२०२० ईसं को अप्रिल महिना हो यो । म अमेरिकाको सान मार्कोस सहरमा बसेको छु । कोरोनाको लक डाउन मेरा अगाडि छ । त्यसैले जाहिर छ म कोठामा स्वःबन्दी छु । ममात्र होइन, संसार लक डाउन छ । संसार बन्दी भएको छ । जिन्दगीका दलानमा म जस्तै मान्छेहरू पनि यसैगरी बास बसेका छन् । भोलि कस्तो आउने हो कसैलाई थाहा छैन । यति खेर मलाई ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भन्ने गीत दिमागभरि आइरहेछ । र यसको उत्तर पनि मान्छेलाई थाहा छैन । कम्तिमा मलाई थाहा छैन ।
बास बस्दा सिर्जिएका तन्तुमन्तु लान पाउने कुरा होइनन् । यो आफ्नो कथित सृष्टि यतै छोडेर जानुपर्छ । समयका गर्तमा यो बिलीन भइहाल्छ । यो बेला ममा दुई कुरा आएका छन् । पहिलो, अनित्य चोला बोकेको मान्छे हुँ म र म प्यासिभ हुन खोज्छु । एउटा आध्यात्मिक वा भौतिक सूत्र समातेर थन्किन खोज्छु । किनकि मलाई थाहा छ कि जति कुदे पनि कहीँ पुगिन्न । र दोस्रो, तत्क्षण अर्को जब्बर सोच आउँछ कि अनित्य र नासवान जीवन छ मेरो । र त मैले छिटोछिटो हिँड्नु छ । हिँडिरहनु छ । अनवरत यात्राको नाम हो जिन्दगी । जीवनसँग थाक्नु छैन । थकाइ बाधा हो जीवनको । केही त गरूँ जगतका लागि । जगतका लागि होइन, मेरै लागि । म बाँचेको छु भन्ने बोधका लागि । त्यसैले म एक्टिभ भएको छु । र त यो कोरोनाको त्रास पनि सनातनीय देख्दैछु । र कम्प्युटरका किबोर्डलाई छिटो छिटो थिचिरहेको छु ।
अनवरत यात्राको नाम हो जिन्दगी । जीवनसँग थाक्नु छैन । थकाइ बाधा हो जीवनको । केही त गरूँ जगतका लागि । जगतका लागि होइन, मेरै लागि ।
र पनि परपर हेर्दै छु । कोठाको झ्यालबाट आकाशतिर फर्केर हेर्दैछु । अक्सर म सेन्टी भएको बेला आकाशतिर नै हेर्छु । अनवरत चम्किरहेका ताराहरूलाई हेर्छु । यतिखेर आकाश बादल फाटेर एकदम निलो छ । निरपेक्ष निलो आकाशभित्रको शून्यता र स्तब्धतालाई एकनासले हेरिरहेको छु । हेरिरहेको छु । मलाई थाहा छ कि यो हेराइमा केही दम छैन । केही उपलब्धि छैन । खासमा केही प्रयोजन पनि छैन । कारण पनि छैन । र पनि किनकिन यो निलो आकाशको गहिरो निरवताले मलाई स्वाट्ट तानिहाल्छ । मलाई विज्ञानले भनिदिएको छ कि यो देखिने आकाश एउटा भ्रम हो । तर पनि जब म निलो आकाशलाई हेर्छु एउटा गम्भीर भाव निस्कन्छ र त्यसको गम्भीरतामा एकछिन हराउँछु । निलो आकाश भ्रम हो कि सत्य हो भन्ने बारेमा बोल्ने दर्शन पनि बिर्सन्छु ।
हो यही गम्भीर, शान्त, निलो आकाशलाई नियालिरहँदा मेरा दिमागभरि कोरोना भाइरसले विश्व–नक्सामा बनाएका राताम्य हुँडार तस्वीरहरू आइरहन्छन् । मानव–आकृतिहरू सललल आइरहन्छन् । ती मानव आकृतिमा कोरोनाको सिकार भएका, बाचेका संसारभरिका मान्छेको काल्पनिक तस्विर देखिरहेको छु । तिनमा आएको आतङ्क अनुभूत गरिरहेको छु । ती विश्व–मानव आकृतिहरूमा नेपाली मिसिएका छन् । र त म झन् विह्वल भएको छु ।
विश्वभरिका मानव लास गन्दै आएका कोरोना आक्रमित तथ्याङ्कमा पुग्छु । अहिले म एउटा निस्तब्ध आतङ्ककारी रातको कब्जामा छु । कहर लाग्दो दिनको कब्जामा छु । समयको परिवेसीय कब्जामा छु । मान्छेको चेत, कोरोनाको कहर र विज्ञानको आविस्कार यी तीनको त्रिकोणात्मक सङ्घर्षको अखाडामा रमिता हेरिरहेको छु र तत्क्षण परिस्थिति यति जटील भइदिएको छ कि त्यही रमितामा मनभरि, पेटभरि र आत्माभरि रोइरहेको छु । आतङ्कित भइरहेको छु । म कोठामा छु । म यसकारण कोठामा स्वःकैद छु कि म बाँच्न चाहन्छु । जति अनित्य चोला हो भनेर स्वाँङ पारे पनि मान्छेको बाँच्ने लालसा तीब्र भएको प्रमाण हो यो । यही कोठामा रातहरू, दिनहरू, प्रहरहरू, रहरहरू, कहरहरू र दायित्वहरू खुम्चिएर बसेका छन् । यो खुम्च्याइले मभित्र एउटा निरीह परिस्थिति आइरहेको छ । बिल्कुल निरीह परिस्थिति । म विवस जिन्दगीलाई कम्प्युटरका भित्तामा पटक–पटक हेरिरहेको छु । पृथ्वीभित्र सिर्जिएका देशहरूका नक्सामा देखिएका राताम्य कोरोना भाइरसका रङ्हरूमा आतङ्कित भइरहेको छु । कोरोना भाइरस फैलिएको ग्राफ पनि हेर्छु । ग्राफ मापन ज्यामितीयभन्दा पनि जब्बर उकालो लागेको छ ।
ती मानव आकृतिमा कोरोनाको सिकार भएका, बाचेका संसारभरिका मान्छेको काल्पनिक तस्विर देखिरहेको छु । तिनमा आएको आतङ्क अनुभूत गरिरहेको छु ।
यो कोरोना भाइरसका राताम्य थ्रेटहरूमा ममा एउटा अनुभूत भइरहेछ । संसारलाई चियाइरहेको छु । पूर्व पश्चिम उत्तर दक्षिण छरिएको छ । यसले हिन्दू भनेको छैन । इसाइ भनेको छैन । इस्लाम भनेको छैन । वा संसारका कुनै धर्म, जात, थर, गोत्र, भूगोल, रङ वा वर्ग भनेर विभेद गरेको छैन । शक्तिवाला र निर्धा पनि भनेको छैन । कोरोना आतङ्कभित्र एकाएक थप आतङ्कित बनाउने हल्ला चल्यो कि यो भाइरस मानव–सभ्यता सिर्जित हो । विज्ञानका ल्याबबाट बनाइएको मानव बम हो । तर विज्ञानका ल्याबमा बनाएको भाइरस होइन यो भन्ने प्रमाणित फेरि विज्ञानकै ल्याबले बताइसकेको समाचार पनि आएका छन् । तर पनि विकसित भनिएका देश एक–आपसमा थान थापिरहेका छन् ।
अमेरिकी राष्ट्रपतिले कोरोनालाई ‘चाइनिज भाइरस’ नाम राखेर मान्छेमा रहेको दुष्ट प्रवृति देखाइरहेका छन् । अर्कोतिर अमेरिकाले नै यो भाइरस चिन तथा इरान पठाएर यो उपद्रो गरिरहेको छ भन्ने भनाइ पनि सामाजिक सञ्जालमा पढ्न पाइन्छ । यसले पनि मान्छेकै दुष्ट्याइँ पुष्टि गर्छ । मान्छेकै विभत्स सोचको पर्दाफास गरिरहेको छ । यसरी यो कोरोना भाइरसले ‘टक वार’ पनि गराइरहेछ । यो ‘टक वार’ साँच्चि नै मान्छेको दुष्ट्याइँ नै हो । सोचिरहेको छु कि यो मान्छे जात किन यस्तो दुष्ट भएको होला ! तर साँचो कुरा के हो भने मान्छे कोरोनाले भटाभटी मरिरहेछन् ।
यसरी पृथ्वीका देशहरूका नक्सामा देखिएका कोरोना भाइरसका राता टाटाहरूले मानव सभ्यतामाथि नै धावा बोलेको जस्तो लाग्छ । र जे भए पनि मान्छे खासमा बाँच्न चाहन्छ । त्यसैले ऊ धर्म भाक्छ । गाईको गहुतको पार्टी गरेर सामुहिक गहुत सेवन गर्छ । होली वाइन खान्छ । टिम्बुर पानी खान्छ । एक मिनेट स्वास रोक्न सक्नेलाई कोरोना नलाग्ने रामदेव बाबालाई पत्याउँछ । कोरोना मार्न विशेष रक्सी खान्छ र मर्छ मान्छे । र मान्छे यस्ता सस्ता समाचारहरू कम्प्युटरका भित्तामा प्रक्षेपण गरेर सायद रमाउन पनि खोज्छ तर त्यो रमाइ आतङ्कमा परिणत हुन्छ । विभिन्न धर्मका बाबा र तिनले व्यक्त्याएको भविष्यवाणी पत्याउँछ र झन् आतङ्कित हुन्छ मान्छे । र यसरी मान्छे कोरोना भाइरस र त्यससँग सम्बन्धित सस्ता डरलाग्दा समाचारको कारणले दोहोरो आतङ्कमा बाँचिरहेछ अहिले ।
यद्दपि एउटा कुरा साँचो के हो भने हजारौँ सालको मानव–सभ्यता र विज्ञानका चमत्कारहरू भोग्न अभ्यस्त भएको मान्छेले यो आतङ्कको दृश्य देख्दै छ । सनैसनै गाँजिएको अनुभूत गर्दै छ । आफूलाई निरीह ठान्दैछ । विवस मान्दै छ । र पनि मजाको कुरो के भने मान्छे धर्मका नाउँमा अझै जुधिरहेछ । राजनीतिका नाममा वादलाई घेरा बनाइरहेछ । अखाडा बनाइरहेछ । जातको नाउँमा लडिरहेछ । रङ्को नाममा फाटिइरहेको छ । भूगोलमा लुछाचुँडी गरिरहेछ । ज्ञानी ज्ञान पालेकोमा घमण्ड गरिरहेछ । अज्ञानी अज्ञानताको कहरमा डुबेको छ । अर्थले मान्छेको बगाल छुट्याएर वर्ग बनाएको छ । वर्ग–वर्ग जुधिरहेको छ । धनी धनमा अझै घमण्ड गरिरहेछ । गरिब गरिबीमा रोइरहेछ । रूपमा बाँचेको छु भन्छ मान्छे । तर सारमा मरिरहेको छ । छिनछिनमा मरिरहेको छ मान्छे । दिनदिन मरिरहेको छ मान्छे ।
बाँचेर पनि मरिरहेछ मान्छे । कोही मारेँ भनेर पनि मरिरहेको छ मान्छे । यो मान्छेको ताल देखेर ताल मारिरहेको छ परिवेश । समाचार सुन्दै पनि छु । समाचार सुन्दा सुन्दै अमेरिकाका विभिन्न सहरमा नेपालीहरूलाई कोरोनाले मारेको खवर सुुनेको छु र दिग्दार भएर दुखेको छु । कठै जीवन भनिरहेको छु । कोरोनाले मरेका मान्छेहरूको लासलाई सरकारी स्टोरमा स्टोरेज गरेको समाचार आइरहेछ । ती लासहरूलाई सदगत गर्न पाइन्न । लामो सुँढ भएको डोजरले सामुहिक रूपमा खाल्डो खनेर माटो मुनी पुरिदिँदैछ । सद्गतको त प्रश्नै भएन । आफन्त मर्दा पनि लास छुन नपाइने परिवेशको सिर्जना भएको छ । संसार लाचार, विवस र निरीह भएको छ । मानव–सभ्यता बाँच्न सङ्घर्ष गरिरहेछ ।
धनी धनमा अझै घमण्ड गरिरहेछ । गरिब गरिबीमा रोइरहेछ । रूपमा बाँचेको छु भन्छ मान्छे । तर सारमा मरिरहेको छ । छिनछिनमा मरिरहेको छ मान्छे ।
एउटा साँचो कुरा भनूँ भन्ने लाग्यो यो बेला । चिनले १० दिनमा कोरोनाको मात्र उपचार गर्ने ३ वटा ठूलाठूला अस्पताल बनाएको भिडियो हेरेपछि मैले मेरो एकजना गोरा साथीलाई सोधेको थिएँ : यार, चिनले त १० दिनमै त्यत्रो अस्पताल बनायो, अमेरिकाले बनाउन सक्दैन र ?
उसले एकछिन पनि नरोकिइ उत्तर दिएथ्यो , ‘चिनमा निरङ्कुसतन्त्र छ । आदेशमा फटाफट काम हुन्छ । तर अमेरिकामा त १० दिन त ह्वाइट हाउसको प्रकृया पुर्याउनै लाग्छ । अस्पताल बन्ने कुरा त परै जावस् ।’
यस बेला म राजनीतिक तन्त्रका बारेमा पनि सोच्दैछु । प्रजातन्त्रको मसिहा सर्व शक्तिमान अमेरिकाको कोरोना भाइरसका बारेमा निर्णय गरुञ्जेल त चिनले गजधम्मे अस्पताल नै बनाएर बिरामी निको पार्ने रहेछ । र म आफू प्रजातन्त्रलाई आप्नो जीवनको गन्तव्य ठान्ने मान्छे भए पनि यो कोरोना–माहामारीमा सोच्दैछु कि कुन तन्त्र राम्रो रु यसैगरी धर्मका बारेमा पनि अलिकति दिमाग लगाइरहेको छु । सबै धर्मका वाचाल पण्डितहरूले, मौलवीहरूले, पादरीहरूले जीवनका बारेमा, मृत्युका बारेमा, कर्तव्य र दायित्वका बारेमा दिइरहेका वचनहरू र तिनले उब्जाइदिएका धर्मयुद्ध वा धार्मिक विभेदलाई कोरोना आतङ्कमा राखेर हेर्दैछु ।
मान्छेले निर्माण गरेको सभ्यताले महिला सुरक्षा भन्दै मजेत्रो ओडाइदिएको छ । घुङ्घटले छोपिदिएको छ । बुर्काले शिरदेखि पाइतालासम्म छोपिदिएको छ । तर पनि कोरोना भाइरस सभ्यताको त्यो पर्खाल छेदन गरी भित्रसम्म पुगेको छ र भटाभट मृत्यु बोकाइरहेछ । यस्तो अवस्थामा मलाई लागिरहेको छ कि यो सभ्यताले महिला र पुरुषमा गरेको विभेदको अर्थ के ? आखिर घुम्टोले न घरेलु वलात्कार रोक्न सक्दोरहेछ । न वाह्य वलात्कार । न रोग रोक्न सक्दोरहेछ, न भोक । र त म यो कोरोनाले गाँजेको विश्वको राताम्य नक्सालाई हेर्दै छु र बोध गर्दैछु कि किन यो विभेद ? किन राजनीतिक विभेद ? किन सामाजिक विभेद ? किन धार्मिक विभेद ? किन सांस्कृतिक विभेद ? किन वर्गीय विभेद ? तर मानव–सभ्यतालाई कोरोनाले एउटा सन्देश दिएको छ ‘असल मान्छे बन’ ।
त्यसैले मलाई यो रातले आतङ्कित पारिरहेको छ । पिरोलिरहेको छ । छोरीले मलाई कोठामा थुनेकी छिन् । उनी भन्छिन् कि ६० नाघेको मान्छेमा धेरै सङ्क्रमण हुन्छ । त्यसैले बाहिर जान मनाही छ । त्यसैले उनी मलाई सिसाको र सिमेन्ट इँटाको पर्खालभित्र जोगाउन खोज्छिन् । यो बेला म आफ्ना सन्तानको पितृमोह पनि अनुभूत गर्छु । पितृप्रतिको महत्त्व पनि बुझ्न थाल्छु । नेपालमा रहनुभएका आमाबुवालाई, आफन्तलाई र समग्र नेपाललाई सम्झन्छु ।
किन राजनीतिक विभेद ? किन सामाजिक विभेद ? किन धार्मिक विभेद ? किन सांस्कृतिक विभेद ? किन वर्गीय विभेद ? तर मानव–सभ्यतालाई कोरोनाले एउटा सन्देश दिएको छ ‘असल मान्छे बन’ ।
यही निरीह परिवेशमा ममा एउटा शक्ति सञ्चार हुन्छ । यस्ता माहामारी पहिलोपल्ट विश्वमान वसभ्यताले भोग्नु परेको होइन । योभन्दा पनि पहिले विश्व सभ्यताले हैजा बोक्यो । गाउँगाउँ स्वाहा भएको दृश्य हेरेर रोयो । बिफर, कालाज्वर आदिआदि भोगेकै हो । विज्ञान र प्रकृति एकआपसमा जुधिरहेकै छन् । कहिले प्रकृतिले जितेको छ । कहिले विज्ञानले । यही भाले जुधाइमा म यतिबेला विज्ञानको पार्टी भएको छु । तर पनि प्रकृति र विज्ञानलाई समन्वयात्मक बनाउन सके त हुन्थ्यो भनेझैँ लागेको छ । यो पनि मेरो आदर्शवादी सोच मात्रै त हो । हुने हुनामी भइहाल्छ । मेरो सोच यतिबेला हुटिट्याउँमा रूपान्तरित भइहाल्छ र आकाश थेगेको अनुभूत गर्छ ।
यसै बेला २ वर्षे र ४ वर्षे नातिनीहरू दुवै जना मेरा काखमा आएर बसेका छन् । उनीहरू मेरो काखलाई अभेद्य सुरक्षा ठान्छन् । मेरो अँगालोमा आएपछि भर्खरका रुवाइहरू बिर्सन्छन् । आँशु पनि नपुछी वाल शुलभ मुस्कुराउँछन् । उनीहरूको मुस्कुराइमा म कुनै जात देख्दिनँ । कुनै देश देख्दिनँ । कुनै भाषा देख्दिनँ । कुनै धनी वा गरिब देख्दिनँ । कुनै सम्प्रदाय वा धर्म देख्दिनँ । कुनै भूगोल देख्दिनँ । कहर पनि देख्दिनँ । त्यसैले म पनि केवल टोलाएर नातिनीहरूको समानताको फिलिङमाथि रमाइरहेको छु । मरेका भोलिपल्ट दुई दिन भन्ने आहान सम्झिन्छु र फेरि कम्प्युटरका भित्तामा आएका कोरोनाले ग्रस्त विश्वको नक्सा हेरिरहेको छु । यसैबेला मेरी बूढी मनजिक आएर बसेकीछिन् । मायालु भएर मेरो केशराशी खेलाइरहेकी हुन्छिन् । उनी पनि बुढ्यौली उन्मुख छिन् । र यसबेला म उनको मनोभाव बुझ्न खोज्छु । सायद मलाई उनी एउटा सुरक्षा ठानिरहेकी होलिन् । यस्तै निरीह अनुमान गर्छु ।
उनी मलाई भन्दैछिन् : बाँचिएको छ र पो यो जीवन छ त हजुर ।’
मे १९, २०२०









