छन्द- शार्दूलविक्रीडित
गाह्रो बुझ्न छ बेसरी वचन ती नेपथ्यमा बोलिने ।
सुन्दा लाग्छ असत्य ती जहर झैँ मस्तिष्कमा घोलिने ।
बोली सुन्छु लरक्क चट्ट मह औ, नौनी दलेका कुरा ।
तीखा छन् तर शब्द शब्द अति नै, जस्तै चलेका छुरा ।।
झुक्किन्छन् कति शब्दका हरफमा भावार्थ जुझ्दा भने ।
पग्लिन्छन् दिलबाट ती बरफ झै भावार्थ बुझ्दा भने ।
खोजेँ बुझ्न म शब्द शब्द मनले, भावार्थ केलाउँदै ।
हेपाई छ कि व्यङ्ग्य हो सरस यो, सोच्दै छु सेलाउँदै ।।
आफ्नै सोच विचारले सब कुरा , बाङ्गो सिधा पार्दछ ।
साँचोले जसरी पदार्थ सब ती, आकारमा ढाल्दछ ।
तीखा घातक शब्द वाण मनले, सुल्टो गरी सोचियोस् ।
पीडा हुन्न न हुन्छ घाउ दिलमा, जस्तो सुकै घोचियोस् ।।
सुल्टो सोच विचारले मगजका मैलाहरू धुल्दछन् ।
वैरी मित्र सबै निमित्त मनका दैलाहरू खुल्दछन्।
पीडा दुःख पचाउने मनमनै हो यो कडा ओखती ।
चिन्ता त्रास भगाउने नि सहजै सुल्टै भए हो मति ।।
हाँसो भित्र लुकेर बस्दछ खुशी, हाँस्ने सदा गर्नु छ ।
चिन्ता दूर भगाउँदै, कुसुमले यो जिन्दगी भर्नु छ ।
सोझो होस् मन यो सदा विपुल होस्, कालो नहोस् भन्दछु ।
सङ्लो होस् र पवित्र भै सबल होस्, जालो नहोस् भन्दछु ।।









