बागलुङ भगवती मन्दिरमा लाग्ने प्रसिद्ध चैते दसैँ मेला कोरोना संक्रमण फैलिने डरले स्थगित भएको छ ।
सरकारले लकडाउन गरेपछि प्रत्येक रामनवमीमा लाग्ने गरेको मेला स्थगित गर्नुपरेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । यसअघि अहिलेसम्म मेला स्थगित भएको इतिहास छैन ।
४ सय ८५ वर्षपछि बागलुडकै इतिहासमा पहिलो पटक परम्परागत मेला स्थगित भएको छ । पहिला मन्दिरको नाम आजभोलि जस्तो कालिका भगवतीभन्दा पनि जनबोलीमा माइथान भन्ने चलन थियो । प्रायले माइथान भन्थे ।
यसपटक गुठीले देवीभागवत पाठसहित १० दिन मेला सञ्चालन गरी रथ बागलुङ बजार घुमाउने कार्यक्रम तय गरेको थियो । अध्यक्ष खड्काको नेतृत्वमा भौतिक सुधारका धेरै काम भएको मन्दिरमा टाढाटाढाबाट धेरै भक्तजन आउने गरेका थिए ।
परम्परागत मेलालाई गुठीले विसं २०६९ औपचारिक रूपमा दिन थालेको हो । गुठीले सुरुमा ५ दिन हुँदै पछि १० दिनको व्यवस्थित मेला मन्दिरको बाल–उद्यानमा आयोजना गर्दै आएको थियो । त्यसअघि बागलुङ उद्योग वाणिज्य संघले २०४९ सालदेखि बागलुङ बजारको धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा मेला गर्दै आएको थियो ।
वाणिज्य संघ अध्यक्ष विराटकुमार श्रेष्ठ, कालिका गाउँविकास समिति अध्यक्ष कृष्णराज अधिकारी, बाल संगठन बागलुङका अध्यक्ष हरिप्रसाद श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी बागलुङका तत्कालीन महामन्त्री विश्वनाथ रेग्मी मिलेर परम्परागत मेलालाई व्यापार व्यवसायसँग जोडी आधुनिक रूप दिएका थिए ।
सबैभन्दा पहिला पर्वतका राजा प्रतापी नारायण मल्लले विसं १५९१ मा रानी विश्रवादेवी सेनले विवाहसँगै ल्याएको कालिका भगवतीको मूर्ति बागलुङ चौरको बाङ्गेचौरमा स्थापना गरेका थिए । पर्वत राज्यअन्तर्गत रहेको यस भूभागका जनताको राज्यसँग राम्रो सम्बन्ध बनाउन परम्परागत मेलाले सहयोग पुगेको थियो ।
पाल्पाकी राजकुमारी विश्रवादेवीले बाल्यकालदेखि पूजा गरिरहेको कालिकादेवीको मूर्ति आफूसँगै ल्याएको किंवदन्ती छ । उक्त मूर्ति सुरुमा पाल्पा दरबारबाट कसैले उठाउन नसकेपछि दरबारमा अचानक प्रकट भएको मानिसले उठाएको थियो । पाल्पाबाट पर्वतमा विवाहको जन्ती आउँदा कालिका भगवतीको मन्दिर रहेको ठाउँबाट उक्त मूर्ति कसैले पनि उठाउन नसकेको कथन छ । पाल्पाबाट मगरहरूले डोला र चक्र पुँवरले खड्ग बोकेर ल्याएका थिए ।
पुँवर कालिका भगवती मन्दिरको पहिलो पुजारी भएको गुठीका अध्यक्ष खड्काले बताए । पुँवरहरू पाल्पा दरबारको सेनामा जागिर गर्ने क्षेत्रीहरू थिए । कालिका भगवती मूर्ति उठाउन नसकेपछि राजा प्रतापी नारायण मल्लले कुँवरलाई पुजारीको जिम्मेवारी दिएर त्यस ठाउँमा मन्दिर स्थापना गरेको थिए ।
राजाले मन्दिरमा नित्य पूजा चलोस् भनेर बागलुङ बजारको गुठी टोलसम्मको धेरै जग्गा मन्दिरको नाम राखेका थिए । तिनै चक्र पुँवरको थर पछि खड्का भएको हो । डोला बोकेर ल्याएका मगरहरूलाई पछि लम गाउँमा सारिएको थियो । मन्दिरमा चैत्रशुक्ल अष्टमी र नवमीमा ठूलो मेला लाग्छ । अष्टमीको राति १२ बजेदेखि बिहान ५ बजेसम्म कालरात्रिको पूजा, तपस्या र ध्यान गरेर वर माग्ने चलन थियो । निःसन्तानहरू कालरात्रिमा सुटुक्क घरबाट आएर रातभर जाग्राम बसी सन्तानप्राप्तिको कामना गर्थे ।
अहिले पनि मानिसहरू टाढाटाढाबाट कालरात्रिमा पूजा गर्न आउने क्रम नरोकिएको अध्यक्ष खड्काले जानकारी दिए । आजकल राति १० बजेदेखि नै पूजा र तपस्या गर्ने चलन छ । परम्परागत मेला धेरै दिनसम्म चल्थ्यो । बागलुङ बजारको किनारा टोलमा पन्ध्र–बिस दिनसम्म पनि मेलाको चहलपहल रहन्थ्यो ।
भकारीले बारेका पसलहरूमा व्यापारीहरू धेरैथरी सामान राखेर मेलामा आएकाहरूलाई बेच्ने गर्थे । स्थानीय जग्गाधनी राजभण्डारी साहूहरूले मेलाकै लागि गाउँगाउँमा भकारी बनाउन लगाएर झिकाउँथे । बाङ्गेचौरमा मेलाका अवसरमा घोडा दौड र थलो फाल्ने, विजेतालाई अबिर लगाएर काँधमा बोकी बागलुङ बजारमा डुलाउने चलन रहेको समाजसेवी देवबहादुर श्रेष्ठ बताउँछन् ।
मेलामा म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, रुकुम, रोल्पा, पाल्पा, बुटवलदेखि पूजा गर्न, सामान बेच्न, प्रतियोगितामा भाग लिन मानिसहरू आउने गर्थे । समूहसमूहमा झाम्रे, यानिमाया, सालैजोलगायत गीत गाउने चलन थियो । गीत गाउने तरुनीहरूले सोलेमा सेलरोटी, अचार ल्याउँथे । तरुणहरूले जाने बेलामा तरुनीको हातमा चुरा, पोते र टीका दिएर पठाउने चलन थियो ।
दोहोरी गीतमा जो हाथ्र्यो उसले विजेतासँग विवाह गर्नुपर्ने नियम थियो । कुन दिन तरुनी भेट्ने र गीत गाउने भन्ने कुरा एक वर्षअगाडिको मेलामै सल्लाह हुन्थ्यो ।
त्यति बेलाको कृषियुगमा देवीका भक्तहरूले मन्दिरमा पूजाअर्चना गर्नुका साथै आफूलाई चाहिने सामान किनेर लैजाने चलन थियो । त्यस बेला बाङ्गेचौरमा रुकुम, रोल्पा, गुल्मी, पाल्पा र बुटवलदेखि राडी, पाखी, डोको, डालो, काम्लो, आसी, खुकुरी, हँसिया, घाजी, मादल, डम्फु, शिलाजित, मुलाको धजरा, सिरम्ला, मकै, खसी, बोका, राँगो, ठेकी, हलो, झागा, मादल, डम्फुलगायत बेच्न राखिन्थ्यो ।




