जेठ ८ गते २०७७

ताजा समाचार

जेठ ८ गते २०७७

मुस्ताङको थासाङमा सबै गतिविधि बन्द, अवज्ञा गरे कारवाही



मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाले पछिल्लो समय कोरोना भाईरसको जोखिम बढेको भन्दै पालिका भित्रका ५ वडामै सबै गतिविधि संञ्चालन नगर्न निर्देशन गरेको छ ।

सरकारले लकडाउन गरे पनि यसलाई थप कडाई गर्न आवश्यकता रहेको उल्लेख गर्दै बुधबारदेखि पालिकाभित्र कुनै गतिविधि गर्न नपाईने भएको छ । गाउपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनद्धारा हस्ताक्षरित बुधबार जारी प्रेस बिज्ञप्तीमार्फत गाउँपालिका भित्र स्वास्थ्य सेवाबाहेक कुनै कार्य गर्न नपाईने उल्लेख छ ।

पालिकाले कार्यालयको नियमित गतिविधि, पालिका अन्र्तगतका कार्यालयका गतिविधिका साथै पालिकाभित्र कुनै पनि विकास तथा सामाजिक विकास लगायतका कामकाज संञ्चालन नगर्न निर्देशन गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए ।

अर्को सूचना जारी नभएसम्म पूर्ण रुपमा पालिका भित्र गर्ने कामकाज बन्द गर्ने घोषण गरेको प्रशासकीय अधिकृत खत्रीले बताए। उनका अनुसार बैङ्क तथा वित्तिय संस्था बन्द गर्ने तर आपत्कालीन सेवा आईपरे आकस्मिक सेवा दिन सक्ने जनाए । पालिकाले सरकारले लकडाउन गरेको र पालिकाको निर्णय डबल लक (बन्दाबन्दी)को रुपमा बुझिदिन अनुरोध गरेको छ । पालिकामा रहेका स्वास्थ्य संस्थाले गर्ने कामकाज यथावत रहने प्रशासकीय अधिकृत खत्रीको भनाई छ।

विश्व व्यापी महामारीको रुपमा सिर्जित नोवल कोरोनाका कारण पछिल्लो समय संक्रमितको संख्या दिनहु बृद्धि हुदै गएकाले कोरोनाबाट जोगिन पालिका सचेत रहेको बिज्ञप्तीमा उल्लेख छ ।
मुस्ताङमा हालसम्म कोरोना संक्रमित व्यक्ति नभेटिएको तर जिल्लामा कोरोनाको जोखिमबाट जोगिन पूर्ण सुरक्षित रहने अवस्था नभएकाले सर्वसाधारणलाई आउजाउ गर्ने, व्यापार व्यवसाय गर्ने र अन्य क्रियाकलाप गर्न सक्ने अवस्था नदेखिएको विज्ञप्तिमा जनाइएको छ ।

पालिकाले कोरोना कहरका कारण उब्जिएको लक डाउनलाई पालना गर्न स्थानीयबासी घरभित्र बस्न अनुरोध गरेको छ । लक डाउन निर्देशनको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने जनाईएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।