कथा : सामाजिक र भौतिक दूरी

नन्दकुमारी र पार्वतीलाई कोरेन्टाइनबाट छुटाउनै गाह्रो पर्यो । तिनीहरुवीच छोटै समयमा सामाजिक दूरी सकिएको थियो । यी दुबैको कथा व्यथा मिल्दोजुल्दो थियो । दुबैलाई परिबन्धले यो ठाँउमा ल्याएको थियो ।

नन्दकुमारीलाई भौतिक कुराको कुनै कमी थिएन । उनका एउटा छोरा र एउटा छोरी थिए । पतिको मृत्युपछि उनी एक्लै घरमा बस्दथिन् । छोरीले घर आएको बेला एउटा केटी खोजी मुखबोलाको लागि राखिदिएकी थिइन् । केहि महिनापछि नै चोर्ने र अल्लारे केटा जम्मा हुने कारणले काटीलाई फर्काइएको थियो ।

नन्दकुमारीको नजिकका भन्ने उनका देवर थिए । देवर जुवाडे र भतिजो दुव्र्यसनी भएकाले उनीहरूबाट चोरीको भय भैरहन्थ्यो । सहयोगको निहँुमा देवर र उनका छोराले सम्पत्ति राखेको ठाँउ पत्ता लगाउन कोसिस गरिरहेका थिए ।

कोरोना भाइरसको कारणले बन्दाबन्दी चल्यो । तर देवर र भतिजोको आवतजावत बाक्लिदै गयो । तिनीहरू आउदा कोरोना भाइरस आए जस्तै उनलाई लाग्दथ्यो । तिनीहरू घरतिर आए भने नन्दकुमारीले कृतिम लहरे खोकी खोक्न र कपासको बत्ती नाकमा घुसारी छिग्न थाल्दथिइन् ।

भतिजा चलाख थिए । उनी लुकेर जेठी आमाको चियो गर्न थाले । बनाबटी खोकी भएको पत्ता लगाए । उनले जेठी आमालाई कोरोना भएको छ भनी लगातार खोकेको भिडियो सबैलाई देखाईदिए । सरकारले सबैलाई घरभित्रै बसी सामाजिक दुरी कायम गर्न भने पनि केही व्यक्ति जोखिम मोलेर कोरोना विरुद्ध लडिरहेका थिए । केही व्यक्ति नन्दकुमारीको घरमा आई उनलाई कोरेन्टाइन स्थलमा बलपूर्वक पुर्याए ।

भतिजो खुसी भयो । त्यो ठाँउमा पार्वती र अरु चार जना पहिल्यैदेखि थिए । नन्दकुमारीको सम्पर्कमा आएका मानिसको खोजी हुन थाल्यो । पहिलो सूचीमा उनका देवर र भतिजो परे । तिनीहरूलाई सुरक्षाकर्मी समेतको सहयोगमा दोस्रो दिन त्यहाँ ल्याइयो । सबैको स्वब संकलन गरी परीक्षणको लागि कोरोना अस्पतालमा पठाइयो । नतिजा आउन पाँच दिन कुर्नुपर्ने थियो ।

कोरेन्टाइनमा बसेको भलिपल्ट राति भतिजो सुटुक्क भागे । उनी ठूली आमाको घरमा पुगी मदुसको भोटे चापि ढुङ्गाले फोर्न थाले । दैनिक खाइलाइ एक हजार भत्ता खाने सर्तमा बसेका हेरालो कुरुवाले त्यहाँ रहेका मानिसको टाउको गन्दा एक जना कम भएको पाए । त्यसैले सोको खबर प्रहरी र वडाध्यक्षलाई गराए । प्रहरी र जनप्रतिनिधि भगौटालाई खोज्ने क्रममा नन्दकुमारीको घरमा पुगे ।

उनलाई सामाजिक दुरी टाढा र भौतिक दुरी नजिक गरेर पक्राउ गरियो । फोडेको मदुसको मुचुल्का उठाइयो । त्यहाँ बैक लकर गरिएको पन्ध्र तोला सुनको र मुद्दती खातामा बीस लाख रुपैयाँ राखेको बैंक रसिद फेला परे । पाँच पाना सेतो कागजमा टाइप गरिएको कागजात पनि फेला पर्यो । त्यो कागजको सुरुमै लेखिएको थियो ( दुव्र्यसन सुधार केन्द्रको विधान ।

स्वब परीक्षणको नतिजा आयो । नन्दकुमारीका देवर र भतिजाको पोजेटिभ र बाँकी सबैको नेगेटिभ थियो । संक्रमित दुई जनालाई कोरोना अस्पतालमा र अरु सबैलाई आआफ्नो घर पठाइयो । छोटो समयमै जागिर सकिएकोमा हेरालो पनि गह्रौं मन गरी घर फर्के । नन्दकुमारी घर आएपछि मात्र घरमा चोरिको प्रयासको घटना भनिएको थियो । उता, नन्दकुमारीको भतिजोलाई कसरी कोरोना भाइरस स(यो भन्ने बारे निधिखुदी गरियो ।

दश दिनअघि भट्टिमा भौतिक दुरी कायम गरी रक्सी खाइ घर फर्कदै गर्दा एक जना अपरिचितले तानिरहेको चुरोट मागि उनले आफ्नो चुरोट सल्काएका थिए । साँझ नन्दकुमारी जापानमा रहेको छोरा र अष्टेलिया भएकी छोरीसंग एक सय रुपैयाँको डाटा लिएर ग्रुपमा मोबाइलबाट हेराहेर गरी कुराकानी गरिन् । त्यसपछि उनीले सामाजिक र भौतिक दुरी, भतिजो र देवर, पार्वती र हेरालो, छोरा र छोरी, प्रहरी र जनप्रतिनिधि, बैंकको सम्पत्ति र आफ्नो योजना, कोरोना र विज्ञापन सबैलाई एकै ठाँउमा मिसाएर केही क्षण मन्थन गरिन् ।

मालिक्नीलाई छ दिनसम्म नदेखेको क्याप्टेन कालेले बिस्तारै पुच्छर हल्लाउँदै उनीलाई र नन्दकुमारीले पेट सेपिएको कालेलाई केहीक्षण हेराहेर गरि रहे ।