इतिहास मेटिन लाग्यो (कविता)

सुन्नेलाई कथा लाग्छ भोग्नेलाई व्यथा
देख्न भोग्नै नपर्नेले भनिदिन्छ केथा
यो कथा व्यथा कै समय हो ।
समयले भयको घाउ बल्झाइरहेछ
फेरि ।। १।।

राहतको नाममा
आहत आइरहेछ यहाँ
सट्टामा खाइरहेछ
पुर्खाले आर्जेको भूमि
आमा ! म कसरी पत्याऊँ
तिम्रो नसामा अविरल बग्ने
नदीहरुको लिलामी भइसक्यो रे ।।२।।

पैताला हुँदै
तिमीमाथिको शोषण
अहिले छातिमा डोजर चलाएपछि
पुनः बल्झिएको छ ।
रक्षकहरु नै भक्षक भएपछि
के लाग्छ र जननी ?
तिम्रो अस्तित्व जोगाउने सपथ खानेहरु
सत्ता, शक्ति र सम्पतिमा
अल्झिएका छन् ।।३।।

१२ वर्षमा खोलो फर्कन्छ भन्थ्यौ
तर यहाँ त
वर्षौँ अघि गुमाएको
केही फिर्ता भएको छैन
यो मिचिएको नभइ
कुर्सीमा अल्झिएकाहरुद्वारा
बेचिएको भान हुँदैछ, जन्मभूमि
सायद हामीलाई भ्रममा पारिएछ क्यारे ! ।।४।।

सन्तानको ममतामा चुर्लम्म डुबेकी
तिमीलाई विश्वास नलाग्न सक्छ
आफ्नै सन्तानले
कसरी यस्तो गर्न सक्छ ?
तर आमा
सत्ता अन्धो हुँदो रहेछ
उसले आफू बाहेक केही सोचेन ।
तिम्रा छातिमा बुट बजारिँदा
असह्य भएको छ आमा
भोलि घाँटि थिचेर
शिर मेरो हो भन्न
उसले के बेर ? ।।५।।

कहिले सन्तान कै लडाइँले
आजित भयौ
सन्तान गुमाउँदाको पीडा कति सह्यौ
धर्ति बनेर कति सहन्छौ तिमी
विद्रोहको ज्वालामुखी
जगाउन सक्ने
वीर भक्ति, बलभद्र र भीमसेन
पुनः बन्न आदेश देऊ आमा
वीरता र स्वाधीनताको
इतिहास मेटिन लाग्यो ।।६।।

 gkfriend8@gmail.com