मुस्ताङी स्याउमा स्क्यापको प्रकोप


स्याउका बोट र फलमा स्क्याप रोग संक्रमण देखिएसंगै मुस्ताङका किसान यति बेला चिन्तित बनेका छन् ।

लगातारको अविरल वर्षाका कारण स्याउ बगैचामा स्क्याप रोग देखा परेको मुस्ताङका किसानले बताएका छन् । स्याउ उत्पादनमा प्रसिद्ध मुस्ताङको घरपझोङ गाउपालिका—४ मार्फा र थासाङ गाउपालिका—१ र २ वडाको टुकुचे ,सौरु र कोवाङ लगायतका स्थानमा स्क्याप रोगको संक्रमण देखिएको हो ।

भारी वर्षाले स्याउको बोट र फलमा यस प्रकारको संक्रमण फैलिएको शेर्पा नर्सरी टुकुचेका राजन शेर्पाले जानकारी दिए । स्याउमा स्क्याप रोग लागेपछि स्थानीयको स्याउबारीमा स्याउको पात झर्दे उजाड देखिने, स्याउका दानामा टिकटिके दाग देखिने, पत्ता खुम्चिएर सेता ढुसी लाग्ने र फलको गुणस्तरमा समेत ह्रास आउने शेर्पा बताउँछन् ।

टुकुचेका अर्का किसान निरज तुलाचनले स्याउ बगैचाको हेरचाह, व्यवस्थान र विभिन्न संक्रमण फैलिन नदिन आवश्यक सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार स्याउ बगैचा व्यवस्थापनमा ध्यान पुग्न नसकेको र विभिन्न रोग निर्मूल पार्न बिषादीको सञ्चय गर्न नसकिएकाले यस पटक किसानले ठूलो घाटा व्यवहोर्नु पर्ने अवस्था आएको हो ।

‘स्याउमा स्क्याप रोग देखा प¥यो । स्याउका बोटमा ठुलो क्षति पुगेको छ,’ स्याउ किसान तुलाचनले भने ‘स्याउमा फल लागे पनि गुणस्तरका छैनन् ,२ तिहाई स्याउ नष्ट हुने अवस्था छ ।’

मुस्ताङका स्याउ बोटमा स्क्याप रोग लागेपछि बोटहरु आर्कषण विहीन छन् । लटरम्म स्याउले थेग्ने नसकिने स्याउ बोटमा संक्रमण देखिएपछि स्याउको फल खोक्रो र फुस्रो देखिएको मार्फाका किसान दीपक लालचनले जानकारी दिए । उनका अनुसार यस पटक कोरोना भाईरसको माहामारीले सिर्जित लकडाउन र बेनी—जोमसोम सडकमा ठाउ ठाउमा गएको बाढी/पहिरोले किसानले स्क्याप रोकथाम गर्न बिषादी खरिद गर्न नपाउँदा क्षति व्यवहोर्नु परेको हो ।

यस वर्ष मुस्ताङका किसानले स्क्याप रोगका कारण करोडौंका घाटा व्यवहोर्नुपर्ने देखिएको छ । मुस्ताङमा बर्सेनि स्याउ बगैचा ठेक्का लिन जिल्ला बाहिरका व्यापारी मुस्ताङ आउने गर्छन् । सधैजसो भदौको पहिलो साता स्याउको बैनापट्टा लगाएर भदौको अन्तिम र असोजमा स्याउ टिप्न व्यापारी किसानको बगैचामा पुग्छन् ।

स्याउको पात झर्दे उजाड देखिने, स्याउका दानामा टिकटिके दाग देखिने, पत्ता खुम्चिएर सेता ढुसी लाग्ने र फलको गुणस्तरमा समेत ह्रास आउने

तर, यस पटक स्क्याप रोगकै कारण मुस्ताङका किसानको स्याउ बगैचामै कुहिने भएको छ । टुकुचेका किसान सुपत थकालीले भने, ‘यसपटक स्याउमा पूरै दाग लागेको छ । स्याउको अवस्थाले बिक्री गर्न कठिन छ ।’ थकालीका अनुसार यस वर्ष थोरै भएको उत्पादन पनि सडक दुरावस्थाका कारण बजारीकरणमा समस्या पर्ने देखिएको हो ।

पछिल्लो समय मुस्ताङमा १५ सय हेक्टरमा स्याउ बगैचा बिस्तार भएको छ । जसमध्ये करिब ५ सय हेक्टर जमिनमा लगाएको स्याउ बोटले फल दिने गरेको छ । गत वर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

फाइल तस्बिर मुस्ताङका बगैचामा लटरम्म स्याउ । तस्विर : दीपक लालचन, मार्फा