अहिले मलाई प्रेम परियारले गाएको नाइ नभन्नु ल २ को एउटा गीत याद आइरहेको छ :
मर्ने कसैलाई रहर हुदैन तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन
हो, मृत्यु निश्चित छ तर हरेक मानिसलाई सबैभन्दा बढी डर मर्नबाट लाग्दो रहेछ । अहिले संसार कोरोना नामको भाइरस बाट आक्रान्त भएको बेला छ । यसको असर दुबै किसिमको छ । यसलाई कसैले भाग्य बनाएका छन् । त कोहीले दुर्भाग्य ।
जीवन भनेकै उतारचढावको त हो । यो सधै एकैनास कहिले थिएन, छैन र हुँदैन पनि । अब यो समयलाई के बनाउने तपाईकै हातमा छ, तपाईकै सोचमा निर्भर छ । अहिले आफूलाई मानसिक रुपले यस रोगसंग लड्ने क्षमताको विकास गर्न एक हातमा आत्मा र अर्को हातमा बल लिएर दुबै हात जोड्दै आत्मबल बलियो गराउन सक्छौं । यो समय अस्पताल धाउन अनुकुल छैन । हामीले आत्मबल बलियो बनाएर घरमै बस्यौं भने हाम्रो भान्साकै हर्रो, बर्रो, ज्वानो, बेसार, मरहठी, लसुन, अदुवा, कागती जस्ता चीजले हाम्रो रोग प्रतिरोध क्षमता बढाई सामान्य रोग निको पार्न सक्छन् । यो समयले सहयोगी भावनाको विकास पनि गरेको छ ।
२०७२ को भूकम्पमा जस्तै पहाडीलाई मधेसको सहयोग थियो त्यसैगरी अहिले दुई समुदायका हुनेखाने र हुँदा खानेबीच सहयोग बढेको छ । हुने खानेले हुँदाखाने समूहलाई कमसेकम पेटको भोक मार्न सक्ने खानाको व्यवस्था गरेको देखिएको छ । यसै बीच कतिपय नेपाली जो नेपालबाहिर बसेर परिवार पाल्न कमाई गर्दै आएका थिए, उनीहरु त्यहीं बसौं वा नेपाल फर्कौं दोसाँधको स्थितिमा पुगेका छन् । यो लेखबाट म सबैमा अनुरोध गर्दछु, कोरोना भाइरसका डरले होइन, बरु यो प्रतिकूल समय र परिस्थितिलाई हेर्दैं कृपया तपाईहरु जहाँ हुनुहुन्छ, त्यहीं धैर्यधारण गरेर बस्नुस् ।
कुनै पनि चीज अटल हुदैन । एक दिन यो कोरोना भाइरसको पनि उपचार भईछाड्नेछ । जन्मदा हाँस्ने खुसी हुनु र मर्दा दुख लाग्नु स्वभाविक हो । तर यस जन्म र मृत्युको बीचको समयलाई व्यस्थापन गर्ने कलालाई नै जीवन जिउने कला भनिन्छ । यस कलाको प्रयोग गर्नुहोस् । घरमै बसेर गर्न सकिने कतिपय काम बाँकी होलान्, तिनीहरुलाई पूरा गर्नुहोस् । बाहिर मुलुकका महिला घरबाटै अनलाइन काम गरेर आयआर्जन गर्छन् । नेपालमा पनि इन्रनेटको सुबिधा राम्रो छ । यो सुबिधा सदुपयोग गर्न जान्नु पर्छ ।
हामी केवल केही अडियो तथा भिडियो कल गर्न, फेसबुक, युट्युबका भिडियो हेर्नमात्र समय खेर फालिरहेका छौं । हामीले बुझ्न जरुरी छ कि आकास असिमित छ । आफ्नो टाउको माथिको नीलो भागमात्र आकास भन्ने ठानेका हामी क्षितीजसम्म दृष्टि लगाउन सकौं । आफ्नो दायरा बढाउन सकौं ।
यस कठीन परिस्थितीमा आर्थिक अभाव सुरु हुन थालिसकेको होला । जोसँग जम्मा पुँजी छ, उहाँको घरमा मिठामिठा परिकार बनेका फोटा फेसबुकमा देखिन्छ । कति बेला लाग्छ कुनै कुनै परिवारबीच ठूलो प्रतिस्पर्धा चलेको छ । कसकहाँ आज के नयाँ र आकर्षक खाना बन्नेछ । अलिकति यसमा पनि विचार गरौ कि, तपाईको घरनजीकै पक्का पनि कोही न कोही दुई, चार परिवार यस्ता छन् कि, उनीहरुलाई दुबै छाक खान पुगेको छैन ।
जन्म र मृत्युको बीचको समयलाई व्यस्थापन गर्ने कलालाई नै जीवन जिउने कला भनिन्छ । घरमै बसेर गर्न सकिने कतिपय काम बाँकी होलान्, तिनीहरुलाई पूरा गर्नुहोस् ।
त्यस्ता परिवार खोजी तपाईको घरमा बनेको खानाको केही अंश उनीहरु लागि पठाउनुस् र खुवाउनुस् । यस कामबाट तपाईंलाई आत्मसन्तुष्टिका साथ उनीहरुको आशीर्वादा पनि मिल्नेछ । लकडाउनमा तपाईले गरेका काम तपाईको जिन्दगीमा सबैभन्दा महत्वपूर्ण कसरी हुन सक्लान्, यसबारेमा सोच्नुस् । मैले पनि आफ्ना परिवारसंग समय पर्याप्त बिताउन सकें । मैले पूरा परिवारको मनस्थिती बुझ्न सकें । मेरा चाहना उहाँहरुसंग साट्ने तथा उहाँहरुका चाहना बुझ्ने मौका पाएँ । जसले हाम्रो बीचमा आत्मियता बढ्यो ।
सुरुवात राम्रो भए, अन्त पनि अवश्य राम्रो हुनेछ । यो लकडाउनले अर्को पाठ सिकाएको छ । नेपालकै नदीहरु सफा भएका छन् । फोहोर भएका सडकहरु सफा भएका छन् । सडक छेउका बोट बिरुवा हरिया तथा सफा भएका छन् । मानिसले यस वातावरणीय शुद्धतालाई सदाका लागि यथास्थितिमा राख्न जरुरी छ । हामीले चाहेमा सफा हुँदो पनि रहेछ भन्ने शिक्षासमेत पायौं । मानिसले यो पनि बुझ्न जरुरी छ कि, हामी कति आवश्यकताले र कति अनावश्यक हिडडुल गर्ने गरेका रहेछौं । हामीले इन्धनको बचत गर्यौं भने यसको मूल्य घट्दो रहेछ । अब त्यसलाई पनि सिमित गराउन जरुरी छ । हाम्रा खर्चहरु कति आवश्यक रहेका रहेछन् र कति अनावश्यक रहेछन् भन्नें बुझ्न सक्यौं र खर्च गर्न र जोगाउन दुबै सजिलै सकिंदो रहेछ भनेर सिक्न सक्यौं । बचत गर्न जरुरी रहेछ भन्ने पनि देखियो ।
हामी अहिले नाईट क्लब नगएर पनि रमाइलो संसारमा बाच्न सकेका छौं भने त्यो खर्च र समय परिवारलाई दिन सकिने रहेछ । कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् । अब यो सधै गर्ने हो भने कुनै कारणले विद्यालय जान नसकेका विद्यार्थीले घरमै बसेर कक्षा लिन सक्दा रहेछन् । यो अनलाइन कक्षालाई मान्यता दिएर विद्यार्थीको हारिरी मान्न सकिँदो रहेछ ।
यो कोरोना भाइरसले जति हामीलाई हानी, नोक्सानी पुराउला त्योभन्दा बढी हामी यसका बारेमा सोचेर आफैलाई नोक्सानी पुर्याएका छौं ।
यो महामारीले सिकाएको अर्को पाठ सानोमा सुन्ने गरेका थियौं कि मरेपछि मलामी पनि नपाउलास् । किन भनिएको रहेछ बल्ल बुझिदैछ । यदि हाम्रो कर्म यस्तै भाइरस जस्तो दुख दिने भयो भने मलामी पनि नपाईदो रहेछ । अहिले कोरोनाले मरेका मानिसलाई मलामीले नछोएको होइन, त्यो भाइरसलाई हो मनिसले नछोएको । त्यसैले हामीले खराब भाइरस लाग्न दिनु नहुने रहेछ । चाहे शरीरमा वा मस्तिष्कमा । यो कोरोना भाइरसले जति हामीलाई हानी, नोक्सानी पुराउला त्योभन्दा बढी हामी यसका बारेमा सोचेर आफैलाई नोक्सानी पुर्याएका छौं । यसबाट त्यति धेरै पनि नडराऔं ।
जे होओस्, सरकारले लगाएको नियम पालना सबैले गरौं । यस रोगलाई जित्न घरमै बस्नुपर्ने हुन्छ । के थाहा कहाँबाट कोसंग यो भाइरस तपाईसम्म आइपुग्छ ? संसारभरी मानिस मरिरहँदा तपाई रमाउन सजिलै हुन्छ तर भगवान नगरोस् हाम्रा नजीककालाई कुनै आपत आओस । आफ्ना मानिस गुमाउनुको पीडा त मलाईभन्दा बढी कसलाई थाहा होला र ? त्यसैले अरुको दुखमा पनि दुखी हुन सकौं । आफ्नो शरीरको रोग प्रतिरोध क्षमता बढाऔं । सफा रहौं । आफू बाचौं र अरुलाई पनि बाच्न दिऔं । आफूलाई कसरी व्यवस्थित गर्ने तपाईकै हातमा छ । सबैलाई सहयोग गरी समय सदुपयोग गरौं ।









