस्याको सगरमाथा अग्लो हुन्छ
स्वराज्य स्वीकार गरिरहँदा रामराज्य जब लुटिन्छ
अभिमानको फेवा र रवाफको फोक्सुन्डो फुटेर
जब आमाको रातो सिउँदो पखाल्छ
कुदृष्टिको भाला जब दानवको हत्केलामा पर्छ
सौभाग्यका राता चुराहरु फुटेर यादका दलिन भत्किन्छन्
बिचल्लीमा पर्छन् जब बचेराहरु
तब हामी ग्लानिको थुक घुटुघुटु निल्छौँ
दर्जा, जात र वर्गबाट माथि उठेर
हामी हामी हुन थाल्छौँ
उर्लिएर आउँछ हामीभित्र मानवता
जब परिवर्तनका दुईचार तारा खस्छन्
लोभलाग्दा जूनहरु अस्ताउँछन्
सानो देखिन थाल्छ मानचित्रमा नेपाल ।

लगत्तै हाम्रो रगतमा माटो सल्बलाउँछ
र सिकी हाल्छौँ हामी हामी हुन
आखिर पाठशाला भनेकै सडक हो हाम्रालागि
उद्देश्य भनेकै आन्दोलन हो ।

जब जब हामी स्वाभिमान विहीन बनेर रित्तिनेछौँ
तब तब फेरि भन्ने छौँ हामी हामी हुनुपर्छ
शुरु हुनेछ फेरि उही श्रृङ्खला
आखिर अनिष्ट नहुँदासम्म
बुद्धिको घैँटोमा घाम लाग्दैन हाम्रो
देखेर हेरेर पनि सम्हालिन हामीले सिकेकै छैनौँ
अग्रीम सावधानी हाम्रो वशको कुरै होइन
सबै कुरा रित्तिएपछि, सबै कुरा सिद्धिएपछि
हामी जाग्छौँ हामीबीचको एकता जाग्छ
आखिर हामी हामी नै त हौँ ।