जेठ ७ गते २०७७

ताजा समाचार

जेठ ७ गते २०७७

स्वामी आनन्द अरुणको अनौठो रचना : मृत्युपार्क



मृत्यु पार्कको बिजारोपण
सन् २०१७ को नोभेम्वर (२०७४ साल कात्तिक) तिरको कुरा हो, ओशो उपवन आध्यात्मिक गाउँ दोबिल्ला पोखरामा बोधीसत्व स्वामी आनन्द अरुणको सानिध्यमा तीन दिवसीय ओशो ध्यान शिविर सञ्चालन भइरहेको थियो । करिब १ सय २५ शिविरार्थीले उपवन भरिएको थियो । स्वामी अरुणको सञ्चालनमा ध्यान, भक्ति, उत्सव र आनन्दको संगममा डुबिरहेका थिए शिविरार्थी । शिविरको तयारी र व्यवस्थापनको कार्यले राम्ररी सुत्न नपाएको भए पनि अरुण स्वामीजीको सानिध्य अनि शिविरको सफलतामा त्यसै मस्त थिएँ म पनि ।

ध्यान शिविर समापन भएको भोलिपल्ट बिहान स्वामी अरुण कम्युन परिसर वरपर घुम्दै हुनुहुन्थ्यो । स्वामीजी मौन हुनुहुन्थ्यो त्यसैले म लगायत अन्य केही मित्र चूपचाप स्वामीजीको पछाडि हिंड्दै थियौं । आश्रमको विकास तथा सौन्दर्यीकरणका योजनाहरु गरिरहनु हुने स्वामीजी आज मौन हिडिरहनु भएको थियो । र, लाग्थ्यो उहाँभित्र केही गम्भीर कुराले डेरा जमाएको छ । घुम्दाघुम्दैे आफू बस्ने “बोधीसत्व हाउस” अगाडिको एउटा अलि उबडखावड परेको स्थानमा पुगेपछि फरक्क फर्केर स्वामीजीले मलाई सम्बोधन गर्नु भयो, ‘योगानन्द, यो ठाउमा मृत्युपार्क (Death Park) बनाउनु पर्‍यो । मृत्यु पार्क जस्तो नौलो कुरा सुनेपछि म अलि दोधारमा परें । केही समय हामी गुरु र चेलाको बीचमा यस्तो संवाद चल्यो :

म : स्वामीजी, लभ पार्क, सहिदपार्क, स्मृतिपार्क, गोल पार्क, भूगोल पार्क आदि
त सुनेको हो । तर, अचानक आश्रममा यो मृत्युपार्क किन बनाउन खोज्नु भएको हजुरले ?
स्वामीजी : आश्रममा यस कारण कि हरपल तिमी, हामी सबैलाई मृत्युको सतत् स्मरण भइरहोस् । मलाई आश्रममा डेथ पार्क बनाउने प्रेरणा केही वर्ष अगाडि देखि नै आइरहेको थियो । अब त्यसको समय आयो ।
म : डेथपार्कले त झन डर पो लाग्छ कि स्वामीजी ?
स्वामीजी : म चाहन्छु कि मानिसलाई मृत्यु पार्कमा आएर यो बोध आओस् कि मृत्यु त एक दिन सबैको हुनेवाला छ ।
म : फेरि मृत्यु पार्कले मानिसहरु आश्रममै आउन डराउने पो हुन् कि, स्वामीजी ?
स्वामीजी : योगानन्द, जो यो डेथपार्क देखेर डराउँछ, उसलाई किन आउनु पर्‍यो यहाँ ? जबसम्म मानिसलाई भित्रैदेखि यो बोध आउदैन कि मृत्यु त अकाट्य सत्य हो, तबसम्म उसले आफूले गरिरहेको कुनै पनि गलत कर्म छोड्दैन । अझ साधकहरुलाई त यो स्मरण पनि सतत् हुनुपर्छ कि मृत्युभन्दा अगाडि त्यस तत्वको बोध गर्नुछ, जसलाई मृत्युले पनि चुडेर लान नसकोस् । यो एउटा थिमपार्क हो, जुन ओशोको “मै मृत्यु सिखाता हू“ भन्ने पुस्तकको सन्देशबाट अभिप्रेरित छ । यो पार्कको उद्देश्य व्यक्तिहरुलाई यो महसुस गराउनका लागि पनि हो कि ध्यानमार्गबाट व्यक्तिले जन्म, मृत्युको चक्रबाट मुक्ति पाउन सक्दछ । त्यसैले हामीले मृत्यु पार्कमा यस्ता श्रव्य, दृष्य तथा सामग्रीहरु राख्नेछौं, जसद्वारा व्यक्तिलाई ध्यान साधनाको बाटोमा हिड्ने प्रेरणा मिल्नेछ । मलाई पनि हरपल मृत्युको याद दिलाउन मेरै कोठा अगाडि यो मृत्युपार्क बनाउन खोजेको हूँ ।

जबसम्म मानिसलाई भित्रैदेखि यो बोध आउदैन कि मृत्यु त अकाट्य सत्य हो, तबसम्म उसले आफूले गरिरहेको कुनै पनि गलत कर्म छोड्दैन ।

त्यही नै स्वामीजीले घोषणा गर्नुभयो कि ओशो तपोवन र ओशो उपवन दुबै आश्रममा मृत्युपार्क निर्माण गरिनेछ । उहाँले मलाई उपवनमा जमिन सम्याउने प्रारम्भिक कार्य शुरु गरिहाल्न निर्देशन दिनुभयो । हामीसँगै उभिएर हाम्रो वार्तालाप सुनिरहेका तपोवनका व्यवस्थापक स्वामी ज्ञान तन्मयलाई तपोवनमा शिवपुरी बाबाको मन्दिरको पूर्वपट्टि ध्यानका लागि बनाइएको बगैंचा समेटेर ल्यान्डस्केपिङको कार्य सुरु गर्न आदेश दिनुभयो ।

‘उपवनमा हुने आगामी ध्यान शिविरमा मृत्युपार्कको उद्घाटन गर्नुपर्छ’, स्वामी अरुणले भन्नुभयो । मृत्यु पार्कमा जीवन, मृत्यु र ध्यानको बारेमा बोध गराउने के कस्ता खालका दृष्य या सामग्रीहरु हुन्छन्, म अलि अन्योलमा थिएँ । स्वामीजीलाई यस बारेमा जिज्ञासा राखें पनि । पहिला पार्कको डिजाइन खाका तयार गर्न आदेश दिदैं अन्य थप सामग्री र कार्यको बारेमा फोनबाट निर्देशन दिउँला भनेर अरुण स्वामीजी काठमाडौं फर्कनुभयो ।

निर्माण आरम्भ
स्वामी अरुण तपोवन फर्केको एक हप्ताभित्रै मृत्यु पार्कका लागि उपवनमा जमिन सम्याउने कार्य थालनी भयो । केही दिनपछि मलाई अरुण स्वामीजीको फोन आयो । स्वामीजीले भन्नुभयो, ‘डेथ पार्कमा जलाउन ठिक्क पारेर राखिएको चितामा सुतेको मानिसको मुर्ती राख्नुपर्‍यो, के बिचार छ ?’
मैले उत्तर दिए, ‘हुन्छ हजुर ।’

मृत्युपार्कको थिम अनुसार चितामा सुतेको मानिस सँगसँगै साक्षीभावसँग ध्यानमा बसेको व्यक्तिको मुर्ती पनि बनाउँदा हुन्छ कि भनेर मैले स्वामीजीसँग अनुरोध गरें । स्वामीजीले त्यसमा सहमति जनाउनु भयो । फेरि सोध्नुभयो, ‘कस्को मुर्ती बनाउने त ?’
मेरो दिमागमा ओशोको चित्र आयो र स्वामीजीलाई ओशोको मुर्ती बनाउने कि भनेर सुझाएँ । केही क्षणको मौनतापश्चात ध्यानमा गुरुसँग कस्को मुर्ती बनाउने भनेर आज्ञा लिई फेरि खबर गर्छु भनेर स्वामीजीले फोन राख्नुभयो ।

अर्को दिन अरुण स्वामीजीको फोन आयो । उहाँले भन्नुभयो, ‘ओशोको मुर्तीले मानिसहरुलाई खासै धक्का दिंदैन किनकी सत्ताईस वर्षअगाडि ओशोको मृत्यु भएको सबैलाई थाहा छ । यस्तो मुर्ती बनाउनु पर्ला जसलाई देख्नेबित्तिकै मानिसको अन्तरतम् नै झनझन पारेर झस्काओस् ।’
मैले अगाडि सोधें, ‘कस्को मुर्ती बनाउने त स्वामीजी ?’
स्वामी अरुणले बम फोड्नुभयो, ‘मेरो ।’

स्वामीजीको उत्तर सुनेर मेरो मुटु नै काम्यो । स्वामीजीको चितामा सुतेको मुर्तीको कल्पना गर्ने बित्तिकै आँसुले आँखा भरिए । म केहि बोल्नै सकिनँ । मैले बल्लबल्ल आवाज फुटाएर भनें ‘स्वामीजी, हजुरको मुर्ती त कसरी बनाउने ? सोच्दा पनि मनै डराएर आयो । त्यो त नबनाउँ कि हजुर ।’

स्वामी अरुणले फेरि अर्को तीरले मलाई हान्नुभयो, ‘ल त्यसो भए, उपवनको चितामा तिम्रो मुर्ती राख्ने, तपोवनको चितामा मेरो राख्ने !’ मेरो मनले थप ढ्याङ्ग्रो ठोकिहाल्यो, कसरी मेरो मुर्ती राख्ने होला ?

हुन त मलाई चितामा आफ्नो मुर्ती राख्न कुनै समस्या थिएन । भारतको ओशो मधुवन आश्रम चापा मध्य प्रदेशमा त्यहाँका स्वामीले चिता बनाई आफ्नो मुर्ती राखेको देखेको पनि थिएँ । अर्को कुरा, चितामा मेरो मुर्ती राख्ने हो भने त ध्यानमा बसेको मुर्ती पनि मेरै बनाउन पर्ने भयो भनेर म अलि डराएँ । त्यसैले मेरो मुर्ती बनाउन ठीक हुँदैन होला भन्ने कुरा मैले स्वामीजीसँग राखें । “त्यसो भए ठीक छ चिताको मुर्तीचाहिं मेरै बनाउनू, ध्यानमा बसेको मेरो मुर्ती बनाउनु पर्दैन,’ स्वामी अरुणले भन्नुभयो र वार्तालाप रोक्नुभयो ।

‘ल त्यसो भए, उपवनको चितामा तिम्रो मुर्ती राख्ने, तपोवनको चितामा मेरो राख्ने !’ मेरो मनले थप ढ्याङ्ग्रो ठोकिहाल्यो, कसरी मेरो मुर्ती राख्ने होला ?

ध्यानस्थ मुद्रामा बसेको अरुण स्वामीजीको मुर्तीे बनाउनका लागि उहाँलाई मनाउन मलाई ठूलै कसरत गर्नुपर्‍यो । जन्म र मृत्युको पारको यात्रापथ हो, ध्यान — यो सन्देश दिने अरुण स्वामीजीको उद्देश्य अनुसार चितामा सुतेको मुर्तीसँगै आफ्नै मृत्युलाई साक्षीभावले निरीक्षण गरिरहेको उहाँको ध्यानस्थ मुर्ती पनि बनाउनै पर्छ भनेर मैले अनुरोध गरें । “मृत्यु पार्क निर्माणको मेरो पवित्र उद्देश्य र यसको थिम बुझ्ने क्षमता कमैको हुन्छ, नेगेटिभ मान्छेहरुबाट गाली त मैले खान्छु, खान्छु त्यसैले मेरो ध्यानमा बसेको मुर्ती नबनाऊ,” स्वामीजीले मलाई सम्झाउन खोज्नुभयो ।

स्वामीजीले जोड गर्नुभयो, ‘ध्यानमा बसेको मुर्ती नराखी ध्यानको बारेमा ओशोका कोटेसनमात्र राखे पनि भैहाल्छ नि ।’ तर मैले स्वामीजीलाई जोड गरें, ‘स्वामीजी यो हजुरको अनौंठो रचना अहिलेका लागि मात्र होइन, युगौंयुगसम्म रहने कुरा हो । जसले शुद्ध ह्दय लिएर मृत्युपार्क हेर्नेछ, उसले अन्तर मनदेखि नै हजुरलाई धन्यवाद दिनेछ ।’ मेरो धेरै अनुनय, विनयपश्चात स्वामीजीले बल्लबल्ल सहमति जनाउनुभयो ।

डेथ पार्कमा सद्गुरु ओशो लगायत भगवान बुद्ध, कवीर, परमहंश योगानन्द, अरबिन्दो, महात्मा गान्धी, गुरजीएफ, रवीन्द्रनाथ टैगोर अनि लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा आदिका मृत्यु र ध्यानसँग सम्बन्धित कोटेसन र उद्गारहरुसहित उनीहरुको मृत्युको समयका तस्बिर र झलक साथै आर्यघाट तथा बिभिन्न धार्मिक सम्प्रदायका दाह संस्कार स्थलका झलकको डिजाइनसमेत तयार गर्न स्वामी आनन्द अरुणले मलाई निर्देशन दिनुभयो ।

पोखराको छोरेपाटनलाई कार्यक्षेत्र बनाई बसेका मुर्तिकार तिलक सेन्चुरीले मृत्युपार्कका मुर्तीहरु बनाए । कलाकारलाई स्वामीजीका मुहार तथा शरीरका बिशेषचिह्न र शारीरिक अनुपात मिलाउन कठिनाई परेकाले मैले पनि करिब ६ दिन मुर्तीकारलाई सहयोग गरें र स्वामीजीको मुर्तीको फ्रेम तयार भयो ।

एउटा धूप बालेर स्वामीजीले मेरो हातमा थमाउनुभयो । र, चिताको परिक्रमा गर्न ईशारा गर्नुभयो । अबचाहिँ भक्कानो छाडेर रुने पालो मेरो थियो ।

ओशो उपवनमा आगामी ध्यान शिविर २०७४ चैत १५ देखि १७ (तदनुसार सन् २०१८ मार्च २९ देखि ३१) मा आयोजना हुने निश्चित भयो । शिविरमै मृत्यु पार्क उद्घाटन गर्ने स्वामी अरुणको योजना अनुसार पार्क तयार हुँदै थियो । त्यस्तै, तपोवनमा पनि डेथपार्कका लागि कार्य चलिरहेको थियो । संयोग यस्तो पर्‍यो कि, तपोवनभन्दा पहिला उपवनमा मुर्तीहरु राखिने भयो । शिविरभन्दा दुई दिन अगाडि मात्र मुर्तीहरु तयार भए । हामीले मुर्तीहरु ल्याएर चितामा राख्यौं र दुवै मुर्तीलाई रातो कपडाले छोपिदियौं ।

मृत्यु पार्क उद्घाटन

उपवनको त्यस पटकको ध्यान शिविरमा एक सय तिस शिविरार्थीहरु भएका थिए । मार्च ३१ मा हनुमान जयन्ती परेको थियो र सो पावन दिनको ठीक एक दिन अगाडि मृत्युपार्कको उद्घाटन गर्ने निर्णय भयो । रातो कपडाले छोपिएका मुर्तीहरुको रहस्यमा डुब्दै शिविरार्थीहरु मृत्यु पार्कमा जम्मा भए । तर, रातो कपडाले छोपिएका मुर्तीको रहस्य अरुण स्वामीजी र मलाई बाहेक कसैलाई पनि थाहा थिएन । चिताको मुर्ती तथा ध्यानस्थ मुर्ती अगाडि साथीहरुले धूप, दिया आदि राखिदिएका थिए । मैले स्वामीजीलाई पहिला ध्यानस्थ मुर्तीको रातो कपडा हटाई प्राणप्रतिष्ठा गरिदिन आग्रह गरें । उहाँ मुसुक्क हास्नुभयो । रातो कपडा तानेर मुर्तीको चेहरा खोलिदिनुभयो । र, भन्नुभयो, ‘फेस त दुरुस्तै भएछ त ।’ उपस्थित शिविरार्थीहरु खुसी भएर ताली पिटिरहेका थिए, केही समयपछि पटाक्षेप हुने दृष्यबाट बेखबर !

अब पालो थियो चिताको मुर्तीको । जब स्वामी अरुणले मुर्तीको चेहराबाट रातो कपडा हटाउनुभयो, एक्कासी रोदन, चित्कार र पीडाका स्वरले मृत्यु पार्क गुञ्जियो । शिविरार्थीहरुका लागि स्वामीजीको चितामा सुतेको मुर्ती एउटा ठूलो विस्मयकारी आश्चर्य थियो । कोही भूईमा पछारिंदै रुन थाले भने कोहि बेसरी काप्न थाले । एउटा धूप बाल्न स्वामीजीले मलाई अह्राउनुभयो र चिताको परिक्रमा गर्न ईशारा गर्नुभयो । अबचाहिँ भक्कानो छाडेर रुने पालो मेरो थियो । स्वयं नै मुर्ती निर्माणमा संलग्न भएको म, त्यो माहौल अनि परिदृष्यमा चिताको वरिपरि घुम्दा ह्दय नै भरिएर आयो । आँखाबाट बलिन्द्र आँसु झर्न थाले ।

यस पार्कमा आएर यो शाश्वत् सत्यको बोध होस् कि एक दिन मृत्युले सबै भौतिक सुख, सुविधा, नातागोता र यो शरीरलाई पनि खोसेर लगिदिन्छ र अन्त्यमा काम लाग्ने दुई भारी दाउरा र दुई मिटर कपडा मात्र हो ।

आफ्नो सबैभन्दा प्रियजनको नक्कली मृत्युशैया पनि कति पीडादायक हुँदो रहेछ भन्ने अनुभव त्यस बेला मलाई भयो । अझ साँच्चिकै भएमा त्यो दृष्य हेर्न मेरा आँखाले कसरी सक्लान् ? के के भाव चल्यो ह्दयमा ? त्यो माहोलमा आँसु नझार्ने सहभागीहरु कमै थिए ।

माहोल केही शान्त भएपछि स्वामीजीले भन्नुभयो, ‘मृत्यु जीवनको अन्तिम गन्तव्य हो । अरु सबै कुरा जीवनमा अनिश्चित छन् तर एउटा कुरा निश्चित छ कि एक दिन हामीले मर्नै पर्छ । तर हामी यो अकाट्य सत्यलाई साक्षात्कार गर्नै चाहदैंनौ, स्मरणैं गर्न चाहदैनौं । बुद्धले आफ्ना भिक्षुहरुलाई दीक्षा दिईसकेपछि ६ महिना श्मसानघाटमा गएर ध्यान गर्ने सल्लाह दिनुहुन्थ्यो ताकि प्रत्येक दिन राजादेखि रंकसम्मको शरीर खरानीमा परिणत भएको देखेर भिक्षुहरुमा मृत्युवोध सघन होस् र यस सत्यको स्मरण आओस् । आजको युगमा श्मसानघाटमा गएर ध्यान गर्न व्यवहारिक छैन । त्यही बोध गराउनका लागि हामीले ओशो मृत्यु पार्कको निर्माण गरेका छौं । यस पार्कमा आएर यो शाश्वत् सत्यको बोध होस् कि एक दिन मृत्युले सबै भौतिक सुख, सुविधा, नातागोता र यो शरीरलाई पनि खोसेर लगिदिन्छ र अन्त्यमा काम लाग्ने दुई भारी दाउरा र दुई मिटर कपडा मात्र हो ।

जसलाई यो यथार्थको बोध हुन्छ, उसले अरुमाथि अन्याय गर्नै सक्दैन । सुख-सुविधा, मान—पद र धन—सम्पत्ति जोड्नलाई जति पाप—पुण्य हामी गर्छौं, त्यो हामीसँगै जान्छ । त्यस कारण पुण्य आर्जित गरौं, जसले जीवन र मृत्यु अनि मृत्युको पार पनि हामीलाई शान्ति देओस् । ध्यान, साधनालाई जीवन पद्दति बनाऔं । होसपूर्वक पवित्र जीवन जिऔं, जसले मोक्ष प्राप्त होस् र फेरि फेरि यही रोग, शोक र सन्तापको जीवनचक्रमा फस्नु नपरोस् । यसैको निरन्तर स्मरणका लागि यो मृत्यु पार्क समर्पित छ ।’

तपोवनमा पनि बन्यो मृत्यु पार्क
मृत्यु पार्कमा अरुण स्वामीजीको निर्देश अनुसारका अन्य धेरै कार्य पूरा गर्न बाँकी नै थिए । यस्तैमा पन्ध्र दिनपश्चात ओशो तपोवनमा रामनवमीको समयमा सात दिवशीय ध्यानशिविर आयोजना हुँदै थियो । उपवनको ध्यान शिविर सकेर तपोवन फर्कनु अगाडि स्वामीजीले मलाई निर्देश दिनुभयो, ‘तपोवनको ध्यान शिविरका वेला त्यहाँको मृत्युपार्क उद्घाटन गर्नुछ । अब त्यहाँका कामहरु सकेरमात्र उपवनको पार्कको काम पूरा गर्नू ।’ मैले गर्नुपर्ने कार्यहरुबारे सुझाव दिई स्वामीजी तपोवन फर्कनुभयो ।

तपोवनको शिविर अगावै पूरा गर्नुपर्ने काम धेरै थिए । स्वामीजीले दिनु भएको निर्देशानुसार बिभिन्न गुरुहरुको कोटेसन संकलन गर्ने र उनीहरुको मृत्युको समयका दुर्लभ तस्बिरहरु खोजेर डिजाइन तयार गर्ने कार्यमा म र शुशील लाग्यौं । म सरकारी पेशागत जिम्मेवारीका लागि दैनिकजसो पोखराबाट दमौली जान्थेँ । दमौलीबाट फर्कने बित्तिकै कम्प्युटरमा कोटेसन तथा तस्बिरहरुको डिजाइनमा हामी बसिहाल्थ्यौं । कैयौं रातबिहान गरेर डिजाइन तयार गरेपछि अरुण स्वामीजीकहाँ थप निर्देशका लागि पठाएँ । तपोवनको शिविरको पाचौं दिन साँझ पाँच बजे बल्लबल्ल पोखरामा बोर्ड तयार भयो । तर शिविरभित्रै जसरी पनि बोर्ड जडान गर्नैपर्ने बाध्यताले रातै परिसके पनि म पोखराबाट काठमाडौतर्फ लागें । मध्य रात्रीको बाह्र बजेतिर तपोवन पुगेपछि बल्ल राहतको श्वास फेरें ।

अरुण स्वामीजीकै प्रत्यक्ष निर्देशनमातपोवनमा मृत्यु पार्कमा बोर्डहरु जडान भए । त्यसको केही हप्तापछि तपोवनमा पनि चितामा पल्टिएको मुर्ती स्थापना भयो ।

नवयुगको प्रेरणा स्रोत
जीवन, मृत्यु र यसबाट पार जाने उपायका बारेमा बोध गराउने स्वामी आनन्द अरुणको अनौठो रचना संसारकै पहिलो मृत्यु पार्क नेपालका ओशो आश्रमहरु ओशो तपोवन र ओशो उपवनमा निर्माण भए । पवित्र उद्देश्यले गरिएको कार्यको परमात्माले नै संरक्षण गर्दो रहेछ । विश्वका बिभिन्न लेखकले विश्वकै पहिलो डेथ पार्कहरु बनाएकोमा स्वामी अरुणको प्रशंसा गरेका छन् ।

https://myrepublica.nagariknetwork.com/news/39073/?categoryId=37

यी पार्कहरु डेथपार्कमात्रै होईनन्, ध्यानका बगैंचा हुन्, जहाँ ध्यान साधनामा डुब्नका लागि सुविधाजनक स्थानहरु बनाइएका छन् । अहिले ओशो तपोवन र उपवनमा घुम्न आउने मानिसहरुको एउटा मुख्य आर्कषण यही डेथपार्क र यसका मुर्तीहरु भएका छन् । समाजका मूर्धन्य व्यक्तिहरुले पनि मृत्यु पार्क हेरेपछि यो अनुपम रचनाका लागि स्वामी आनन्द अरुणप्रति कृतज्ञता ब्यक्त गर्ने गरेका छन् ।

राजा रंक सबै समान उसका, बैशम्य गर्दैन त्यो
आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो ।

ओशो तपोवन तथा उपवनका मृत्युपार्कमा राखिएको कविशिरोमणि लेखनाथ पौडेलका उपरोक्त ह्दय छुने कविताका पंक्तिहरुलाई चरितार्थ गर्दै धनी, गरिब, ठूलो सानो केही नभनी कोरोना भाइरसको प्रकोपले हाल विश्वको सबैतिर मृत्युले ताण्डव मच्चाइरहेको छ । मृत्युको त्राहिमाम्मा परिरहेको मानव र मानव सभ्यता नै धरापमा पर्ने हो कि भन्ने सम्भावना बढिरहेको अवस्थामा कोरोना त्रासदीपश्चातको भविष्यको नवयुगमा मानिसलाई अवश्यम्भावी मृत्युको बोध दिलाउँदै ध्यान, साधनाप्रति जागरुक गर्नका लागि स्वामी आनन्द अरुणले रचना गरेका ओशो आश्रमका मृत्यु पार्कहरु अत्यन्त सहयोगी र विशेष प्रेरणाका स्रोतहरु हुनेछन् भन्ने मेरो अन्तरमनले अनुभव गरिरहेको छ ।
जय ओशो ! जय अरुण स्वामीजी !

facebook : Swami Yoganand/ web : oshoupaban.com

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।