कथा : मनोबल

दयाराम बेहोस अवस्थामा थिए | घरका परिवार जन र छरछिमेकीहरु उनलाई घेरेर बसेका थिए | दयारामको श्रीमतीले चम्चाले दहि खुवाउने प्रयास गरिरहेकी थिइन् |दयारामलाई पाँचौँ चम्चा खुवाउदा मुस्किलले एक चम्चा निल्ने गर्दथे | कसैले बाण पसेको भन्दथे भने कसैले ‘आच्छु बाइ’ लागेको भन्दथे | दयारामको छोराले आच्छु बाइ भनेको के हो सोधे |

तिम्रा कान्छा हजुर बुबाले एउटा कुखुरा काटि भुत्लाएपछि आगोमा पोल्दै गरेका रहेछन् | त्यतिवेला उनको हातमा एउटा तीखो लाग्ने छुरी रहेछ | कुखुराको छाला पडकेर फुटदा आगोको फिलिग्नोले उनको गालामा पोल्न पुगेछ | छुरी समातेको दाहिने हात जोडले गालामा लैजादा छुरीले स्वास नली नै प्वाल पारेछ| अपाङ्ग एक्लै बस्दै आएका उनी छटपटाई छटपटाई मरेका रहेछन् । अहिलेकाले यस्ता कुरा पत्याउदैनन् | बाइलाई धुप धजा वली दिदैनन् भन्दै ठूलापाटे जैसीले निराशासाथ उत्तर दिए |

ठूलापाठेको घुडामा पचास वर्ष पहिले हुटिट्याउको अण्डा फुटालेको थियो रे | उनको त्यहि घुडा पखालेको एक गिलास पानी खान दिदा पेटको सुलको असह्रय पीडा निर्मुल हुने विश्वासको आधारमा उनको नाम चलेको थियो | दयारामका नजिकका छिमेकी सिताराम सिंदेल केहि अबेर गरि त्याहाँ आए | उनले मनोविज्ञान विषयमा डिग्री पास गरे पनि गाउँको आधारभूत विद्यालयमा करार शिक्षकको रुपमा काम गरिरहेका थिए | उनले केहि वढी नै रक्सी खाने गर्दथे | उनको नाम र आदतलाई मिसाएर सिसि उपनाम राखिएको थियो | उनी जाहाँ पुग्दथे वातावरणमा आफै रोचकता श्रृजना हुने गर्दथ्यो |

सितारामले दयाराम कहिलेबाट, के गर्दै गर्दा, कोसंग हुदा वेहोस हुनु भएको हो जस्ता धेरै प्रश्नहरु सोधे | दयारामको श्रीमतीले भन्दै गइन् – साँझपख भोलि गोठको दाति छाउनको लागि खरका साना मुठाहरु पार्दै हुनु हु न्थ्यो | म नजिकै धारामा भाडा माझ्दै थिए | उहाँ एक्कासि ‘अहो !’ भनेर खर फालेर ढल्नु भो | काइला बाबुलाई बोलाएर दुई जनाले समाएर यहाँ ल्याएका हौ | दसा लागेर हो ! त्यसपछि सिताराम लाइट बालेर सुटुक्क बाहिर निस्के | गोठको भनिएको ठाउँमा पुगि फालिएको खर ओल्टाइ पल्टाइ गरि हेरे | त्यहाँ ढाडबाट काटिएर सुकेको एक फिटजति लामो सर्प देखे | उनले त्यसलाई एउटा लठ्ठिले उठाएर केहि पर राखि एउटा कर्कलोको पातले ढाकि आफ्नो घर गए |

उनले आफ्नो चार वर्षिय छोरालाई पलाष्टिकको सर्पको खेलौना ल्याइदिएका थिए | त्यो खेलौना सर्प टुक्रा टुक्रा जोडिएर बनेको हुदा टाउको तिरको आधा भाग छुटाएर पहिले आधा सर्प भएकै खरमा राखि दिए | उनी फेरि दयारामको घरमा गए | त्यतिखेर भने दयाराम केहि बरबराउन थालेका थिए – सर्प —-खर काटदा —-सिरुले होइन —आदि | सिताराम ले भने -बच्चाहरु खेल्दा मेरो छोराले चुडिएको खेलौना सर्प खरमा लुकाएको रहेछ | दाइको बरबराईले अवश्य पनि त्यहि देखेर बेहोस भए जस्तो लाग्दछ |

दयाराम यो सुनेपछि पूर्ण होसमा आए| उनले आफु बेहोस हुनुको कारण भन्न थाले | म गएको असौजको तीन गते सामुदायीक वनमा खर काटन एक्लै गएको थिए | वन फुकाएको त चार गते हो काका हरिले भने | अ त्यस्तै हो, दयाराम केहि हच्कदै भन्दै गए | खर काटदै गर्दा सिरुले घोचेको थियो | पानीले पखाली घर आएर बातिले वेस्सरी पोलेको थिए | एक हप्तासम्म त खुट्टा सुन्नियो| आज दिउसो दातिका लागि खरका मुठा बनाउदै गर्दा ढाड काटिएको सर्प देखे |त्यतिखेर मलाई सर्पले नै टोकेको रहेछ भन्ने लाग्यो| त्यो सम्झेर बेहोस भएछु । त्यो त खेलौना सर्प रहेछ | मैले त राम्रेरी पनि हेरिन | धन्य प्रभु ! सितारामले व्यंग्यात्मक शैलीमा भने -दयाराम दाइलाई त्यतिखेर सर्पले टोक्दथ्यो भने आज ठीक छ महिना हुने थियो | यतिखेरसम्म छ महिनेको सुद्धाई सकिई सक्थ्यो होला |

त्यसपछि सबै जना गोठमा पुगे | पलाष्टिकको सर्प देखेर सबै छक्क परे |दयारामले ढाकेको कर्कलोको पात उठाउन खोजे | सितारामले वीचैमा रोक्दै भने -यो पात नउठाउनु होस् | कसैले फोहर गरेकाले ढाकेको होला |त्यो देख्नु भयो भने फेरि दाइ ढल्नुहोला | दयारामको कुकुर पनि सुग्दैं त्यो पातनिर पुग्यो | कुकुर एक्कासि तर्सेर भाग्यो | सितारामले भने – दयाराम दाइ र उहाँको कुकुरको मनो बल मान्नै पर्छ ! कतिले कुरा बुझेर कति सोरसोरैमा खल्लो हाँसो हाँस्दै एक अर्कोको मुखमा केहिक्षण हेराहेर गरिरहे |