कविता : नेता भएछ

अदालतको तारेख धानेझैं
कहिलेकाहीँ आउँथ्यो
न किताब ल्याउँथ्यो
न कापी ल्याउँथ्यो
न पढ्नै जान्दथ्यो
न लेख्नै जान्दथ्यो
मार्ने गोरुजस्तो
जसलाई भेट्यो उसलाई हान्थ्यो

डेरोडेरो घोइरोघोइरो
अचम्मको डिंगोजस्तो

न आमाका कुरा खान्थ्यो
न बाबुले भनेको मान्थ्यो
न मास्टरले सम्झाएको सम्झिने गर्थ्यो

छुरी बोक्थ्यो
छुरी रोप्थ्यो

त्यो मेरो साथी
हाइस्कुल सँगै पढेको साथी
एसएलसीमा छपटक फेल भएपछि
खेत बेचेर सर्टिफिकेट खरिदेपछि
कलेज भर्ना भएको साथी
हुलदंगा गरेकाले
कलेजका रेलिङ्ग र बार फोडेकाले
सडकका ट्याक्सी र
बस जलाएका ले
कलेजबाटै रेस्टिकेट भएपछि
अहिलेसम्म भेट नभएको साथी

हिजो एकाएक
राष्ट्रिय टेलिभिजनमा
इन्टरभ्यू दिंदै गरेको देखें
`विश्वको म पनि महान् नेता हुँ´ भनेको सुनें
दङ्ग परेर
गम खाँदैखाँदै
आँखा च्यातीच्याती हेरें

लाग्यो
गुदी न सुदीको उसको बुद्धि
यो देशको जेथा भएछ
अक्कल न सक्कलको
मेरो साथी
यो देशको नेता भएछ !!