पोखरा जस्तो पर्यटकीय स्थानमा जन्मिएकी, हुर्कीएकी, बढेकी र हाल सैनिक महाबिद्यालय पोखरामा कक्षा ६ को परीक्षाको तयारीमा रहेकी मेरी छोरी र हामी बीच फागुनमा घरमा सल्लाह हुदै थियो, परीक्षापछि आउदो नयाँ बर्ष कसरी मनाउने ? कता घुम्न जाने ? किनकी केहि पढाइको थकाई मार्न सकिने बिदा सुरुहँुदै थियो । यसै बिदालाई लक्षित गरि घुमफीरका कार्यक्रम तय हुदै थिए । अचानक कोरोना रुपी विश्व माहामारीको बर्बरताको लप्कोबाट नेपाल पनि अछुतो रहन सकेन । मेरो छोरी परीक्षाका लागि तयार नभई सक्दा पनि सरकारले जारी गरेको आदेश अनुसार चैत्र ५ गतेभित्र परीक्षा सक्याईन् ।
नेपाल सरकारले छिमेकी मुलुकको देखासिखी गर्दै लकडाउन चैत्र ११ बाट सुरु गर्दै बैषाख २५ पुर्यायो । अझै कति बढाउने हो, कुनै निश्चित छैन । यस बीचमा विद्यालय तथा क्याम्पस तहका बाँकी रहेको सबै परीक्षा स्थगित भएका छन् । वार्षिक परीक्षाफल प्रकाशन हुन सकेका छैनन् । नियमित नयाँ शैक्षिक सत्रका कक्षाहरु बेटुङ्गोमा गुज्रिएका छन् ।
मेरो जस्तै सायद सबै अभिभावकको पीडा होला । बिद्यार्थी घरभित्रै थुनिएर बस्ता, कुनै काम गर्ने वातावरण नहुदा तथा चौरमा खेल्न नपाउँदा नयाँ कक्षाको पढाई नहुँदा मोवाइलमा गेम, पवजी खेल्ने अनि टेलिभिजन हेरेर स्वास्थ्यसमेत बिग्रने कुराको डर म लगायत हरेक अभिभावकलाई पर्न थाल्यो । यद्यपि उदाहरणीय बन्दाबन्दीको कार्यान्वयनले नियन्त्रण रेखा मजबुद देखिएको छ ।
यही बन्दाबन्दिको कारणले एर्कातिर जनजीवन प्रभावित पनि बनेको छ । जसमध्येको प्रमुख शिकार शिक्षा क्षेत्र बनेको छ । यस कुरालाई मध्य नजर गर्दै सैनिक महाविद्यालयले अनि सम्भव भएका अन्य बिद्यालयले समेत अनलाईन कक्षा सञ्चालन गर्न थाले । जसबाट बिद्यार्थीले पढ्ने काम पाए, गृहकार्य पाए । अनि बल्ल म जस्ता अभिभावकको एक प्रकारको चिन्ता बिद्यालयको यो सराहनीय कार्यले समाधान गरिदियो ।
सामाजिक सञ्जालमा यसै बिषयलाई लिएर अनेकौं प्रकारका टीका टिप्पणी सुरु पनि भए । केही ट्रोल बनाउने साथै युट्युबेहरुलाई काम पनि भयो, यस अनलाईन कक्षाको नकारात्मकता यही कोरोनाको खबर जसरी फैलाउन । यो त भयो हाँसोको कुरा । तर निकै हाँसो त बैषाख १८ गतेको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा बाट अनलाइन कक्षा सञ्चालन नगर्ने सम्बन्धमा शीर्षक राखेर उप सचिव श्री गंगाबहादुर गुरुङ्ले हस्ताक्षर गरी चलानी नं. ७१८ को सूचना प्रकाशित गर्नु भयो ।
शिक्षा क्षेत्रको बिकास चाहने अनि उहि पुरानो शिक्षण विधिको पुच्छर समाएर बैतरणी तर्ने ? नेपाल टेलिकमका अनुसार पनि ६३ प्रतिशत नेपालीमा इन्टरनेट पहुँच छ ।
सम्पूर्ण पोखराबासीको सपना बनेको थियो स्मार्ट सिटी पोखरा महानगरपालिकाजसलाई मेयर सापले स्मर्ट सिटीका रुपमा बिकास गर्ने भन्नु भएको थियो । तर जव प्रबिधि प्रयोग हँुदै छ र स्मार्ट सिटीका स्मार्ट बिद्यालय हरुले स्मार्ट शिक्षकको प्रयोग गरि स्मार्ट बिद्यार्थी बनाउने काम गर्न लाग्दा सराहना गर्नुपर्नेमा यस प्रकारको रोकले कुन स्मार्ट सिटीको परिकल्पनालाई पूरा गराउँछ, मेयर साप ?
म विश्लेषक तथा शैक्षिक प्रशिक्षकका रुपमा काम गर्दै आएको छु । त्यसैले मसंग तर्क गर्न रुचाउनेहरुको संख्या पनि राम्रै छ । साथमा सफ्टवेर अनि कम्प्युुटरको समेत जानकारी राख्ने भएको हुँदा अनि मेरी छोरीले अनलाईन पढ्न पाउँदा खुशी व्यक्त गरेको हुदासमेत । केही समय पहिला केही मानिसले मलाई पनि म्यासेन्जरमा यो अनलाइन कक्षामा आफ्ना बाबाुनानीलाई सहभागी गराउन न नसक्ने व्यहोरा उल्लेख गर्दै यस प्रकारको कामले सबै बिद्यार्थीलाई समेट्न नसक्ने कुरा जनाउनु हुदै मेरो बिचार बुझ्न खोज्नु भएको थियो ।
मैले उहाँलाई सोधें, किन ? उहाँले इन्टरनेट नभएको कुरा जनाउनुभयो । मैले तुरुन्त सोधें कि तपाईले मसंग च्याट कसरी गर्नु भएको छ ? अनि फेसबुकमा लाईक कमेन्ट स्टाटस कसरी अपडेट गर्नु भएको छ ? उहाँको जवाफको प्रतीक्षा आजसम्म गरेको छु ।
अहिले स्मार्ट सिटीका सपना देखाउने र स्मार्ट बिद्यार्थी उत्पादन गर्ने पोखरा महानगरपालिकाले यस प्रकारको सूचना बाहिर ल्याउनुलाई कसरी लिन्छन् बिद्यालयहरुले यो हेर्ने बिषय छ । यदि चिन्ता बिद्यार्थी पढाइबाट टाढा हुन्छन् भन्ने हो भने, गत बर्षको पोखरा महानगरपालिकाको तथ्यांक हेर्दा हुन्छ कि कति बिपन्नहरु बिद्यालय टेकेका पनि छैनन् ।
के हामीसँग स्रोत, साधन नभएकै हो त ?
होइन ।
हामीसँग स्रोत, साधन र सीप पर्याप्त छ । छैन त केवल सकारात्मक सोँच र परिवर्तनको अठोट गर्ने एवं परिवर्तन स्वीकार्ने साहस ।
सूचना र प्रविधिको अधिकतम विकासले विश्वव्यापीकरणको प्रभावलाई पनि अझ चुनौतिपुर्ण बनाएको छ । यो बढ्दो प्रभाव केवल चुनौतिमात्रै भने पक्कै पनि होइन यो एक चुनौतिपूर्ण सम्भावना पनि हो । विश्वव्यापीकरणको यो आयामलाई आत्मसाथ गर्दै शिक्षा क्षेत्रमा यसका उपजलाई जोड्दै बहुआयामिक लाभ उठाउन हामी कदापि पछि पर्नु नहुने बेला हो यो । कुनै पनि बाहानामा यदि शिक्षालाई प्रविधिसँग जोड्न सकिएन भने विश्व बजारलाई सीपविहीन मानव संसाधन उत्पादनको कारखाना बन्नु सिवाय अरु कुनै पनि उपलब्धि हुने छैन ।
कोरोना कहरको विकल्प सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा शिक्षण सिकाइको विकल्पको रुपमा देखा परेको अनलाइन शिक्षालाई अबका दिनमा भने विकल्पका रुपमा मात्रै सिमित राखिनु हुँदैन । यसलाइ नियमित र अनिवार्य शैक्षिक विधिको रुपमा अघि बढाउनु बाञ्छनीय हुन्छ । अनलाइन शिक्षा भन्नाले सामान्यता इन्टरनेटको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने भन्ने बुझिन्छ । यो दुर शिक्षाकै एक आयाम हो । नियमित कक्षामा औपचारीक ढगंबाट उपस्थित भई शिक्षण सिकाइमा सहभागी हुन नसक्नेहरुका लागी लक्षित गरी दूर शिक्षा अन्र्तगतका विभिन्न विधीको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप संचालन गरीएको घटना नेपालका लागी पनि नौलो भने पटक्कै होइनन् ।
पछिल्लो समयमा देखिएको इन्टरनेटको प्रयोगको बढ्दो दर र सामाजिक संजालप्रतिको अधिक मोह तथा भिडभाडयुक्त उपस्थितिले दूरशिक्षा अन्तर्गतको अनलाइन शिक्षालाइ विकल्पको रुपमा अघि सारिनु सान्दर्भिक साथै उपयुक्त कदम हो भन्न कत्ति पनि हिच्किचाउनु पर्दैन । नेपाल टेलिकम (२०१९) का अनुसार पनि नेपालको कुल जनसंख्याको ६३ प्रतिशत संग इन्टरनेटको पहुँच छ । जसमध्ये ७९ प्रतिशतले मोबाइलको माध्यमबाट इन्टरनेट प्रयोग गर्ने गरेको तथ्याङ्क छ । जसले नेपालको सन्दर्भमा अनलाइन शिक्षालाइ बिना तालको बाजाको संज्ञा दिनेहरुलाइ गत्तिलो झापड दिन सक्छ ।
प्रस्तुत सम्भावना युक्त अवसरलाइ सदुपयोग गरिनु अनिवार्य छ । यसको अर्थ बिना कुनै पूर्वाधार विकास तथा संयोजन बिना अनलाइन शिक्षाको प्रभावकारीताको व्याख्यामामात्रै केन्द्रित हुनु भन्ने चाहिँ होइन । एकातिर अनलाइन शिक्षाको अभ्यास र अर्कातिरबाट आवश्यकीय पुर्वाधार विकासमा योजनाबद्ध ढङ्गबाट अघि बढ्नु पर्दछ । सम्भावना अध्ययनलाइ स्रोत र साधनको उपलब्धता र प्रयोग सम्बन्धि सिपका आधारमा वर्गीकरण गरिनु पर्दछ ।
अनलाइन शिक्षामात्रै नभनेर दुर शिक्षाका अन्य आयामलाई समावेश गरेर अगाडि बढ्न सक्ने हो भने निकट भविष्यमै शिक्षण सिकाइको यो विधिको प्रयोगमार्फत समग्र शैक्षिक उपलब्धि बढाउन सकिन्छ । जसका लागि विद्यार्थी एवं शिक्षकसँग इन्टरनेट, कम्प्युटर, एन्ड्रोइड मोबाइल तथा अन्य आवश्यकीय सूचना तथा सञ्चार साधनको उपलब्धताको आधारमा विभाजन गरेर यसको थप विश्लेषण गरिनु तर्क संगत हुन्छ ।
दूर शिक्षालाई मुख्य तीन समूहमा हेर्न सकिन्छ :
समूह (क) इन्टरनेट , कम्प्यूटर तथा मोबाइल मा पहुँच भएका ।
समूह (ख) रेडियो र टिभीमा पहुँच भएका ।
समूह (ग) रेडियो टेलिभिजन दुवैमा पहुँच भएका ।
प्रस्तुत विभाजनका आधारमा समूह (क) मा जुनसुकै विधिबाट पनि दुरशिक्षाका कक्षा सञ्चालन गर्न सकिन्छ । भर्चुअल, दुइद्वार संचारसहितका अनलाइन कक्षाहरुको संचालन गरी यी समुहका विद्यार्थी सम्म पुग्न सकिन्छ । यो समुहका विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री संलग्न गरीएका मोबाइल एपहरु निर्माण गरेर अनलाइन शिक्षा प्रदान गर्ने सन्दर्भमा एक कदम अघि बढ्न सकिन्छ । नयाँ विधी र आधुनिक प्रविधीको प्रयोगका कारणले पनि विद्यार्थीहरुको रुची यस तर्फ निश्चित रुपमा बढ्दै जाने देखिन्छ ।
कुनै पनि बाहानामा यदि शिक्षालाई प्रविधिसँग जोड्न सकिएन भने विश्व बजारलाई सीपविहीन मानव संसाधन उत्पादनको कारखाना बन्नु सिवाय अरु कुनै पनि उपलब्धि हुने छैन ।
समूह(ख) मा पर्ने विद्यार्थी शिक्षक पनि यो खाले शिक्षा प्रणालीबाट अछुतो रहनु पर्दैन । विद्यमान अवस्थामा पनि रेडियो तथा टेलिभिजनको माध्यमबाट विशेष पाठ्य योजनाको निर्माण गरी दुर शिक्षाको रुपमाकक्षा संचालन गर्न पहल गर्ने हो भने त्यत्ति ठुलो कठिनाइ आउँदैन । यदि पहल राज्य तहबाट कार्यक्रमिक रुपमा हुन सक्ने हो भने यसको प्रभावकारीता अभिवृद्धिमा कुनै सन्देह गर्नुपर्ने छैन । त्यत्तिमात्रै होइन, यो समूहलाइ उत्प्रेरीत गर्ने र राज्य तहबाट स्रोत साधनको उपलब्धताका सम्बन्धमा ठोस पहल गर्ने हो भने समूह (क)मा रुपान्तरण गरी अनलाइन शिक्षालाई अघि बढाउन सकिन्छ ।
समूह (ग) एउटा चुनौति अवश्य हो तर असम्भव भने होइन । राज्यको ठूलो धनराशी शिक्षा क्षेत्रको विकासका नाममा खर्च भैराखेका सन्दर्भमा विभिन्न शीर्षकमा स्थानीय तहबाट विनियोजित बजेटमा मात्रै भए पनि यो समूहको पहिचान गरी समेट्ने हो भने यो समुह पनि दुरशिक्षाको विकल्पबाट अछुतो रहनुपर्ने छैन । स्थानीय कुनै एक रेडियो स्टेशनबाट कक्षा संचालनको व्यवस्था गरी एक विद्यार्थी एक रेडियो सेट कार्यक्रम लागु गरे मात्रै पनि यो सपना साकार पार्न सक्छ ।
सहज परिस्थितिका लागि अतिरिक्त कक्षाको रुपमा र अहिलेकै जस्ता असहज परिस्थितिमा मुख्य कक्षाको रुपमा यस्तो कक्षा संचालन गर्न सकिन्छ । इन्टरनेटको प्रयोगबाट अनलाइन कक्षाको सम्भावना क्षिण रहेका स्थानहरुका लागी विज्ञ सम्मिलित टोलीद्वारा निर्मित पाठ्यक्रम र पाठयोजना अनुरुप रेडियो कक्षाको संचालन पनि अधिक प्रभावकारी हुन सक्छ ।
यसरी आफूसँग भएका स्रोत र साधनको अधिकतम उपयोग गरी सम्भावित विकासका अवसर हासिल गर्दै अगाडि बढ्ने विधीको विकास गर्नु शिक्षा क्षेत्रको आजको मात्र नभई आगामी दिनको पनि आवश्यकता हो । बद्लिँदो विश्व परिवेश र विकसित प्रतिस्पर्धात्मक युगका लागि मानव संशाधन विकासमा हामीले अब पनि उहि पुरानो शिक्षण विधि, संकुचित विषयवस्तुको पुच्छर छोपेर बैतर्नी तर्ने सपना देख्यौँ भने त्यो निरर्थक हुनेछ । कोरोना माहामारीले स्वास्थ्य क्षेत्रमा मात्र होइन, हाम्रा आम जीवनशैली र अभ्यासका विषयमा पनि ठूलो संकटको जनाऊ घण्टी बजाएको छ ।
यो संकट सूचकले अर्को माहामारी ल्याउनुभन्दा अगाडि यो संकट मोचनका लागि प्रविधिको प्रयोग गरी सबै आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने बेला आएको छ ।
सिइओ अवाकस मेन्टल म्याथ









