सामान्य थियो जनजीवन हाँसिखुसी रह्यो
आयो छ रे कोभिड भन्थे तरङ्गमै भयौं
संसार ध्वस्त पार्दैछ रे कस्तो भाइरस हो यो
अनिश्चित लकडाउन छ, त्यो पनि त सह्यौं ।
सुन्यामात्रै होइन हजुर, छिर्यो नेपाल पनि
विदेशीले ल्याए भन्छन् संक्रमण त्यो गनी
बढ्दै गए संक्रमित, मर्नेको सङ्ख्या पनि
संसारलाई नै त्राहिमाम पार्ने विपत छ नि ।
हात धुने साबुनले, मुखमा माक्स लगाऔं
दूरी कायम गर्दै बसौँ, भीडभभाडमा नजाऔं
सानिटाइजर प्रयोग गरौँ, नमस्कार गरौँ
हात मिलाउने नगरौँ भो, आफ्नै संस्कार सजाऔं ।
सचेत बन्दाबन्दै भाइरस पस्यो आँफैभित्र
रुघाखोकी,ज्वरो आउनु होइन विचित्र
भाइरल ज्वरो निको हुन्छ भन्दै ढुक्क भैयो
हो कि कोभिड भन्दै मनमा बन्न थाल्यो चित्र ।
पहिलो दिनमा घाँटी दुख्यो, टन्सिल हो कि भन्यौं
निको होला भन्दाभन्दै ४÷५ दिन गन्यौँ
खोकी पनि सुरु भयो, ज्वरो आउन थाल्यो
एन्टिबायोटिक खाँदाखाँदा शरीरमात्र गाल्यो ।
१२/१५ दिन हुँदा नि छैन छाँट निको हुने
अब शंका भयो कोरोनाको, मलाई कसले छुने
साह्रौ गाह्रो हुँदोरैछ, श्वासप्रश्वासमा बाधा
असह्य त्यो पीडा सहँदै बसेँ, मसँगै को रुने ?
जित्छु भन्थेँ कोरोनालाई साहस ठूलै थियो
पीडा खप्न गाह्रो हुँदा अाँटै हराइदियो
कुरा खेल्यो मनैभरी अब के होला खै
मनले पनि किन फेरि नराम्रो सोच लियो ।
कसरी काट्ने क्वारेन्टायन, आइसोलेसनको वास
देख्न पाउँदैनन् रे आफन्तले मरे पनि लास
अंगालोमा बेरी रुन पाउँदिनौ कि आमा ?
संक्रमण बढ्दै गए हुनसक्छ स्वर्गतिर बास ।









