कविता : झण्डाको माया

सानो हँुदा गोठालो जादा गाईबस्तु चराउदा
को हो भन्दै कोईली चरी वनभित्र कराउदा
मेरो साथ हुन्थ्यो सधै चन्द्र सूर्य मेरो झण्डा
फहराउथे उठाई माथिमाथि आफ्नै शिरभन्दा ।

घास काट्दा भीर पाखा एकान्तमा डराउदा
गाईको बाच्छा सल्लाघारी भञ्ज्याङमा हराउदा
जय भन्दै मेरो झण्डा उठाउथे माथिमाथि
डर भाग्थ्यो क्षणमै आउथे हराएका पाठापाठी ।

उमेरसँगै झण्डाको माया झ्याङ्गियो लहराउदै
स्कुल, कलेज पढन पुगें हातमा झण्डा फहराउदै
अमर रहोस् झण्डा मेरोे चन्द्र सूर्य हुँदासम्म
माथी उठिरहोस् सधै आकाश त्यो छुँदासम्म ।

आज मैले देशको झण्डा बिदेशमा फहराउछु
जहाँ पुगु संसारमा मेरो झण्डा लहराउछु
आश गर्छु अन्तिम सास म यही झण्डा हेरी मरुँ
तर शंका गर्छन् मलाई हिजो झण्डा च्यात्नेहरु ।