क्यानभासमा
कोर्दै जाँदा
एउटा अमूर्त आकृति
बन्न पुग्छ एउटा सुन्दरीको चित्र
रँग थप्दै जान्छु
निखारता ल्याउँदै जान्छु
र पनि केही खालिपन
केही खल्लोपन भेटिरहन्छु
अन्तिममा
ब्रस मेरो कालो कपालमा बेस्कन घोटेर
लगाइदिन्छु गाजल
ताजा गुलाफको रंग निचोरेर
बनाइदिन्छु कुचीले गुलाबी ओठ
तस्विर सुन्दर देखियो
तर पनि खै के नपुगे
के नपुगे जस्तो लागिरह्यो
प्रयोग स्वरुप ?
मेरो रातो रगतमा
मेरै छाला कोतरेर निस्केको पहेँलो रँग मिसाएपछि
बन्यो सिन्दुरे रँग
र भरिदिएँ सिउँदो
र पूर्ण बन्यो एउटा मूर्त तस्बिर
खुसीले ऊफ्रनु पर्थ्यो म सायद
तर खङ्रङ्ग भएँ यो सम्झेर कि
हुस्सु म
रँगाइदिएछु उनको सिँउदो
सोच्दै नसोची
उनी कुमारी थिइन् कि
वा कसैकी विधवा पो थिइन् ?




